यतिबेला सेयर बजार घट्नुपर्ने औचित्य र अवस्था छैन । बैकिङ क्षेत्रको पहिलो त्रैमासको रिपोर्टले बजारमा नर्भसनेस ल्यायो वा पोलिटिकल कारणले बजार घटायो भन्नुु बेकारको कुरा हो । बाम गठबन्धनको सरकार आएपछि बजार डामाडोल हुन्छ भन्नुु त सोझा लगानीकर्तालाई फसाउने र उल्लूू बनाउने खेल मात्र हो । 

लगानीकर्ताका लागि निकट भविष्मै सुखद दिनहरु आउँदैछन् । चुनावपछि नेपालको अर्थतन्त्र संघीय संरचनामा रुपान्तरित हुन्छ, त्यसपछि अवसरहरुले लगानीकर्ताको ढोका ढकढक्याउन थाल्नेछन् । ७ वटा प्रदेश धानिन उनीहरुको आर्थिक व्यवस्थापनका अन्य भरपर्दा स्रोतहरु तत्काल धेरै देखिएको छैन । यस्तो अवस्थामा विश्वमा हुँदै आएको अभ्यास झै प्रदेश सरकारहरुले क्यापिटल मार्केटबाटै स्रोत जुटाउन थाल्छन्, यसका लागि बण्डहरु आउलान् । त्यसपछि बजार अझ फराकिलो भएर जान्छ, अझ माथि जान्छ । 

अहिलेको जस्तो सहज अवस्थामा मार्केट डाउन भएर धेरै घट्छ र खत्तमै हुन्छ भन्नुु भ्रम हो । यी कुरा साना लगानीकर्ताको हित नहेरी जथाभावी बोलिएका कुरा मात्र हुन् । 

हामीले सम्झनुुपर्छ अघिल्लोपटक माओवादी र एमाले सरकार भएको बेलामै इण्डेक्स १८०० माथि पुुगेको हो । यसकारण बाम गठबन्धनकै सरकार बन्यो भने पनि इण्डेक्स तल आउला भन्नुु बेकारको कुरा हो । कांग्रेस सरकारमा हुँदा पनि विगतमा इण्डेक्स माथि गएको छ, एमाले हुँदा पनि गएको छ र माओवादी हुँदा पनि गएकै छ । कुनै दल विशेषको सरकार आएपछि बजार चौपट हुन्छ भनेर हल्ला पिट्नुु स्वार्थ समूहको खेल मात्र हो । आम लगानीकर्ता यस्ता भ्रमबाट टाढै बस्नुुपर्छ र चनाखो भई निर्णय लिनुुपर्छ । किनभने बजारमा निर्वाचनपछि के होला भन्ने अन्यौल पनि फैलाइएको छ, जुन अनावश्यक छ।

हुन त यस्तै जथाभावी हल्ला, विश्लेषण र टिप्पणीले आम लगानीकर्ताको हित नहुने देखेर धितोपत्र बोर्डले हालसालै दलाल र मर्चेन्ट बैंकरहरुलाई बजारको बिषयमा जथाभावी बोल्न रोक लगाएको छ । यो सारै राम्रो काम भएको छ । 

विगतमा हेर्ने हो भने सेयर दलाल नै एड्भाइजर भएर फाइदा लिने काम गरे । कतिपय साथीभाई भेटेको छुु, उनीहरु भन्छन्–‘आज मैले सेयर बेच्न खोजेको दलालले नबेच भन्यो ।’ म उहाँहरुलाई भन्छुु–‘सेयर, तिम्रो सम्पत्ति कि दलालको सम्पत्ति ? उसको त काम तिमीले पठाएपछि कायान्वयन गर्ने हो, यसबाहेक अन्य काम केही पनि होइन । उसलाई अर्डर आयो राखिदिने हो, अर्डर दे वा नदे भन्न पाइन्न नि ।’ 

बजारको यस्तो हालत देखेर मैले केही दिनअघि सेवोनमा गएर भनेको पनि थिएँ–‘छिटो अनलाइन कारोबार सिस्टम आयो भने लगानीकर्तालाई सहज हुन्छ, यसमा जोड दिनुुपर्यो  । अनलाइन नभएको अवस्थामा कतिपय व्यक्तिले अर्डर गरेका छन्, ती अर्डरहरु कार्र्यान्वयन भए कि भएनन् भनेर हेर्ने मेकानिजम तपाईहरुसँग छ ?’ उहाँहरुले ‘छैन’ भन्नुुभयो । नेप्सेले पनि त्यही जवाफ दियो । धितोपत्र दलाल व्यवसायीसँग पनि त्यस्तो मेकानिजम रहेनछ । यसैको फाइदा उठाएर कतिपयले खेल्ने काम गरे र अहिले पनि गरिरहेकै छन् । 

मलाई बेला बेला अचम्म लाग्छ, पैसा लगाउँछ एउटाले अनि उसले सेयरमा लगाएको पैसामा खेल्छ अरुले । यस्तो पनि हुन्छ ? यो त सोझा लगानीकर्तामाथिको अन्याय भयो नि । अहिले बजारको मुख्य समस्या नै यही हो ।

अधिक आपूर्तिको भ्रम
मैले सेयर बजारलाई लामो समयदेखि अध्ययन गरेको छु। सूचिकृत कम्पनीहरुको बिषयमा पनि उस्तै अध्ययन गरेको छु। बजारमा सेयरको अधिक आपूर्ति भयो भन्नुु नचाहिने हल्ला हो । यो  पनि साना लगानीकर्तालाई उल्लूू बनाउने खेल हो । केही समयअघिदेखि मर्चेन्ट बैंकहरुले बजारमा खेल्ने काम गरे । बढी नाफा कमाउने र इकाइधनीहरुलाई बढीभन्दा बढी लाभांश दिने होडबाजीमा म्युचुुअल फण्डको नाममा धेरै खेल्ने काम गरियो र अहिले पनि यो खेल जारी छ । यसप्रति लगानीकर्ता चनाखो बन्नुपर्छ ।

हामीसँग अर्को समस्या छ, लङटर्म लगानीकर्ताको अभाव । संस्थागत लगानीकर्ता पनि कम भए । नागरिक लगानीकोषलाई संस्थागत लगानीकर्ता(मार्केट मेकर)को रुपमा ल्याउने भनियो, तर त्यो पनि अझै अड्किएको छ । 

त्यस्तै, हामीसँग बजारलाई स्थिर बनाउने मेकानिजम पनि छैन, त्यस्तो मेकानिजमको चाँडै विकास गरिन आवश्यक छ ।

हाम्रो इकोनोमी ग्रोथ राम्रो छ । अघिल्लो वर्ष साढे ७ प्रतिशत रहेको वृद्धिदर यो वर्ष पनि साढे ५ प्रतिशतको हाराहारीमा हुँदैछ । अन्य सबै इण्डीकेटरहरु राम्रा छन् । अर्कोतर्फ, सेयर बजारमा सेयर खरीदकर्ता पनि बढेका छन् । पहिला घर घरमै पुुगेर ‘सेयर किनिदिनुुहोस्, फारम भरिदिनुुहोस्’ भन्नुुपर्ने अवस्था थियो । आज लाइन लागेर मान्छेले फारम भर्नुपर्ने अवस्था छ । पब्लिक इस्यूूमा त अझ ५० गुणा बढीसम्म आवेदन पर्ने गर्छन् । यसरी हेर्दा मान्छेले त किन्न खोजेको छ, कहाँ आपूर्ति बढी भयो ? त्यसकारण आपूर्तिले बजार घटायो वा नकारात्मक प्रभाव पार्यो भन्नुु पनि सुनियोजित ढंगले फैलाइएको भ्रम हो । 

सरसर्ती हेरौं न, हामीमा ३ करोड बढी जनसंख्या छ, मुश्किलले १० लाख मान्छेले मात्र सेयर किनेका होलान् । बजार त अझै बढ्नुुछ, निकै माथि पुुग्नुछ । 

खोइ शिक्षा ?
हाम्रो अर्को ठूलो समस्या भनेकै लगानीकर्तालाई शिक्षित गर्न नसक्नुु हो । सेयरबजार पनि एउटा लगानीको राम्रो विकल्प क्षेत्र हो भनेर बुुझाउनै सकेनौ । बैंकजस्तै लगानीको ठाउँ हो । यो एउटा प्रोडक्ट हो भन्ने कुरा बुुझाउनुपर्छ । बैंकमा निक्षेप राखेजस्तो सेयरको लगानी समेत चाहेको बेला निकाल्न सकिन्छ, यो एकदमै लिक्वीड चिज हो, जतिबेला पनि बेच्न सक्छौ भन्ने कुरा पढाउनै सकेनौ । लगानीकर्ता शिक्षालाई प्रभावकारी बनाउने हो भने बजार धेरै माथि जान्छ । 

मुख्य रुपमा अहिले बजार नबढेको चाहि अज्ञानता नै हो । हाम्रा लगानीकर्ताहरुमा स्टक मार्केटमा कारोबार हुने कम्पनीहरुको बिषयमा विश्लेषण गर्ने क्षमता नै छैन । न त्यस्तो भरपर्दो कुनै सिस्टम नै छ हामीसँग । अधिकांश लगानीकर्ताले हल्लाको भरमा चल्नुुपर्ने अवस्था छ । हल्लाको भरमा सेयर किन्दा प्राइस तलमाथि भइरहन्छ, मुख्य समस्या नै यही हो । 

हुन त बैंकमा राखेको पैसा भन्दा सेयर मार्केटमा राखेको पैसाले लङटर्म हिसाबले बढी रिटर्न दिन्छ । यो कुरा पनि लगानीकर्ता र सर्वसाधारणलाई बुुझाउन सकेनौ । सेयर मार्केटले लङटर्म इन्भेष्मटन्ेटमा २० देखि २५ प्रतिशतसम्म रिटर्न दिन्छ , बैंकले १० प्रतिशत मात्र दिन्छ । सेयर बजारमा छिर्दा, आफू चनाखो हुनुुुपर्छ, पोर्टफोलियो मिलाउन जान्नुुपर्छ, यत्ति गर्न सकियो भने सेयरले उभो लगाउँछ, लगाउँछ । चुनावअघि अत्तालिएर सेयर बेच्नुुहुन्न, अहिले त्यो अवस्था नै देखिन्न ।

चुनावपछि स्वर्णिम युुग
चुनावपछि स्थायी सरकार बन्छ, जुनसुकैको सरकार बनोस्, बजार बिगार्ने हिसाबले, जनता डूूबाउने हिसाबले कसैले पनि नीति ल्याउँदैन । किनभने अब इकोनोमी फ्रस्ट भन्ने आइसक्यो । राजनीतिक एजेण्डा सबै सकिइसके, अबको राजनीतिक एजेण्डा के त ? केही छैन । अबको एजेण्डा इकोनोमीमा फोकस हुँदैछ भने मार्केट त कहाँ पुुग्छ, कहाँ पुुग्छ ? त्यसकारण सेयर बजारका लागि स्वर्णिम युुग आउँदैछ । ढुक्क भएर सेयरमा लगानी गर्दा हुन्छ, यो बेला चाहि बेच्ने मूर्खता नगर्नु नै उत्तम हुन्छ । 

चुनावमा सहभागी भइरहेका सबै राजनीतिक दलका घोषणापत्र हेर्ने हो भने सबैमा आर्थिक समृद्धिका कुरा समेटिएका छन् । घोषणापत्रमा गरिएको प्रतिबद्धतामध्ये २० प्रतिशत मात्र कार्यान्वयन भए भने पनि नेपालको इकोनोमीको आकार २६ अर्ब डलरबाट ५० अर्ब डलरमा सजिलै पुुग्नेछ । इकोनोमीको साइज बढ्छ, विदेशी लगानी आउँछ । त्यसपछि अवसर बढ्छ, अनि नेपाली सेयर बजार अझ संस्थागत हुन्छ, नयाँ प्रविधिमा आधारित हुन्छ र हेर्दा हेर्दै ठूलो आकार ग्रहण गर्छ । त्यसकारण लगानीकर्ता ढुक्क भए हुन्छ, यही चुनावपछि मार्केट राम्रैसँग माथि जान्छ । केही समय धैर्य गर्नुमै सबैको हित छ । 

(बैंकर तथा विश्लेषक भट्टराईसँग गरिएको कुराकानीमा आधारित)