काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा प्राथमिक बजारको अवस्था मिश्रित देखिएको छ । 

यो अवधिमा ऋणपत्रको बजार तीव्र गतिमा बिस्तार भएको छ भने प्राथमिक सेयर निश्कासनको दरमा भने गत वर्षको तुलनामा पहिरो गएको छ । 

धितोपत्र बोर्डका अनुसार समीक्षा अवधिमा बोर्डबाट १६ संगठित संस्थाले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निश्कासन अनुमति प्राप्त गरेका छन् । जुन अघिल्लो आबको यही अवधिको तुलनामा २१.२ प्रतिशतको वृद्धि हो । 

समीक्षा अवधिमा सार्वजनिक निश्कासन अनुमतिप्राप्त रकममध्ये करिब ८३ प्रतिशत ऋणपत्र निश्कासनले ओगटेको देखिएको छ । नेपाल राष्टबैंकले क वर्गका बैंकलाई चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र निश्कासन गर्नुपर्ने व्यवस्था गरेसँगै प्राथमिक बजारमा ऋणपत्र निश्कासनको लहर चलेको हो । 

यो अवधिमा प्रारम्भिक सार्वजनिक निश्कासन(आइपीओ)मा भने भारी गिरावट आएको बोर्डले जनाएको छ । समीक्षा अवधिमा एउटा जलविद्युत कम्पनीले करिब ३३ करोड ५१ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन अनुमतिप्राप्त गरेकोमा सर्वसाधारणमा केवल ७ कराड रुपैयाँ मात्र बिक्री भएको थियो । अघिल्लो आवको सोही अवधिमा आइपीओ निश्कासनतर्फ ९ जलविद्युत कम्पनी र २ लघुवित्त गरी कुल ११ संगठित संस्थाले ३ अर्ब ६० करोड रुपैयाँ बराबरको निश्कासन अनुमति प्राप्त गरेका र सबै धितोपत्र बिक्री भएको थियो । 

समीक्षा अवधिमा हकप्रद निश्कासनमा पनि बढोत्तरी भएको छ । बिमा तथा लघुवित्त कम्पनीहरुमा हकप्रद निश्कासनको लहर आएको देखिएको छ । यो अवधिमा ७ सूचिकृत कम्पनीले २.२ अर्ब रुपैयाँको हकप्रद निश्कासनका लागि अनुमति पाएका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशत हाराहारीको बढोत्तरी हो । 

यो अवधिमा कम्पनीहरुले दिने बोनस सेयर समेत बढेको छ । ३७ संगठित संस्थाले ११ अर्ब ६० करोड रुपैयाँ बराबरको बोनस सेयर दार्ता गरेका छन्, जुन अघिल्लो आवको सोही अवधिको ८ अर्ब ६० करोड बोनस सेयर दर्ताको तुलनामा ३४.९ प्रतिशतको वृद्धि हो । 

यस्तो छ दोश्रो बजारको अवस्था
समीक्षा अवधिमा दोश्रो बजारमा सूचिकृत कम्पनीको संख्या बढेको छ । यो अवधिमा सूचिकृत कम्पनीको संख्या २१२ पुगेको छ भने सूचिकृत धितोपत्र आपूर्तिमा पनि करिब २१ प्रतिशतले वृद्धि भएको छ । 

तर, समीक्षा अवधिमा दोश्रो बजारमा धितोपत्र कारोबारको आकार भने गत वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ । समीक्षा अवधिमा ३२.५१ अर्ब बराबरको धितोपत्रको कारोबार भएको हो । जुन अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशत कम हो । यो अवधिमा १०० दिन कारोबार भएको र दैनिक औसत कारोबार रकम ३२.५ करोड रहन गएको बोर्डले जनाएको छ । 

यो अवधिमा धिततोपत्र बजारको कुल बजार पूँजीकरणमा भने वृद्धि देखिएको छ । बजार पूँजीकरण बढेर १६१० अर्ब पुगेको छ । यस्तै, फ्लोट बजार पूँजीकरण पनि बढेर ५३४ अर्ब पुगेको छ । 

धितोपत्र बजारमा डिम्याट खाताको संख्या पनि वृद्धि हुँदै गएको देखिएको छ । योे अवधिमा डिम्याट खाताको संख्या १ लाख ७ हजार ६०५ पुगिसकेको छ । 

अरु के-के भयो ?
बोर्डले पत्रकार सम्मेलनमा समीक्षा अवधिमा अरु के के भए भन्ने विषय समेत सार्वजनिक गरेको छ । जसमध्ये नेपाल सरकारले पूँजीबजारमा देखिएका समस्या समाधानका लागि गठन गरेको समितिले दिएको ५८ बुँदे सुझावहरुमध्ये बोर्डसँग सम्बन्धित करिब ६८ प्रतिशत सुझावको कार्यान्वयन भइसकेको बताइएको छ । अन्य सुझावहरु पनि सम्पन्न हुने क्रममा रहेका बोर्डको दाबी छ । 

यो अवधिमा ऋणपत्रको कारोबार विद्युतीय प्रणालीमार्फत सुरु भएको, विभिन्न नियमावलीहरु संसोधन भएका वा हुने क्रममा रहेका, पूँजीगत लाभकर गणनालाई थप सरल बनाइएको, २१ धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार गर्न अनुमति प्राप्त गरेका र ३ वटामार्फत मार्जिन कारोबार सुरु भइसकेको, खुल्लामुखी सामूहिक लगानीकोष संचालनमा आएको, कमोडिटी बजार संचालन गर्न पूर्व स्वीकृतिका लागि मापदण्ड तयार गरिएको र प्राप्त ६वटा निवेदनहरुको अध्ययन भइरहेको बताइएको छ ।