►राजु पौडेल

सेयर कारोबार गरेर सबैलाई धनी हुने चाहना हुन्छ । तर, यीमध्ये केहीको चाहना मात्र पूरा हुन्छ । सेयरमा लगानी गरेर धनी बनेको सपना देख्ने धेरै करोडपतिबाट रोडपति पनि भएका छन् । आज म सेयर शिक्षाअन्तर्गत सेयर कारोबारबाट कसरी धनी हुन सकिन्छ भन्ने केही सूूत्रहरुको बारेमा बताउन गइरहेको छु। सेयर कारोबारबाटै विश्वका सर्वाधिक धनीमध्येमा पर्न सफल सेयर बजारका बादशाह बारेन बफेटको जीवन र उनको सफलताको कथा पढ्दा, सेयर कारोबारबाट धन आर्जन गर्न निम्न १० कुरामा ध्यान दिनुपर्ने देखिन्छ । 

१. बचत गर्न सिक्नुहोस्

खर्चबाट जोगिनुहोस, बचत गर्नुहोस् भन्ने उनको सन्देश छ । खर्चबाट बच्नका लागि उनले स–साना रकम पनि बचत गर्ने कुरामा जोड दिन्थे । कतिसम्म भने उनी आफैंले पढ्नैपर्ने पत्रिकाहरु पनि नयाँ नकिनी पुराना किन्थे । उनलाई थाहा थियो, थोपा–थोपा बाट समुन्द्र बन्छ, यसरी बचत गर्दा अरुले के भन्छ भन्ने होईन, यसो गर्दा आफूूलाई कस्तो फाईदा हुन्छ भन्ने कुरामा ध्यान दिन्थे । यसैगरी, तपाई हामीले पनि बचत गर्न सिक्यौं र बचत गरेको पैसा राम्रो कम्पनीको सेयरमा लगानी गर्न सकियो भने तपाईं हामी पनि धेरै धनी हुनसक्छौ । 

२. द्विविधा हटाउने

आफूले गर्नुपर्ने वा गर्ने कुरामा द्विविधा नलिने अर्थात यो गरौ कि त्यो गरौ कि अवस्थामा नरहने । कुनै एउटा निर्णय लिने । त्यो निर्णय सही भयो भने त जीवन परिवर्तन भैहाल्यो, कसैगरी गलत निर्णय भयो भने पनि गल्तीबाट पाठ सिकिन्छ । निर्णय लिन द्विविधा लिने ढिला गर्ने मान्छेले जीवनमा आएका कैयौ अवसर गुमाउने गर्दछ्न, सेयरमा लगानी गर्दा पनि द्विविधामा पर्नुहुँदैन । यो कम्पनीको सेयर किनौ कि, त्यो कम्पनी सेयर किनौ भनेर द्विविधा लिने हो भने राम्रो कम्पनीको सेयर खरिद गर्ने अवसर गुम्न सक्छ । सेयर खरिदबिक्री गर्दा बिगतमा गरेका गल्तीहरुबाट सिक्दै कम्पनीको वित्तीय सूूचकहरुको अध्ययन गर्ने र राम्रो कम्पनीको सेयर उचित समयमा खरिदबिक्री गर्न सकियो भने त्यो सेयरले हामीलाई राम्रो प्रतिफल दिन्छ, फलस्वरूप हामी पनि धनी बन्छौ ।

३. काम गर्नुअघि प्रकृति बुुझ्ने
कुनै पनि कम्पनीको सेयर खरिद गर्नुअघि त्यो कम्पनीको प्रकृति र प्रवृति बुझन जरुरी हुन्छ । साथै कस्तो प्रकृतिको कम्पनी हो ? यो कम्पनीको सेयरमा लगानी गर्दा मलाई एक बर्षमा कति फाइदा आउनसक्ला ? यो कम्पनीको सेयरको कारोवारको इतिहास कस्तो छ ? बिगत बर्षहरुमा कति प्रतिशतका दरले बोनस दिएको छ ? कम्पनीका समग्र सूूचक कस्ता छ्न ? आदि कुराहरु बुझेर उक्त कम्पनीको सेयरमा लगानी गर्नु भयो भने तपाई पनि अवश्य धनी हुन सक्नुहुन्छ ।

४.स–साना चुहावट रोक्ने
तपाईहरुले खर्च गर्नु भन्दा अगाडि एकछिन सोच्ने गर्नुहोस् । यो खर्च गर्न कत्तिको आवश्यक छ भनी विश्लेषण गर्नुहोस । हाम्रो जीवनमा पनि अनावश्यक विभिन्न खर्चका चुहावट भइरहेका हुन्छ्न । यस्ता चुहावट र फजुल खर्चलाई नियन्त्रण गरेर बचत गर्न सफल भयौं भने त्यो बचतलाई राम्रो कम्पनीको सेयरमा लगानी गरी धनी बन्न सकिन्छ । 

५. ऋणबाट बच्नुहोस्
तपाई हामीले ऋणबाट जीवन चलाउन खोज्यौ भने कहिल्यै पनि धनी हुन सक्दैनौं । ऋणमा चल्ने जीवन तनावको जीवन हुन्छ । त्यस्तै ऋण लिएर सेयरमा लगानी गर्ने काम नगर्नुहोस् । जब सेयर बजार उकालो लाग्न थाल्छ, तब हामी विभिन्न संस्था तथा ब्यक्तिसँग ऋण तथा सापटी लिएर सेयरमा लगानी गर्न थाल्छौ । जब बजार घट्न थाल्छ अनि ऋण लिएर खरिद गरेको सेयर घाटै खाएर बिक्री गर्ने गर्छौ । सकेसम्म ऋण लिएर सेयरमा लगानी नगर्नुहोस् । ऋण लिएर सेयरमा गरेको लगानीले उचित प्रतिफल दिन सक्दैन । उचित प्रतिफल पाउन नसक्दा तपाईंको जीवन तनावपूूर्ण हुन जान्छ, तपाईंको आर्थिक स्वास्थ्यलाई नराम्रो असर पुर्याउँछ । त्यसैले आफूूलाई ऋणबाट जोगाउनुहोस्, ऋणबाट जोगिन सक्नु भयो भने तपाई पनि धनी बन्नुुहुन्छ ।

६.अरुलाई नपछ्याउनुहोस्
हाम्रो सेयर बजारमा अहिले पनि धेरै लगानीकर्ताहरु अरुलाई सोधेर सेयरमा लगानी गर्छन । भिडले जे जे भन्छ, त्यसलाई सुन्छन् । भीड र हल्लाको पछाडि लाग्नु हुन्न । यदि तपाई सेयरमा लगानी गरेर धनी हुने हो भने भीडले जसोजसो भन्छ, त्यसलाई नसुन्नुहोस । भीडको पछाडि नलाग्नुस् । आफैले व्यापक अध्ययन अनुसन्धान गरी आफ्नो मौलिक सोच विकसित गर्नुहोस्, अरुको पनि कुरा सुन्नुहोस्, तर निर्णय आफ्नै गर्नुहोस् । आफ्नै मौलिक सोंच, बिश्लेषणमाथि विश्वास गर्नुहोस् । यसरी भीडको पछाडि नलागी अरुको कुरा नसुनी आफैं अध्ययन अनुसन्धान गरी सेयरमा लगानी गर्नु भयो भने तपाई पनि धनी हुन सक्नुहुन्छ ।

७. निरन्तरता दिनुहोस्
तपाईले सेयर कारोबारलाई निरन्तरता दिनुहोस्, सेयर बजार बढ्दा सेयर खरिद गर्ने घट्दा सेयर बजारमा सस्तोमा सेयर बेचेर भाग्ने काम नगर्नुहोस् । सेयर बजारमा जस्तोसुकै उथलपुथल भए पनि सेयर कारोवार गर्न नछाड्नुहोस् । सेयर बढ्दा बिक्री गर्नुहोस् सेयर घटदा खरिद गरी सेयर कारोबारलाई निरन्तरता दिनसक्नु भयो भने तपाई पनि सेयर कारोबारबाट धनी बन्न सक्नुहुनेछ ।

८. नोक्सानीबाट टाढै रहने प्रयास गर्नुहोस्
सेयर कारोबार गर्दा सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा तपाईले लगानी गरेको सेयरमा सोचे भन्दा बढी घाटा भइरहेको छ भने घाटा कम गर्न त्यस्तो सेयर तुरुन्तै बिक्री गर्नुहोस् । भरसक नोक्सानी तथा घाटा हुने सेयरमा लगानी नगर्नुहोस् । यसरी नोक्सानीबाट बच्न सक्नु भयो भने सेयर कारोबारबाट तपाई पनि धनी हुनसक्नु हुन्छ ।

९. जोखिम आँकलनमा ध्यान दिनुहोस्
कुनै पनि कम्पनीको सेयरमा हुने नोक्सानीको मूूल कारण सुरुमा नै गरिने जोखिम आँकलनमा भएको कमजोरी हो । सेयर कारोबार गर्दा जोखिम आँकलनमा सबैभन्दा बढी ध्यान दिनुपर्दछ । घाँटी हेरी हाड निल्नु भनेझैं नोक्सान बहन गर्ने क्षमताअनुसार लगानी गर्नुपर्छ । कतिसम्म नोक्सान हुँदा आफूूलाई मानसिक र पारिवारिक रूपमा असर गर्दैन भन्ने सीमा तोक्नु नै नोक्सानी बहन गर्ने क्षमता निर्धारण गर्नु हो । जोखिम आँकलन र जोखिम न्यूनीकरणका उपायले लामो समयावधिसम्म सेयर कारोबारमा टिक्न सफल हुँदै सेयर कारोवारबाट तपाई पनि धनी हुनसक्नु हुन्छ ।

१०. कसैलाई गुरु बनाउनुहोस्
जीवन र सेयर कारोबारमा सफल हुने हो भने कसैलाई गुरु बनाउनुहोस् । तपाईले जुन ब्यक्तिलाई आफ्नो आदर्श मान्नुहुन्छ, तिनका गुणलाई अभ्यास गरेर आफ्नो व्यक्तित्वको अंश बनाउन सक्नुहुन्छ । सेयर कारोबारमा पनि तपाई सफल हुने हो भने सेयर बजारका अनुभवी सेयर बिश्लेषक कुनै एक जना ब्यक्तिलाई सेयर गुरु बनाएर उसको मार्गनिर्देशनलाई फलो गर्दै जानुहोस्, तपाई पनि सेयर कारोबारबाट सफल भई धनी बन्न सक्नुहुन्छ ।

माथि उल्लेखित सूूत्रहरु जीवन र सेयर कारोबारमा प्रयोग गर्नसक्नु भयो भने तपाई जीवन र सेयर कारोबारमा सफल भई धनी हुनसक्नु हुन्छ ।

रिफरेन्सः सेयर बजारका बादशाह वारेन बफेटको जीवनी ।

(लेखक सेयर बजारका अध्ययनकर्ता हुन्।)