काठमाण्डौ । काम थालिएको लामो समयपछि नेपाल स्टक एक्सचेञ्जले निर्माण गरेको मार्जिन कारोबार सम्बन्धी कार्यविधिलाई पारित गर्दै धितोपत्र बोर्डले त्यसलाई कार्यान्वयनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको छ । 

बोर्डको जेठ ३ गते बसेको बैठकले नेप्सेबाट २०७५ बैशाख १९ गते सुधारसहित प्राप्त भएको कार्यविधिलाई कार्यान्वयनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बोर्डबाट प्राप्त निर्देशनलाई जतिसक्दो चाँडो कार्यान्वयनमा ल्याउने बताए । यसको अर्थ अब निकट भविष्यमदेखि नै लगानीकर्ताले ब्रोकरहरुबाटै मार्जिन लोन(सेयरधितो कर्जा) लिएर सेयरमा लगानी गर्न सक्नेछन् । यसअघिजस्तो मार्जिन ऋणका लागि बैंकमै जानुपर्ने बाध्यता समेत अन्त भएको छ ।

लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले २०७४ कात्तिक २० गते मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरी सोही निर्देशनको व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमीटेडलाई मार्जिन कारोवार सुविधा सम्वन्धी कार्यविधि बनाउन भनेको थियो । नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यविधि बनाई वोर्डमा पेश गरेकोमा उक्त कार्यविधिमा आवश्यक सुधार गरी पेश गर्न नेप्सेलाई पुनः पत्राचार गरिएको थियो । सोही बमोजिम नेप्सेबाट सुधार गरी पठाइएको कार्यविधि पारित भएको हो ।

बोर्डको निर्देशन बमोजिम नेप्सेले छिट्टै उक्त कार्यविधि कार्यान्वयमा ल्याउने र सोबाट धितोपत्रको दोस्रो बजारमा नयाँ अध्याय थपिने  बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । 

दक्षिण एसियाका कतिपय मुलुकहरुमा समेत कार्यान्वयनमा आइनसकेको यो सुविधावाट दोस्रो बजारको तरलतामा अभिबृद्धि हुने, लगानीकर्ताहरुलाई शेयर खरिद बिक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुन गई धितोपत्र कारोवार बढी गतिशिल हुने बोर्डको दाबी छ ।

के हो मार्जिन कारोबार, कसरी गर्ने ?
आफूसँग सेयर किन्न पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन कारोबार भनिन्छ । भन्नुको अर्थ तपाईले सेयर किन्न चाहनुभयो, तर पर्याप्त पैसा भएन भने नपुगेको पैसा तपाईले आफ्नो ब्रोकर कम्पनीबाट लोन लिन सक्नुहुन्छ । अर्को अर्थमा सेयर ब्रोकरहरुले समेत ब्याज वा अन्य शुल्क लिएर लगानीकर्तालाई सेयरलोन दिई हुने किनबेचलाई मार्जिन कारोबारको रुपमा बुझ्नुपर्दछ । 

कम्तीमा १० हजार सेयरधनी भएको र पछिल्लो दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश दिएका सूचिकृत कम्पनीका सेयर किन्नलाई मात्र मार्जिन कर्जा दिन सकिनेछ । त्यस्तै, दोस्रो बजारमा कम्तीमा पनि दैनिक ८० प्रतिशत सेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेका कम्पनीलाई मात्रै मार्जिन सुविधा दिन सकिने कानूनी व्यवस्था छ ।

यस्तै, सूचीकृत कम्पनीको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशतले  हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिनुपर्नेछ । ब्रोकरहरुले आफ्नो नेटवर्थको २ गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउने कार्यविधिमा उल्लेख छ । 

कार्यविधिमा एउटा ब्रोकरले आफ्नो खुद सम्पत्तिको दुई गुणा अर्थात १० करोड रुपैयाँसम्म मात्र मार्जिन ल्याण्डिङ्ग सुविधा उपलब्ध गराउनसक्नेछ । हाल ५० वटा स्टक ब्रोकर कम्पनीहरु अस्तित्वमा छन्, यसको अर्थ प्रत्येकले १० करोड रुपैयाँका दरले हिसाब गर्दा पनि कुल ५ अर्ब रुपैयाँ बराबरको ऋण सेयर खरीदका लागि लगानीकर्तामा प्रवाह गर्न पाउनेछन् ।

मार्जिन लोन बढीमा तीन महिनासम्मको लागि दिइन्छ । तीन महिनापछि यसलाई नविकरण गर्न सकिन्छ । यसका लागि लगानीकर्ताले ब्रोकरसँग सम्झौता गर्नुपर्ने हुन्छ । सम्झौतामा सुरुको मार्जिन कति हुने, सम्भार मार्जिन कति हुने, मार्जिन कल कसरी गर्ने, मार्जिन कल नहुँदा रेखदेख कसरी गर्ने र त्यसको हिसाबकिताब कसरी राख्ने भन्ने विषयहरु समेटिन्छन् ।

कार्यविधिमा एउटा लगानीकर्ताले एउटा ब्रोकरसँग मात्रै मार्जिन कारोबार गर्नसक्ने व्यवस्था गरिएको छ । सम्झौता गर्ने समयमा नै लगानीकर्ताले एउटा ब्रोकरबाट मात्र कारोबार गर्ने स्वघोषणा गर्नुपर्छ । सेयर ब्रोकरले पहिले लगानीकर्ताको सामथ्र्यताको अध्ययन गरेर मात्रै मार्जिन लोन उपलब्ध गराउँछ । लोन लिन चाहने लगानीकर्ता सन्तुष्ट छ कि छैन, उसलाई लोन दिनु उपयुक्त छ कि छैन, भन्ने विषयमा अध्ययन गरेर उचित लागेपछि मात्रै ब्रोकरले मार्जिन लोन दिनेछ । 

धितोपत्र बोर्डका अनुसार मार्जिन कारोबारको लागि एउटा छुट्टै खाता खोलिएको हुन्छ । मार्जिन कारोबार गरिएको सेयर त्यसै खातामा जम्मा हुन्छ भने बैंक हिसाब पनि मार्जिन खातामा नै राखिन्छ । मार्जिन कारोबारको उक्त अभिलेख दैनिक रुपमा राखेर नेप्सेलाई जानकारी गराउनुपर्ने हुन्छ । यो विषयमा लगानीकर्ताले पनि जानकारी दिनुपर्छ । 

प्रावधान अनुसार सेयर कारोबारी र ब्रोकरबीचमा सम्झौता भइसकेपछि सुरुको मार्जिन रकम सेयर कारोबारीले ब्रोकरको मार्जिन एकाउन्टमा राख्छ र १०० प्रतिशतको सेयर खरिद गर्छ । सेयर मूल्य घटेर ४० प्रतिशतभन्दा तल गयो भने मार्जिन कल हुन्छ । त्यसपछि, सेयर कारोबारीले नगद तिर्नुपर्ने हुन्छ । वास्तविक मार्जिन ३० प्रतिशत वा सोभन्दा तल झर्यो भने ब्रोकरले सेयर बिक्री गरिदिनसक्नेसम्मको सुविधा छ ।