-भक्तराज रसाइली 
काठमाण्डौ । लगानीकर्ताहरुको हकहितका लागि खोलिएको र छोटो समयमै  चर्चित ‘सेयर लगानीकर्ता दबाब समूह’ पनि फुटेको छ। 

समूहका अध्यक्ष हरि ढकाल भने समूह फुटेको बारे आफूलाई थाहा नभएको दाबी गर्छन् । 

ढकालले बिजशालासँग भने–‘मलाई यस विषयमा जानकारी छैन, तर दीपेन्द्रजी(दीपेन्द्र अग्रवाल)ले चाहिँ हात झिकेको जानकारी मकहाँ आएको सत्य हो।’ 

यता, पूँजीबजार विकास अभियानमा संयोजक रहेका तिलक कोइरालाले संस्था गठन नै नभएको र दबाब समूह भन्ने संस्था नै नभएको तर्क राखे। लगानीकर्ताहरुको एकै भावना भर्इ दवाब दिने हेतूले विगतमा एकता भएको उल्लेख गर्दै उनले भने–‘समूहका नेताहरुको मन नमिलेपछि सबै लाखापाखा लागे। संस्था ऐन वा कम्पनी रजिस्ट्रारको कार्यालयमा दवाब दिनैका लागि दवाब समूह दर्ता हुँदैन । कसैले दवाब समूहको ट्रेडमार्क बोक्छ भने अस्तित्व नै छैन।’

आवश्यकताले तत्कालीन अवस्थामा जन्म भएको र अहिले फूटेको मान्न नसकिने कोइरालाको तर्क छ । 

पूँजीबजार विकास अभियान पूँजीबजारको विकास र विस्तारका लागि स्वतस्फूर्त जमात भएको संयोजक कोइरालाको भनाइ छ।  

अध्यक्ष हरि ढकाल नेतृत्वको दवाब समूहका वरिष्ठ सल्लाहकार तिलक कोइराला, वरिष्ठ उपाध्यक्ष दीपेन्द्र अग्रवाल, महासचिव नयन बास्तोला हाल पूँजीबजार विकास अभियानमा सक्रिय छन्, अर्थात उनीहरुले दवाब समूह छाडेका छन् । 

पूँजीबजारमा व्याप्त विकृति अन्त्य हुनुपर्ने भन्दै अभियानको नाममा गत भदौ १३ गते शुक्रबार दवाब समूहकै फ्रन्टलाइनमा बसेर काम गर्नेहरु संगिठत भएका हुन् । 

यो अभियानमा तिलक कोइराला संयोजक र नयन बास्तोला उपसंयोजक छन् भने दीपेन्द्र अग्रवाल, नवराज उप्रेती, पुरुषोत्तम सापकोटा, कुमार सिटौला लगायतका सेयर लगानीकर्ताहरु अभियानमा संलग्न छन् । 

अभियानले हिजो(भदौ २५ गते बुधबार) बैठक बसी अर्थमन्त्रीको बर्खास्ती, भदौ मसान्तभित्र अर्थमन्त्रालयले दिएको ५८ बुँदे निर्देशन कार्यान्वयनको माग राखेको छ। 

यसैगरी अभियानले सरकारलाई दवाब दिन आगामी महिनाको  असोज २ गते बिहीबार नेप्सेस्थित कार्यालयमा १० बजे व्यापक भेला गर्ने  कार्यक्रम समेत तय भएको जनाएको छ।

यसअघि दवाब समूह झै गठन भएका सेयर लगानीकर्ताका विभिन्न संगठन समेत छोटो समयमै फूटेका थिए । 

सेयर लगानीकर्ताहरुको नाममा खुलेका यस्ता संगठनको नेतृत्वले नियामक वा अर्थमन्त्रालयसँग साँठगाँठ गर्ने र आफ्नो दूनो सोझ्याउने गरेका आरोप लामो समयदेखि लाग्दै आएको छ । पुराना संगठनका नेताहरुले बलियोसँग खुट्टा नटेकेको भन्दै युवा जोशसहित गठन भएको दवाब समूह पनि अन्ततः फूटेको हो । 

स्मरणरहोस्, दवाब समूहकै ब्यानरमा हरि ढकाल र तिलक कोइरालाले पूँजीबजारको इतिहासमै पहिलोपटक बजार सुधारका अजेण्डा आमरण अनसन बसेका थिए । आमरण अनसनमा मिलेर बसेका यिनै जोडी अन्ततः त्यसको वर्ष दिनमै फूटेर आ आफ्नो संगठन बनाउनतिर लागेका हुन् ।