काठमाण्डौ । धितोपत्र बोर्डले मर्चेन्ट बैंकर र धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुलाई सेयर बजारको घटबढ वा भविष्यको बिषयमा बोल्न, प्रक्षेपण गर्न वा टिकाटिप्पणी गर्न रोक लगाएको छ।

बोर्डले सोमबार सबै मर्चेन्ट बैंक र ब्रोकरलाई कडा निर्देशन जारी गर्दै बजारको घटबढको बिषयमा बोल्न, मिडियालाई प्रतिक्रिया दिन, लेख लेख्न रोक लगाएको हो । 

विगत केही दिनदेखि केही मर्चेन्ट बैंकर र ब्रोकरहरुले विभिन्न छापा, अनलाइन, तथा अन्य संचारका माध्यममार्फत सेयरको मूल्य घटबढ हुँदैछ भन्ने प्रकारका अभिव्यक्ति, अन्तर्वार्ता, लेखरचना सम्प्रेषण गरेका र यसले बजार प्रभावित भएको भन्दै त्यसलाई रोक्न बोर्डले कडाई गरेको हो । 

यस्ता कार्यले बजार घटबढ वा कुनै कम्पनी बिशेषको मूल्य घटबढमा सहयोग पुुग्ने भन्दै यस्तो कार्य व्यवसायिक मर्यादाविपरीत रहेको बोर्डका उपनिर्देशक तेजप्रसाद देवकोटाले जारी गरेको निर्देशनमा उल्लेख छ । 

‘यस्तो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९(ग) बमोजिम बदनियतसाथ झूठा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्व अनुमान बनाउने वा प्रकाशित गर्ने गरेको ठहरिन्छ ।’ निर्देशनमा भनिएको छ–‘धितोपत्र दलाल व्यवसायीहरुले पालना गर्नुपर्ने व्यवसायिक मर्यादा सम्बन्धी निर्देशिका, २०५८ को समेत बर्खिलाप हुने भएकोले सो कार्यहरु नगर्न नगराउन सूचित गर्दै यस्ता कार्य गरेमा कानून बमोजिम कारबाही हुनेछ ।’ 

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९(ग) बमोजिम कारबाही हुने निर्देशनमा चेतावनी दिइएको छ । दफा ९(ग) मा एकलाख रुपैयाँदेखि तीनलाख रुपैयाँसम्म जरीवाना वा दुुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराइदिनुुपर्ने कानूनी व्यवस्था छ ।