-राजु पौडेल

सेयर शिक्षा भाग-३ मा दोस्रो बजारबाट सेयर कसरी खरिदबिक्री गर्ने भन्ने बारेमा जानकारि गराएको थिएँ भने आज सेयर शिक्षा भाग-४ मा अक्सन सेयर के हो, यो सेयरमा कसरी लगानी गर्ने भन्ने बारेमा जानकारी दिनुका साथै हकप्रद सेयर र बोनस सेयरको बारेमा पनि जानकारी दिने कोशिश गरेको छु ।

अक्सन सेयर के हो ? यो सेयरमा कसरी गर्ने लगानी ?
प्रायः हिजोआज सेयर बजारमा धेरै नेपाली जनताको चासो ह्वात्तै बढेको छ । सेयरमा लगानी गर्ने प्रवृति बढेसँगै अक्सन सेयरमा पनि धेरै लगानीकर्ताहरुको रुचि र चासो बढेको छ । अक्सन सेयरमा लगानी गर्नुअगाडि अक्सन  सेयरको बारेमा बुझ्ने हो कि ? 

कम्पनीले निष्कासन गरेको हकप्रद सेयर विविध कारणले सबै बिक्रीका हुँदैन । बिक्री नभएको हकप्रद सेयर वा अन्य सेयर पुनः बिक्रीका लागि सम्बन्धित संस्थाहरुले बोलकबोल आह्वान गर्दछन्  । यसरी कम्पनीले बिक्री नभएको सेयर पुनः बिक्री गर्नका लागि बोलकबोलमार्फत बिक्री गर्ने सेयरलाई अक्सन सेयर भनिन्छ । हिजोआज धेरै कम्पनीले चुक्तापुँजी पुर्याउन अत्यधिक मात्रामा  हकप्रद सेयर निश्कासन गरेका र उक्त हकप्रद सेयर विविध कारणले पूरै बिक्री नभएर बोलकबोल मार्फत बिक्री गर्ने परिपाटी छ ।  लगानीकर्ताहरुले अक्सनमा राखेका सेयरको खरिद गर्दा आवश्यक कागजातको आपूर्ति नगर्दा आवेदन खारेज भइरहेको पनि हुन्छ । अक्सन सेयर खरिदका लागि आवश्यक कागजात आवेदनका साथमा पेश गर्नु पर्दछ । प्रोमोटर अक्सन सेयरका लागि आम्दानीको स्रत, ट्याक्स क्लियरेन्स प्रमाणपत्र, कालोसूचिमा नपरेको प्रमाणपत्र र गुड फर पेमेन्ट चेक जस्ता कागजात आवश्यक पर्दछन् भने साधारण अक्सन सेयरमा आवेदनका लागि गुड फर पेमेन्ट चेक मात्र आवेदन फारम साथ बुझाउँदा हुन्छ । 

कसरी गर्ने अक्सन सेयरमा आवेदन ?
प्राय अक्सन शेयर खरिद गर्न आवेदन फारम कम्पनीले नियुक्ति गरेको इस्यु म्यानेजरको कार्यालयबाट प्राप्त गर्न सकिन्छ । प्रत्येक फारमको रु १०० शुल्क लाग्दछ । कम्पनीले उल्लेख गरेका सम्पूर्ण कागजातहरु आवेदनसँग संलग्न गर्नुपर्ने हुन्छ । खरिद गर्न चाहेको शेयरको कुल रकम बापत निवेदकले उल्लेखित बैंकको खातामा रकम जम्मा गरिदिनुपर्ने हुन्छ अथवा फारमसंगै गुड फर पेमेन्ट चेक बुझाउनुपर्ने हुन्छ ।

लगानीकर्ताले आफूले तिर्न चाहेको मूल्य तोकेर आवेदन दिन सक्छन् । लगानीकर्ताले आफूले चाहेको मूल्यमा आवेदन दिन सकिने भएता पनि अहिलेको अवस्थामा बजार मूल्यकै आसपासमा रहेर आवेदन दिनेहरूले मात्र अक्सन सेयर पाएको अवस्था देखिन्छ, तर सबै कम्पनीमा यस्तो हुँदैन । कतिपय कम्पनीको अक्सन सेयर बिक्री नभएर पुनः अक्सन गरेको अवस्था पनि  छ भने कतिपय कम्पनीको अक्सन सेयर बजार मूल्य भन्दा पनि बढीमा बोलकबोल भएको अवस्था पनि छ । कम्पनीको वित्तीय अवस्था र दोस्रो बजारको ट्रेन्डलाई विश्लेषण गरेर मात्र अक्सन सेयरमा बोलकबोल गर्दा लगानीकर्तालाई फाइदा हुने देखिन्छ ।

बोलकबोलमा कसरी छानिन्छ आवेदन ?
बोलकबोलमा आवेदन छनौट गर्ने विभिन्न तरिका हुन्छन्, कतिपय बोलकबोलमा पहिले उच्च मूल्य तिर्नेबाट क्रमशः त्यसपछिको कमका लागि सेयर छुटाउने गरिन्छ । यसरी छुट्याउदै जाँदा जुन मूल्यमा पुग्दा बिक्री गरिने पूरै सेयर सकिन्छ, त्यहीँ नै बिक्री मूल्य तय हुन्छ । अधिकतम मूल्यका लागि मागिएको परिमाणदेखि  कट अफ रेटसम्म आईपुग्दा त्यसपछि बिक्रीका लागि सेयर बाँकी नरहने हुँदा त्यसपछिको आवेदन स्वतः रद्ध हुन्छ । नेपाल को परिवेशमा भने बोलकबोलमा सेयरमूल्य निर्धारण गर्दा यसभन्दा केही फरक तरिका अपनाइन्छ । यहाँ बोलकबोलमा पहिला उच्च मूल्य तिर्नेबाट क्रमशः त्यसपछि कमका लागि सेयर छुट्याउँदै गइन्छ । यसरी सेयर छुट्याउँदै जाँदा जुन मूल्यमा पुग्दा बिक्री गरिने पूरै सेयर सकिन्छ, त्यसलाई कट अफ रेट भनिन्छ ।

बोलकबोलका शेयरहरु प्राय छोटो समयका लागि मात्रै बिक्रीका लागि खुल्ला गरिन्छ । बोलकबोलमा सबैभन्दा बढी मूल्य बोली लगाउने लगानीकर्तालार्इ नै माग गरे बमोजिमको शेयर दिइन्छ । यदि दुई अथवा बढी लगानीकर्ताले एउटै मूल्यको बोली लगाएको खण्डमा मिलाएर शेयर बाँडफाँट गरिन्छ । शेयर नपरेका लगानीकर्ताहरुलाई सात दिनभित्र रकम फिर्ता गरिन्छ ।

अक्सन शेयर खरिदका फाईदा 

  • लगानीकर्ताले संस्थाबाट नै सिधा सेयर खरिद गर्ने भएकाले ब्रोकर कमिसन र सेवोन कमिसन तिर्नु पर्दैन ।
  • छिट्टै बजारमा लिस्ट हुन्छ ।
  • बजारबाट एकैपटक ठूला ठूला सेयर कित्ता खरिद गर्न निक्कै गाह्रो हुन्छ, तर अक्सन सेयर सजिलै ठूलो भोल्युममा खरिद गर्न सकिन्छ ।
  • लगानीकर्ताले आईपीओ र एफपिओमा  आवेदन गर्छन भने उक्त रकम धेरै दिनसम्म कम्पनीले होल्ड गरेर राखिदिन्छ । तर अक्सन सेयर भर्दा, बाँडफाँड हुँदा र रकम फिर्ताको दिनको समय अवधिमा नै सम्पन्न हुन्छ । आदि फाईदा हुने भएकाले अहिले सेयर  लगानीकर्ताहरुको ध्यान अक्सन सेयरतर्फ अधिक गएको पाइन्छ भने कतिपय लगानीकर्ताहरुले अक्सन सेयरबाट छोटो समयमा नाफा कमाउन  बजार मूल्यभन्दा बढी मूल्यमा बोलकबोल लगाएका हुन्छन् ।

कति मूल्यमा अक्सनको सेयर किन्ने ?
लगानीकर्ताहरुको सबैभन्दा ठूलो चासोको बिषय भनेको नै अक्सन सेयरमा कति मूल्य लगाउँदा उचित होला भन्ने हुन्छ  । अहिलेको ट्रेन्डलार्इ राम्ररी हेर्ने हो भने प्राय लगानीकर्ता जसले कम्पनीको सोही दिनको बजार मूल्यको ९० देखि ९२ प्रतिशतले बोली लगाएका छन्, तिनै लगानीकर्ताहरु प्रायः सफल भएका छन् । तर कति मूल्य लगाउने भन्ने कुरा कम्पनीको वित्तीय अवस्था, बजारको अवस्था हेरेर हुन्छ । उचित मूल्य लगाउन सकेमा अक्सन सेयरबाट उचित नाफा लिन सकिन्छ ।

हकप्रद सेयर (Right Share) के हो ?
विगतमा सर्वसाधारणमा साधारण सेयर निष्कासन गरिसकेको कम्पनीले भबिष्यमा पुनः साधारण सेयर निष्कासन गर्ने भएमा त्यसरी निष्कासन गरिने सेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान सेयरवालाहरुलाई प्राप्त हुन्छ । यसप्रकार पुनः निष्कासन गरिने सेयरमा विद्यमान सेयरवालाहरुको पहिलो हक हुने भएकोले त्यस्तो सेयरलाई हकप्रद सेयर भनिन्छ । 

लगानीकर्ताले हकप्रद सेयर खरिद गर्न तोकिएको दरमा मूल्य तिर्नुपर्ने हुन्छ जस्तैः १ बराबर १ अर्थात १ को अनुपातमा १ हकप्रद सेयर जारी गर्ने भनिएमा सो कम्पनीको १०० कित्ता सेयर हुनेले कम्पनीबाट एक कित्ताको रु १०० रुपैया तिरेर थप १०० सेयर किन्न पाउँछ । हकप्रद सेयर जारी गर्दा अनुपात वा प्रतिशतमा जारी गरिएको हुन्छ । जस्तो एक बराबर एकको अनुपातलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन भन्ने बुझिन्छ । हकप्रद सेयर सेयरधनीले किन्नै पर्छ भन्ने बाध्यता हुँदैन, पूरै किन्न पनि सक्छ वा आंशिक रुपमा किन्न पनि सक्छ र नकिन्न पनि सक्छ । कम्पनीले हक हस्तान्तरणको व्यवस्था गरेमा आफूले किन्न पाउने हकप्रद सेयर अरु कसैलाई हस्तान्तरण गर्न पनि सक्छ । हकप्रद सेयर जारी गरिसकेपछि कम्पनीको सेयरमूल्य समायोजन भर्इ मूल्य घट्छ । हकप्रद सेयरको मूल्य समायोजन गर्ने सुत्र यस्तो हुन्छ:

बुक क्लोज अघिको एक सेयरको मुल्य+एक सेयरमा प्राप्त हुने हकप्रद सेयरको मुल्य /१+एक सेयरमा प्राप्त हुने हकप्रद सेयरको अनुपात 

जस्तैः एउटा कुनै कम्पनीको बुको क्लोज अगाडिको सेयर मुल्य १००० छ उक्त कम्पनीले १:१ हकप्रद सेयर जारी गर्ने भएमा बुक क्लोजपछी सेयरको मुल्य रु ५५० हुन्छ  

हकप्रद सेयर जारी गर्दा बुक क्लोजपछिको मुल्य= रु १०००+ रु १००/१+१=रु ५५० हुन्छ ।

हकप्रद सेयर खरिद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान सेयरवालाहरुलाई स्वतन्त्रता हुन्छ । विद्यमान सेयरवालाहरुले आफूले पहिले खरिद गरेको सेयरको अनुपातमा हकप्रद सेयर खरिद गर्ने अधिकार प्राप्त गर्छन् ।

बोनस सेयर(Stock Dividend) के हो ?

कम्पनीको विद्यमान सेयरधनीहरुलाई बिना कुनै मूल्य वितरण गरिने सेयरलाई बोनस सेयर भनिन्छ । यस्तो सेयर कम्पनीको मुनाफा वा बाँड्नयोग्य मुनाफाको रकमबाट वितरण गरिन्छ । बोनस सेयर सामान्यतया सेयरधनीले लिएको सेयर संख्याको आधारमा वितरण गरिन्छ । मानौ कुनै लगानीकर्तासंग कुनै कम्पनीको ३०० कित्ता सेयर छ, कम्पनीले ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेपछि अब उक्त लगानीकर्तासँग ९० कित्ता सेयर थपिएर ३९० कित्ता सेयर हुन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पुँजीकरण गर्नका लागि विद्यमान सेयरवालाहरुलाई यस प्रकार थप सेयर अर्थात बोनस सेयर प्रदान गरिन्छ वा चुक्तापुँजी वृद्धि गरिदिन्छ । नेपालको कम्पनी ऎन २०६३ अनुसार बोनस सेयर भनेको कम्पनीको मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी सेयरधनीहरुलाई अतिरिक्त सेयरको रूपमा जारी गरिएको सेयर सम्झनु पर्दछ र यो शब्दले बचत वा जगेडा कोषलाई पुँजीकरण गरी सेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाँउछ । 

यसप्रकार बोनस सेयर भनेको कम्पनीको नाफा वा जगेडा कोषबाट विद्यमान सेयर लगानीकर्ताहरुलाई दिइने सेयर प्रतिफल हो ।

बोनस सेयरपछि को मुल्य समायोजन कसरी गर्ने, हेर्नुहोस यो सुत्र:

बुक क्लोज भन्दा अघिल्लो दिनको सेयरको मुल्य / १+बोनस सेयर दर
जस्तैः कुनै कम्पनीको ५०० कित्ता सेयर छ उक्त कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेछ भने बुक क्लोजपछिको मुल्य निम्नअनुसार हुन्छ ।
रु ५००/१+०.३०=रु ३८५ हुन्छ ।

लगानीकर्ताहरुले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्दा मनन् गर्नुपर्ने कुरा के छ भने उक्त कम्पनीले विगत पाँच वर्षमा कतिको दरले बोनस सेयर दिंदै आएको छ ? बोनस सेयरलाई जोड दिएको छ कि नगद लाभांश वा हकप्रद सेयरलाई जोड दिएको छ ? अध्ययन गरेर बोनस सेयर बढी दिने कम्पनीको सेयरमा लगानी गर्नु बढी फाइदाजनक हुन्छ । अर्को विचार पुर्याउनुपर्ने कुरा के छ भने लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर किन्नु अगाडि उक्त कम्पनीको बुक क्लोज भएको छ कि छैन बुझनु पर्दछ । बुक क्लोज भइसकेको कम्पनीको सेयर खरिद गर्दा बोनस सेयर, नगद लाभांश र हकप्रद सेयर पाइदैन । बुक क्लोजको सूचना कम्पनीले निकाल्दछ । आदि कुराहरुलाई मनन गरेर उपयुक्त कम्पनीको सेयरमा लगानी गर्नुहोस्, बजार जति घटे पनि आत्तिनुपर्दैन ।
(लेखक नेपाल पुँजीबजार लगानीकर्ता संघका कोषाध्यक्ष हुन् ।)