►राजु  पौडेल
अहिले सेयर बजारमा बाणिज्य बैंकहरुको चुक्तापुँजी वृद्धि र प्रथम त्रैमासिक वित्तीय विवरण चर्चाको बिषय बनेको छ । खासगरी प्रथम त्रैमासमा अधिकांश बैंकहरुको खुद मुनाफा र प्रतिसेयर आम्दानीमा भारी संकुचन आएको छ । मुनाफासँगै प्रतिसेयर आम्दानी पनि  खुम्चिएपछि त्यसले अहिले बजारमा प्रत्यक्ष असर पारेको देखिन्छ । समग्रमा नेप्सेमा ठूलो हिस्सा बाणिज्य बैंकहरुको छ, यही समूहले नेप्सेको दिशा निर्धारण गर्दछ । यिनै बाणिज्य बैंकहरुको वित्तीय विवरणको यो हालत देखेर लगानीकर्ताहरु चिन्तित छन् । उसो भए के अब बाणिज्य बैंकहरुको सेयर बजारमा चार्मिङ समाप्त भएकै हो त ? 

चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सबै बाणिज्य बैंकहरुले सार्वजनिक गरिसकेका छन् । 

सार्वजनिक वित्तीय विवरण अनुसार केही बैंकहरुको मुनाफा सन्तोषजनक भएतापनि अधिकांश बैंकहरुको घटेको छ । २७ बाणिज्य बैंकमध्ये १५ वटा बैंकहरुको मुनाफा बढेको छ भने १२ वटा बैंकहरुको मुनाफा घटेको छ ।

नाफा बढ्ने बैंकहरुको वित्तीय सूचकहरुको अबस्था कस्तो छ त ? हेरौं:

१. नेपाल इन्भेस्टमेन्ट बैंकः यो बैंकको २७ वटा बैंकहरुमध्येमा धेरै मुनाफा गर्ने बैंकमा दोस्रो हुन सफल भएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा यो बैंकले ८९ करोड ४९ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको भन्दा २०.८१ प्रतिशतले बढी हो । १० अर्ब ६२ करोड ६४ लाख ३६ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ३३.६९ रुपैयाँ, मूूल्यआम्दानी अनुपात १९.२९ गुणा, प्रतिसेयर नेटवर्थ १८४.४७ रुपैयाँ रहेको छ भने निस्क्रिय कर्जा १.०४ प्रतिशत पुगेको छ । हामीले कुनै पनि कम्पनीको सेयर किन्दा यी सूचकहरुलाई विशेष रुपमा हेर्नुपर्दछ ।

२. नविल बैंक : यो बैंकले ८५ करोड १४ लाख ६ हजार रुपैया खुद नाफा आर्जन गरेको छ, जुन नाफा गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६.६४ प्रतिशतले बढी हो । चुक्तापुँजी ८ अर्ब ४ करोड ५२ लाख २१  हजार  भएको यो बैंकको प्रतिसेयर आम्दानी ४१.१० रुपैयाँ, मूूल्यआम्दानी अनुपात ३०.९७ गुणा, प्रतिसेयर नेटर्वथ १८४ रुपैयाँ र निस्क्रिय कर्जा १.११ प्रतिशत  छ । यो दोस्रो बढी मुनाफा गर्ने बैंकमा परेको छ ।

३. सिभिल बैंकः यो बैंकले ११ करोड ३३ लाख ६९ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६७९.१६ प्रतिशतले बढी हो । प्रतिशतको आधारमा सबैभन्दा बढी मुनाफा आर्जन गर्ने बैंक सिभिल बैंक हो । ५ अर्ब ९८ करोड ५२ लाख २२ हज चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ८.४२ रुपैयाँ, मूूल्यआम्दानी अनुपात २६.३३ गुणा, प्रतिसेयर नेटवर्थ १३३.८७ रुपैयाँ र निस्क्रिय कर्जा ४.६९ प्रतिशत छ ।

४. एभरेस्ट बैंक : यो बैंकले ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको भन्दा १.५७ प्रतिशत बढी हो । ६ अर्ब ११ करोड ५२ लाख ३८ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ३५.२२ रुपैयाँमा सीमित भएको छ, जुन प्रतिसेयर आम्दानी गत बर्षको भन्दा ५५.०२ प्रतिशतले कम हो । प्रतिसेयर नेटवर्थ २१०.६५ रुपैयाँ र निस्क्रिय कर्जा ०.२६ प्रतिशत छ ।

५. एनमबि बैंक : यो बैंकले ४५ करोड १३ लाख ५३ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २७.६१ प्रतिशत बढी हो । चुक्तापूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार भएको यो बैंकको प्रतिसेयर आम्दानी २७.९४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.३८ रुपैयाँ र खराब कर्जा १.६७  प्रतिशत छ ।

६. सानिमा बैंक : यो बैंकले ३४ करोड ४४ लाख ५७ हजार खुद मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २६.८१ प्रतिशतले बढी हो । ८ अर्ब १२ लाख ५५ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १६.७२ रुपैयाँ, मूूल्यआम्दानी अनुपात २०.७६ गुणा, प्रतिसेयर नेटवर्थ ११७.५५ रुपैयाँ र निस्क्रिय कर्जा ०.१४ प्रतिशत छ ।

७. प्राईम कमर्सियल बैंक : यो बैंक ३४ करोड १७ लाख ५० हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३६.१२ प्रतिशतले बढी हो । ६ अर्ब ३२ करोड ५४ लाख ३२ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी २१.६१ रुपैयाँ, मूल्यआम्दानी अनुपात २०.६५ गुणा, प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ र खराब कर्जा १.३७ प्रतिशत छ। 

८. माछापुच्छ्रे बैंक :यो बैंक २८ करोड ९ लाख ५९ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ  । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १३.७७ प्रतिशतले बढी हो । ८ अर्ब ३ करोड ९६ लाख १९ हजार चुक्तापूँजी भएको यो बैंक प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ, मूूल्यआम्दानी २२.९३ गुणा, प्रतिसेयर नेटवर्थ ११५.२८ रुपैयाँ र खराब कर्जा ०.४५ प्रतिशत छ ।

९. एनआईसी एसिया बैंक : यो बैंक २७ करोड ८६ लाख ८८ हजार रुपैयाँ मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६.७५ प्रतिशतले बढी हो । ८ अर्ब ३ करोड ११ लाख १७ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १३.५१ रुपैयाँ, मूूल्यआम्दानी अनुपात २७.७५ गुणा, प्रतिसेयर नेटवर्थ १२९.४२ रुपैयाँ र खराब कर्जा ०.२९ प्रतिशत छ ।

१०. लक्ष्मी बैंक : यो बैंक १७ करोड ९ लाख ८८ हजार मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २५.८६ प्रतिशत अधिक हो । ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ८.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ र निस्क्रिय कर्जा १.७८ प्रतिशत छ ।

११. जनता बैंकः यो बैंकले ६ करोड ४८ लाख १७ हजार मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १.३१ प्रतिशतले अधिक हो । ६ अर्ब ९९ करोड ३६ लाख ९६ हजार  चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ३.७१ रुपैयाँ, मूूल्यआम्दानी अनुपात ६९ गुणा, प्रतिसेयर नेटवर्थ १२७.०६ रुपैयाँ र खराब कर्जा १.६५ प्रतिशत रहेको छ ।

१२. एसबिआई बैंक : पहिलो त्रैमासमा यो बैंक ४३ करोड ८८ लाख ६५ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २३.९१५ ले अधिक हो ।  चुक्तापूँजी  ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार रहेको यो बैंकको प्रतिसेयर २५.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.४० रुपैयाँ र खराब कर्जा ०.१३ प्रतिशत छ ।

१३. सेञ्चुरी बैंक : यो बैंकले १० करोड ५७ लाख ७९ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ४२.४१ प्रतिशतले अधिक हो । ५ अर्ब ४६ करोड ६ लाख २९ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ७.७५ रुपैयाँ, मूूल्यआम्दानी अनुपात २९.१७ गुणा, प्रतिसेयर नेटवर्थ १२२.४० रुपैयाँ र खराब कर्जा १.७० प्रतिशत छ ।

१४. स्ट्याण्डर्ड चार्टर्ड बैंक : यो बैंकले ४८ करोड २५ लाख ३१ हजार रुपैया मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३८.०९ प्रतिशत बढी हो । ४ अर्ब ५७ करोड २५ लाख ३१ हजार रुपैया चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ४८.१८ रुपैयाँ, नेटवर्थ ३१३.४९ रुपैयाँ र खराब कर्जा ०.१८ प्रतिशत छ ।

१५. एनसीसी बैंक : यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ४५ लाख ८३ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५६ प्रतिशतले बढी हो । ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १४.०७ रुपैयाँ, नेटवर्थ १५८.२३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.२२ गुणा र निस्क्रिय कर्जा ४.२९ प्रतिशत रहेको छ । 

माथि उल्लेखित १५ वटा बैंकहरु चालू आर्थिक बर्षको प्रथम त्रैमासमा मुनाफा आर्जन गर्न सफल भएता पनि  बाँकी १२ वटा बैंकको मुनाफामा कमी आएको छ । मुनाफामा गिरावट आउने बैंकहरुको वित्तीय सूूचकहरुको अवस्था यस्तो छ:

१. मेगा बैंकः यो बैंकले ८ करोड ११ लाख ९२ हजार  मुनाफा गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ४४.७४ प्रतिशत कम हो । ४ अर्ब ५८ करोड ३३ लाख १३ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ६.८८ रुपैया, मूूल्यआम्दानी अनुपात ६६.५७ गुण, प्रतिसेयर नेटवर्थ १२९.७० रुपैयाँ र खराव कर्जा १.६७ प्रतिशत छ ।

२. कुमारी बैंकः यो बैंकले ११ करोड २० लाख ९६ हजार नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १८.२४ प्रतिशत कम हो । ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ६.५१ रुपैयाँ, मूूल्यआम्दानी अनुपात ४१.०१ गुणा, प्रतिसेयर नेटवर्थ १४५.९१ रुपैयाँ र खराब कर्जा १.९७ प्रतिशत छ ।

३. नेपाल बंगलादेश बैंक : यो बैंकले १५ करोड ४० लाख १० हजार खूद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३१.५ प्रतिशत कम हो । ८ अर्ब ८ करोड ५५ लाख ९९ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ, मूूल्यआम्दानी अनुपात ४४ गुणा, प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ र खराब कर्जा .०४३ प्रतिशत छ ।

४. सनराईज बैंक : यो बैंकले २० करोड ३७ लाख ८ हजार नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १९.५२ प्रतिशतले कम हो । ८ अर्ब १५ करोड २५ लाख ५६ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ९.९९ रुपैयाँ, मूूल्यआम्दानी अनुपात ३३.१२ गुणा , प्रतिसेयर नेटवर्थ १२१.०६ रुपैयाँ र खराब कर्जा १.४९ प्रतिशत छ ।

५. सिद्धार्थ बैंकः यो बैंकले २१ करोड ६४ लाख ४२ हजार नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३९.८२ प्रतिशत कम हो । ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजार चुक्तापँुजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँ,  प्रतिसेयर नेटवर्थ १५२.७३ रुपैयाँ  र खराब कर्जा २.०१ प्रतिशत छ । गत बर्षको भन्दा यो बैंकको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ ।

६. बैंक अफ काठमाण्डौ : यो बैंकले २२ करोड ४० लाख ४६ हजार खूद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १७.३२ प्रतिशतले कम हो । ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार चुक्तापँुजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १५.९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.८३ गुणा, प्रतिसेयर नेटवर्थ १६२.५० रुपैयाँ र खराब कर्जा २.०८ प्रतिशत छ।

७. सिटिजन बैंक : यो बैंकले ३१ करोड ९० लाख ९९ हजार नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ७.५४ प्रतिशतले कम हो । ८ अर्ब २ करोड ९१ लाख ६० हजार चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ, मूूल्यआम्दानी अनुपात १९.३१ गुणा, प्रतिसेयर नेटवर्थ १२१.०२ रुपैयाँ र खराब कर्जा १.९९ प्रतिशत छ ।

८. ग्लोबल आईएमइ बैंक : यो बैंकले ३५ करोड ३२ लाख ३ हजार नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १६.०९ प्रतिशतले कम हो । ८ अर्ब ८ करोड ३ लाख ४२ हजार चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १७.४८ रुपैयाँ, मूूल्यआम्दानी अनुपात २२.०८ गुणा, प्रतिसेयर नेटवर्थ १५४.२८ रुपैयाँ र खराब कर्जा १.५७ प्रतिशत छ ।

९. कृषि विकास बैंकः यो बैंकले ३६ करोड ३९ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १३.८३ प्रतिशतले कम हो । ७ अर्ब ८ करोड ७६ लाख ८० हजार चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ, मूल्यआम्दानी अनुपात २८.१७ गुणा, प्रतिसेयर नेटवर्थ २४३.२४ रुपैयाँ र खराब कर्जा ३.५४ प्रतिशत छ ।

१०. हिमालयन बैंक : यो बैंकले ४१ करोड १ लाख १२ हजार नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६.४६ प्रतिशत कम हो । ६ अर्ब ४९ करोड १६ लाख २४ हजार चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी २५.२७ रुपैया, मूूल्यआम्दानी अनुपात ३५.३५ गुणा, प्रतिसेयर नेटवर्थ १८७.६० रुपैयाँ र खराब कर्जा १.२४ प्रतिशत छ ।

११. प्रभु बैंक : यो बैंकले २५ करोड ७ लाख २९ हजार आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ९.९६ प्रतिशतले कम हो । ५ अर्ब ८८ करोड १ लाख ४२ हजार चुक्तापुँजी भएको यो बैंक प्रतिसेयर आम्दानी १७.०५ रुपैयाँ, मूल्यआम्दानी अनुपात २२.१७ गुणा, प्रतिसेयर नेटवर्थ १४७.०४ रुपैयाँ र खराब कर्जा ४.२३ प्रतिशत छ ।

१२. नेपाल बैंक : २७ वटा बाणिज्य बैंकमध्य सबैभन्दा बढी मुनाफा गर्न सफल यो बैंकले ९७ करोड १३ लाख १८ हजार नाफा कमाएको छ । जुन आम्दानी गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १६.७० प्रतिशत कम हो । ८ अर्ब ४ करोड २६ लाख ६२ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ४८.३२ रुपैयाँ, मूूल्यआम्दानी अनुपात ७.०४ गुणा, प्रतिसेयर नेटवर्थ १५९.१८ रुपैयाँ र खराब कर्जा ३.४२ प्रतिशत छ । नेपाल बैंकले रिजर्भ कोषमा भारी बढोत्तरीसँगै बोनस दिनसक्ने क्षमता बनाएको छ । 

बाणिज्य बैंकहरुको सेयरमा लगानी गर्दा माथि उल्लेखित सूूचकहरुको गहन अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ ।

पहिलो त्रैमासको वित्तीय विवरण घोषणा गरेका बैंकहरुमध्ये यहाँ राष्ट्रिय बाणिज्य बैंकको मुनाफा उल्लेख गरिएको छैन । बाँकी बैंकहरुमा १५ वटा बैंकहरु गत आर्थिक बर्षको सोही अबधिको तुलनामा केही प्रतिशत मुनाफामा वृद्धि गर्न सफल भएतापनि बाँकी १२ वटा बैंकको मुनाफामा संकुचन आएको छ । ग्लोबल आईएमइ, सेञ्चुरी, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक र प्रभु बैंक बाहेक अरु सबै बैंकको प्रतिसेयर नेटवर्थ घटेको छ । पुँजी वृद्धि अनुसार ब्यापार विस्तार गर्न नसक्दा सबै बैंकहरुको प्रतिसेयर आम्दानीमा पनि निकै गिरावट आएको छ । सबैभन्दा बढी प्रतिसेयर आम्दानीमा गिरावट एभरेस्ट बैंक र सिद्धार्थ बैंकमा आएको देखिन्छ ।

बाणिज्य बैंकहरुको खुद मुनाफा र प्रतिसेयर आम्दानीमा कमी आउनुका प्रमुख कारण यस्ता छन् :

  • बाणिज्य बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले दिएको बाध्यात्मक पुँजी वृद्धिको निर्देशन सँगै दुई बर्षको अन्तरालमा औसत साढे दुई गुणा पुँजी बढाउन ठूलो परिमाण हकप्रद, एफपिओ र बोनस सेयर निश्कासनमार्फत गरेको पुँजी वृद्धि अनुसारको ब्यापार बिस्तार गर्न नसक्दा बैंकहरुको खुद मुनाफामा ह्रास आएको देखिन्छ  ।
  • यो आर्थिक बर्षमा बैंकहरुमा लिक्विडिटि क्रञ्चको समस्य देखियो, फलस्वरूप बैंकहरुको कमाईमा गिरावट आयो, त्यसको प्रभाव प्रतिसेयर आम्दानीमा देखियो । बैंकहरुलाई लिक्विडिटी क्रञ्चले बढी भार परेको देखिन्छ, महङ्गो ब्याजदरमा निक्षेप संकलन गरेका बैंकहरुले स्प्रेड रेट घटाएर कर्जा प्रवाह गर्दा उनीहरुको कोषको लागत अत्यधिक वृद्धि हुन गई खुद ब्याज आम्दानी घट्न पुगेको छ । स्प्रेड रेट अघिल्लो बर्षहरुमा ५५ हुने गर्दथ्यो, जब कि अहिलेको अबस्थामा करिब ३५ को हाराहारीमा छ । यसो हुनुमा बचतमा कष्ट अफ फन्ड ब्याजदर बढ्नाले हो । खुद ब्याज आम्दानी घट्दा संचालन खर्च बढने हुँदा स्वाभाविक रूपमा खुद मुनाफा घट्ने गर्छ ।  
  • चुक्तापँुजी वृद्धिसँगै सेयर संख्या बढ्ने हुनाले यसको असर प्रतिसेयर आम्दानीमा पर्न गयो, फलस्वरूप अधिकांश बैंकहरुको प्रतिसेयर आम्दानीमा व्यापक संकुचन आयो ।
  • बैंकहरु अहिले पुँजी वृद्धिको संक्रमणकालबाट गुज्रिएका छन्, यसले गर्दा  वित्तीय विवरण पनि कमजोर देखिएको छ । एकैपटक भारी पुँजी वृद्धि गरे अनुसार लगानी विस्तार हुन पाएको छैन । यसले बजारमा बलियो प्रतिनिधित्व गर्ने बाणिज्य बैंक समूूह कमजोर देखिएको छ ।
  • अब बिस्तारै पुँजी वृद्धिसँगै लगानी पनि विस्तार हँुदै जानेछ अनि क्रमशः बैंकहरुको नाफा पनि बढ्नेछ । अर्को कुरा सामान्यतया बैंकहरुले मुद्दती निक्षेप लिदा एक दुई वर्षे योजना ल्याएको देखिन्छ । अल्पकालीन मुद्दत्ति निक्षेप अहिले पूरा भइसकेका छन् । अब नयाँ आउने मुद्दत्ति निक्षेपमा ७ देखि ८ प्रतिशत भन्दा बढी ब्याज दिने छैनन् ।  यति प्रतिशत ब्याजले खासै ठूलो असर पार्दैन । मुद्दत्ति निक्षेप योजना पूरा भइसकेपछि स्वत कष्ट अफ फन्ड घट्छ । अहिले मुद्दत्ति निक्षेपमा ब्याजदर घटिरहेको छ, तर कर्जाको ब्याजदर घटिरहेको छैन त्यसले पनि सेयर बजारमा सकारात्मक असर पार्न सकिरहेको छैन ।
  • राष्ट्र बैंकको निर्देशन अनुसार बाणिज्य बैंकहरुले ७ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाँउपालिका गरी ७ सय ५३ स्थानीय तहमा शाखा विस्तार गर्नुपर्ने अवस्था छ । यी स्थानीय निकायमा बाणिज्य बैंकले शाखा विस्तार गरेपछि लगानी पनि विस्तार हुँदै जानेछ र बैंकको मुनाफामा  वृद्धि आउने नै छ । जसरी अहिले एनआइसि एसिया बैंकले जुन आक्रामक तरिकाले शाखा बिस्तार गर्दैछ, अरु बैंकहरुले पनि स्थानीय निकायमा शाखा बिस्तार गर्नेनै छन् र पुस मसान्तसम्म बैंकहरुको मुनाफामा वृद्धि हुनेछ ।
  • मंसिरमा चुनाव हुँदैछ, चुनावपछि बजारमा तरलताको मात्र बढ्नेछ । तरलताको वृद्धि सँगै बैंकमा पैसाको अभाव हुने छैन, लिक्विडिटि क्रञ्चको समस्या हट्नेछ र ब्याजदर घट्नेछ । ब्याजदर घटेपछि बैंकहरुले मुनाफामा भारि वृद्धि गर्नेछन् । 
  • चुनावपछि मुलुकमा स्थिर सरकार बन्ने सम्भावना छ । स्थिर सरकारसँगै देश आर्थिक समृद्धिको बाटोमा लम्कने छ, अर्थतन्त्र फराकिलो बन्दै जानेछ । अर्थतन्त्र फराकिलो हुँदै जादा बैंकहरु स्वाभाविक रूपमा ठूूला र सबल बन्न बाध्य हुनेछन् ।
  • बाणिज्य बैंकहरुले ८ अर्ब पुँजीको अवस्थालाई ब्यवस्थित गरिसकेपछि पुन आफ्नो गतिमा काम गर्नेछन् र १५ अर्बको पुँजीलाई पछ्याउँदै बजारमा आफ्नो उपस्थिति र दबदबालाई पुनः कायम गर्नेछन् । 

विगतमा पनि पुँजी वृद्धिको केही समय यस्तै अवस्था देखिएको थियो । पहिलो त्रैमासमा खुद मुनाफामा कमी र प्रतिसेयर आम्दानीमा पहिरो जाने बित्तिकै आत्तिनुपर्ने अवस्था छैन । बाँकी तीनवटा वित्तीय विवरण आउन बाँकी नै छ । सुरक्षित र लामो समयको लगानीका लागि उपयुक्त क्षेत्र भनेकै बाणिज्य बैंकहरुको समूूह हो । तपाईहरु ढुक्क हुनुहोस्, पुस मसान्तपछिको दोस्रो त्रैमासिक रिपोर्टमा बाणिज्य बैंकहरु सबल र बलिया भएर आउनेछन् ।
(लेखक सेयर बजारका अध्येता हुन् ।)