काठमाण्डौ । यदि तपाई पैसा कमाउने बिषयमा सोचिरहनु भएको छ भने त्यसका  लागि ठूलै रकमबाट लगानी थाल्नुपर्छ  भन्ने कुनै जरुरी हुँदैन । तपाई  थोरै लगानीबाट नै सुरुवात गरेर समेत धनी बन्न सक्नुहुन्छ । तर, तपाईले सेयर बजारको  केही आधारभूत नियमको बिषयमा भने विशेष ध्यान दिनुपर्दछ । हामीले आज तपाईलाई बताउन लागेको नियम त्यस्ता नियम हुन्, जसलाई विश्वका कैयन ठूला लगानीकर्ता समेत फलो गर्छन् र यिनै नियमहरुलाई मानेर अगाडि बढ्दा उनीहरु विश्वकै धनीको  सूचिमा समेत आफ्नो नाम अटाउन सफल भएका छन् । त्यसकारण सेयर बजारबाट राम्रो आम्दानी गर्न चाहनुहुन्छ भने पैसा कमाउने आठ मन्त्र कहिल्यै नभूल्नुहोला । हामीले देश विदेशका विज्ञ तथा मिडियाहरुको सहयोगमा तयार गरी तपाईलाई बताउन लागेको टिप्सको बिषयमा ध्यान दिएर अगाडि बढे सेयर  बजारबाट घाटा खाने गुञ्जायस रहँदैन। 

यी आठ मन्त्र त्यस्ता हुन्, जसलाई वारेन बफेट, राधाकिशन दमानी, निर्मल प्रधान लगायतका लगानीकर्ताले समेत फलो गरेका थिए र अझै गरिरहेका छन् । यिनै मन्त्रहरुका आधारमा अगाडि बढ्दा वारेन बफेट आज सेयर बजारबाट भएको आम्दानीले  नै विश्वकै अर्बपतिको सूचिमा  तेश्रो स्थानमा समेटिन सफल भएका  छन् ।

पहिलो मन्त्रः समयलाई नकुर्नुहोस्

वारेन  बफेटले भन्ने गरेका  छन् कि बजारमा लगानीका लागि प्रत्येक समय सही समय हो । त्यसकारण बजारमा सही समयको प्रतिक्षा गर्न छाडिदिनुहोस् । यदि कुनै राम्रो कम्पनीको सेयर सस्तो  मूल्यमा पाइएको छ भने लगानी गर्न थालिहाल्नुहोस् , भलै त्यो समयमा बजारमा दवाब नै किन नदेखिएको होस् । 

आम  लगानीकर्ता समेत सही समयको प्रतिक्षामा बस्दा बजारमा  लगानी गर्न पाउँदैनन् । यही  क्रममा जब समय बित्छ र बजारको चाललाई देखेर उचाईमा पुगेको सेयरमा लगानी गरिदिन्छन् र घाटा व्यहोर्नुपर्छ । 

दोश्रो मन्त्र: अरुलाई हेरेर पैसा नलगाउनुहोस्
अरुले पैसा लगाइरहेको देखेकै कारण तपाई पनि कुनै कम्पनीमा लगानी गरिरहनु भएको छ भने यसमा तपाईलाई घाटा हुने संभावना अधिक  हुन्छ । त्यसकारण सेयर बजारमा  अरुको देखासिकी गरेर लगानी गर्नु हुँदैन । सेयर बजारमा  सफल बन्ने एउटै मन्त्री हो–तपाई अरुलाई होइन, अरुले तपाईलाई पछ्याओस् । यही बिषयमा वारेन बफेटले भनेका छन् कि जब दोश्रो व्यक्ति लालची बनेको देख्नुभयो भने त्यो बेला तपाई सचेत बन्नुहोस् । अनि जब दोश्रो व्यक्ति सतर्क बन्न खोजिरहेको  छ भने यही बेलामा तपाई चाहि कमाउने बिषयमा थोरै लालची   भएर सोच्न थाल्नुहोस् । 

तेश्रो मन्त्र: मूल्यमा नजानुहोस्, महत्व हेर्नुहोस्
कुनै पनि लगानीकर्ताले जुन कम्पनीको सेयरको मूल्य सबैभन्दा महंगो छ, त्यो चाहि राम्रो सेयर हो भन्ने भ्रम पाल्नुहुन्न । कैयन अवस्थामा १०० देखि २०० रुपैयाँ हाराहारीकै सेयर समेत मूल्यवान बन्नसक्छ, यदि त्यो कम्पनीको प्रदर्शन राम्रो छ भने । त्यसकारण सफल लगानीकर्ताले भन्ने गरेका छन् कि कुनै पनि कम्पनीको सेयर खरीद गर्नुअघि त्यसको मूल्य होइन, कम्पनीको प्रदर्शन र अवस्थाको बिषयमा ध्यान दिनुहोस् । यदि कम्पनीको प्रदर्शन राम्रो छ भने बजारमा जति नै ठूलो उथलपुथल भए पनि   तपाईको लगानीले रिटर्न दिन्छ ।

चौथो मन्त्र: लाभांश दिने कम्पनीप्रति भरोसा
सेयरमा लगानी गर्नुअघि कुन कम्पनीले लगातार लाभांश दिइरहेको छ भन्ने कुरा हेर्न  भूल्नुहुन्न । यदि कुनै कम्पनीले नियमित हिसाबमै लगानीकर्तालाई लाभांश दिइरहेको छ भने यसको अर्थ हो सो कम्पनीमा क्यास(पैसा)को कुनै कमी छैन । क्यास   सरप्लस भएको  कम्पनीको प्रदर्शन  समेत राम्रो हुन्छ । किनभने यस्तो अवस्थामा  यी कम्पनीको सेयरसँगै तपाईले लगाएको पैसा समेत  तीव्र रुपमा बढ्ने धेरै संभावना हुन्छ।

पाँचौ मन्त्र: कम  ऋण भएको कम्पनीको  छनौट
लगानी गर्नुअघि कुन कम्पनीको कर्जा सबैभन्दा कम छ भन्ने हेर्नुहोस् । किनभने ऋण कम भएको कम्पनीमा नगदको  दवाब कम हुन्छ । धेरै ऋणमा डूबेका र दायीत्व बढी भएका कम्पनीको सेयरमा लगानी नगर्नु नै उत्तम हुन्छ ।।

छैठौं मन्त्रः एकैपटक सबै पैसा नलगाउनुहोस्
सेयर बजारमा अक्सर उतारचढाव भइरहन्छ । यस्तो अवस्थामा नाफा कमाउने एउटा भरपर्दो नियम हो, तपाईसँग भएको सबै पैसा एकैसाथ सेयर बजारमा लगानी नगर्नुहोस् । यदि कुनै कम्पनीको सेयरमा  लगानी  गर्न चाहनुहुन्छ भने  आफूसँग भएको पैसा कैयन  हिस्सामा  बाँड्नुहोस् र बिस्तारै बिस्तारै लगानी गर्दै जानुहोस् । यदि सेयरमा गिरावट जारी नै रहेको छ भने तपाईले खरिदारीलाई जारी राखी खरीदको औसत घटाउन सक्नुहुन्छ । त्यसकारण पहिला रणनीति बनाउनुहोस्, अनि मात्र  लगानी गर्नुहोस् । 

सातौं मन्त्र: लक्ष्यप्रति व्यवहारिक बन्नुहोस्
बजारमा यस्ता सेयरको कुनै कमी छैन, जसले एकवर्षमा पत्याउनै नसकिने रिटर्न समेत दिएका छन् । मजबुत सेयरको बढोत्तरी स्थिर देखिरहेको छ भने यस्तो अवस्थामा बजारमा सुरक्षित लगानीको क्षेत्र मानिने  कम्पनीको सेयरले कम समयमै धेरै ठूलो रिटर्न दिने संभावना  समेत  ज्यादै न्यून हुन्छ । तथापि, लामो समयका लागि लगानी गर्न सकियो भने यस्तो सेयरले तपाईलाई निकै ठूलो रिटर्न दिन्छ ।

आठौं मन्त्र: अफवाहप्रति ध्यान दिनुहोस्
वारेन बफेटका अनुसार कुनै पनि सेयरमा लगानी गरेपछि त्यसको मूल्यमा पटक पटक ध्यान दिनू गलत बानी हो । त्यो सेयरलाई  केही समयसम्म छाडिदिनुपर्छ । सेयर बजारमा अफवाह खूबै चल्छ । यसकारण यस्ता अफवाहबाट लगानीकर्ताले बच्न पनि आवश्यक छ । ज्यादा रिटर्नको लालच पाल्दै नपाल्नुहोस्, यदि तपाईले १५ देखि २० प्रतिशतसम्मको रिटर्न देख्नुभयो भने त्यस्ता सेयरमा लगानी गरे हुन्छ ।