काठमाण्डौ । यतिबेला जताततै ‘फेस्टिभ मूड’ छ । बजारका सानादेखि ठूला पसल तथा आधुनिक सपिङमलमा समेत दशैंको अवसर पारी बम्पर अफर र सेल लागेको छ । बजारमा लागेका यस्ता अफर र सेलमै तपाईले भएभरको पैसा खर्च गर्ने सोंच बनाउनुभएको छ भने पख्नुहोस्, तपाईको आर्थिक भविष्य बनाउने बम्पर सेल भने सेयर बजारमा लागेको छ । यो दुर्लभ अवसरलाई पोल्टामा पार्दै दशैं खर्च थोरै घटाएरै भए पनि यतिबेला सेयर किने यसले तपाईको भविष्यमा राम्रो काम गर्न सक्छ । 

अहिले नेपालको सेयर बजार घटेर न्यून विन्दूमा पुगेको छ । बजारमा आएको लगातारको गिरावटले बलिया र आकर्षक कम्पनीको सेयर मूल्य समेत कौडीको भाउ समान पुगेको छ । 

सेयर बजारमा उतारचढाव हुनु स्वभाविक प्रक्रिया हो । कुनै बेला बढेर १८८१ को सर्वाधिक उच्च विन्दूमा पुगेको सेयर बजार परिसूचक अहिले घटेर ११२९ को विन्दूमा छ । परिसूचक घटेर यो न्यून विन्दूमा पुगेकै बेला धेरै कम्पनीको सेयर अपत्यारिलो सस्तो मूल्यमा बजारमा फालाफाल छ । 

बजारमा लगातार गिरावट आउँदा धेरै लगानीकर्ताले करोडौं डूबाएका छन् । आर्थिक रुपमा टाट पल्टिएर कतिपयको अवस्था भयावह बनेको छ । तर, सेयर बजार नै यस्तो ठाउँ जहाँ कसैले गुमाइरहँदा कसैका लागि भने कमाउने अवसर पनि बन्ने गर्छ । अहिलेको बजार पनि यस्तै अवसर हो, जहाँ धेरैले करोडौं गुमाइरहेका छन् भने बजारमा प्रवेश गरी लङटर्ममा राम्रो रिटर्न लिनेहरुका लागि यो भन्दा राम्रो अवसर फेरि नआउन सक्छ । 

अहिलेको बजारमा जलविद्युत क्षेत्रका धेरै कम्पनीको सेयर मूल्य आइपीओ(प्रतिकित्ता रु. १००) भन्दा कममा सीमित बन्न पुगेको छ । 

बिहीबारसम्मको कारोबारलाई आधार मानेर हेर्दा १८ जलविद्युत कम्पनीको सेयर मूल्य आइपीओभन्दा कममा झरिसकेको छ । सबैभन्दा कम नेशनल हाइड्रो र युनियन हाइड्रोको मूल्य रहेको छ । दोश्रो बजारमा यी दुई कम्पनीको सेयर प्रतिकित्ता ५२ रुपैयाँमै फालाफाल छ । यो भनेको आइपीओ मूल्यभन्दा झण्डै आधा मूल्य कम हो । 

आँखुखोला, दिव्यश्वरी, जोशी हाइड्रोपावरको सेयरको मूल्य दोश्रो बजारमा ६० रुपैयाँभन्दा कममा सीमित बन्न पुगेको छ । 

आइपीओभन्दा कम मूल्यमा कारोबार भइरहेका अन्य जलविद्युत कम्पनी र तिनको अन्तिम बिक्री मूल्य टेबलबाट हेर्न सकिन्छ । 

दशैंको बम्पर सेल झै बम्पर अवसर विकास बैंक र केही बित्त कम्पनीहरुको सेयरमा समेत देखिएको छ । बेस्ट फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको दोश्रो बजार मूल्य पनि आइपीओ भन्दा तल झरेको छ । यी तीन कम्पनीको मूल्य क्रमशः रु.८९, ९३ र ९८ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

कर्पाेरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्सको मूल्य घटेर आइपीओ नजिक छ । यी कम्पनीको मूल्य प्रतिकित्ता रु. ११० भन्दा कममा सीमित भएको छ । 

अरु त अरु कामना सेवा विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक तथा देवः विकास बैंकजस्ता राष्ट्रिय स्तरका विकास बैंकको मूल्य समेत निकै कम रहेको छ । कामना सेवाको अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. १४०, सांग्रीलाको  रु. १३८ र देवःको  रु . १२९ मा सीमित बनेको छ । 

सेयर बजारमा निकै ठूलो हिस्सा ओगटेर बसेको वाणिज्य बैंक समूहमा पनि बम्पर सेलकै झलक दिने अवसर देखिएको छ । नेप्सेमा सूचिकृत २७ वाणिज्य बैंकमध्ये ६ वटाको दोश्रो बजार अन्तिम कारोबार मूल्य २०० रुपैयाँ भन्दा कम कामय भएको छ ।

बजारमा सबैभन्दा कममा सिभिल बैंकको सेयर फालाफाल छ । प्रतिकित्ता १४१ रुपैयाँमै यो बैंकको सेयर किन्ने अवसर छ । 

सेञ्चुरी बैंकको दोश्रो बजार अन्तिम कारोबार मूल्य रु. १५३, कुमारी बैंकको रु. १७६, सिटिजन्स बैंकको १९२, मेगा बैंकको १९२ र एनसीसी बैंकको १९४ रुपैयाँ रहेको छ । 

दोश्रो बजारको विषयमा राम्रो जानकार नहुनेहरुका लागि समेत बजारमा बम्पर सेलमा सहभागी भई सस्तोमै लगानीको विकल्पमा जानसक्ने अफर उपलब्ध छ । साधारण र दोश्रो बजारमा कम जानकार लगानीकर्ताहरुका लागि म्युचुअल फण्डहरुमा समेत लगानीको स्वर्णिम अवसर देखिएको हो । 

म्युचुअल फण्डहरुले आइपीओ निश्कासन गर्दा प्रति इकाई मूल्य रु. १० कायम गर्छन । अर्थात लगानीकर्ताले यस्ता स्किमको एउटा इकाई किन्न रु. १० खर्च गर्नुपर्छ । तर, अहिले बजारमा सूचिकृत म्युचुअल फण्डमध्ये ७ वटाको नेट एसेट भ्यालू रु. १० भन्दा कम छ । 

सबैभन्दा सस्तोमा नवील इक्वीटी फण्डका इकाई खरीद गर्ने अवसर छ । यो स्किमको प्रति इकाई मूल्य घटेर ७.५३ रुपैयाँमा सीमित बन्न पुगेको छ । 
अन्य ६ स्किमको न्याभ समेत १० रुपैयाँ भन्दा कम कायम भएको छ । अरुको न्याभ टेबलबाट हेर्न सक्नुहुन्छ । 

यीबाहेक जीवन बिमा, निर्जीवन बिमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, होटल तथा अन्य समूहका कतिपय कम्पनीको सेयर मूल्य समेत घटेर आकर्षक अफरको सिर्जना भएको छ । 

अधिकांश कम्पनीको मूल्य घटेर आकर्षक दररेट कायम भएको अहिलेको अवस्था नै बजारमा प्रवेश गर्नेहरुका लागि स्वर्णिम अवसर भएको विज्ञ तथा बजारसँग सम्बन्धित जानकारहरुले बताइरहेका छन् । यस्तो बेलामा गरिएको लगानीले भविष्यमा राम्रो रिटर्न दिनसक्ने धेरैको विश्लेषण छ ।