काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले धितोपत्र दलालहरुको कारोबारमा भ्याट लगाउने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । उसले लामो समय बजार बन्द हुँदा अर्थतन्त्र नै प्रभावित हुने भन्दै सम्बद्ध अन्य पक्षलाई तुरुन्त बजार खुलाउन समेत आग्रह गरेको छ ।  

चेम्बरले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै भ्याट लगाउने आन्तरिक राजश्व विभागको पत्रपछि ठप्प बनेको सेयर बजार बन्दप्रति आपत्ति जनाउँदै भनेको छ–‘शेयर बजार बन्द प्रति नेपाल चेम्बर अफ कमर्सको ध्यानाकषण भएको छ । यस क्षेत्रलाई वितिय क्षेत्र अन्तर्गत परिभाषित गरिएकाले यसमा मूल्य अभिवृद्धि कर लगाउन हुंदैन भन्ने हाम्रो धारणा हो ।’

अन्तर्राष्ट्रिय प्रचलन अनुसार धितोपत्र दलालबाट सम्पन्न हुने सेवाहरु वितिय कारोबार अन्तर्गत नै परिभाषित हुने भएको र यसमा मूल्य अभिवृद्धि कर जस्तो करहरु नलाग्ने गरेको उदाहरण समेत चेम्बरले प्रस्तुत गरेको छ । 

धितोपत्र कारोवारलाई नियमन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड आफैले अर्थ मन्त्रालय एवं आन्तरिक राजश्व लगायतका सरोकारवाला निकायहरुलाई गरिएको सुझाव पत्रमा समेत मूल्य अभिवृद्धि कर लगाउन नहुने भनेर जानकारी गराएको सम्झना गर्न आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ–‘वर्तमान सन्दर्भमा धितोपत्र बजारमा मूल्य अभिवृद्धि कर लगाईदा यसले बजार विस्तारमा समेत नकारात्मक प्रभाव पर्नेछ ।’

चेम्बरले यो विषयमा गरिएका सम्पूर्ण निर्णयहरु अविलम्व फिर्ता लिन समेत अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । 

कारोबार नगरी बजार पूर्णतया बन्द हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने हुनाले बजारलाई तुरुन्त सुचारु गर्न चेम्बरले अन्य सरोकारवालाहरुलाई समेत आग्रह गरेको छ ।