काठमाण्डौ । सर्किट ब्रेकर नेपाल स्टक एक्सचेञ्जले कम्पनीको सेयर मूल्य तथा समग्र बजारको उतारचढावलाई नियन्त्रण गर्न अपनाएको एक विधि हो । कुनै कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको १० प्रतिशभन्दा बढ्ने वा घट्ने स्थिति भएमा सो कम्पनीको कारोबार थप बढ्न तथा घट्न सक्दैन र त्यही १० प्रतिशत भित्र रहेर कारोबार गर्न सकिन्छ । यसको सुरुवात नेप्सेले २०६३ असोज १० गतेबाट गरेको हो ।

यसरी लगाइन्छ सर्किट ब्रेकर
समग्र सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले २०६४ असोज ६गतेदखि पूरै बजारमा सर्किट ब्रेकर लगाउन सुरु गरेको हो । 

सुरुमा नेप्सेले अंकका आधारमा कारोबार स्थगन गर्दै आएकोमा २०६५ भदौ ९ गतेदेखि भने प्रतिशतका आधारमा सर्किट ब्रेकर लगाउँदै आएको छ । जस अनुसार कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ३ प्रतिशतले परिवर्तन भएमा १५ मिनेटका लागि पहिलो सर्किट ब्रेकर लगाई कारोबार स्थगन हुन्छ । पुनः कारोबार खुलेपछि परिसूचक ४ प्रतिशतले परिवर्तन भएमा दोश्रो पटक सर्किट ब्रेकर लाग्छ र कारोबार स्थगित गरिन्छ । 

दोश्रो सर्किट ब्रेकर लगाएपछि ३० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि खुलेको बजार परिसूचक ५ प्रतिशतले परिवर्तन भएमा सो दिनको बाँकी कारोबार नै स्थगन हुन्छ ।