-राजु पौडेल

सेयर शिक्षा भाग तीन र चारमा मैले नयाँ लगानीकर्ताहरुलाई दोस्रो सेयर बजारको बारेमा जानकारी दिने जमर्को गरेको थिएँ । तपाईहरुले सेयर शिक्षा भाग तीन र चार पढिसकेपछि अब तपाईहरु दोस्रो बजारमा प्रवेश गर्नसक्ने अवस्थामा पुग्नु भयो होला भन्ने आशा गर्दछु । आज म दोस्रो बजारमा सेयर कारोवार गर्नुभन्दा अगाडि दोस्रो बजारको बारेमा धेरै बुझेर अध्ययन गरेर मात्र सेयरमा लगानी गर्नुहोला भन्ने अनुरोध गर्दछु । दोस्रो बजारमा सेयर कारोबार गर्दा कसैको लहलहैमा लागेर, हल्लाको पछाडि दौडेर, साथीभाईको उक्साहटमा लागेर, छिमेकीले सेयर कारोवारबाट गरेको आर्थिक प्रगतिलाई हेरेर छिमेकी घोडा चढ्यो भनेर तपाई भैंसी चढ्ने होईन कि आफैं बजार र कम्पनीकोको वित्तीय अवस्थाको बारेमा गहिरो अध्ययन गरेर बजारलाई बुझेर मात्र लगानी गर्नु भयो भने तपाई एक सफल लगानीकर्ता हुन सक्नु  हुनेछ, होईन भने तपाई पनि असफल र सेयर बजारमा लागेर कमाउनेभन्दा गुमाउने लगानीकर्ताको दर्जामा पर्नु हुनेछ । 

दोस्रो बजार प्राथमिक बजार भन्दा पक्कै पनि बढी जोखिम भएको बजार हो । यो बजारमा प्रवेश गर्नु जूवा घर होईन, यो एउटा कला र विज्ञान हो । जसले यो कला र विज्ञानलाई सिकेर यो बजारमा प्रवेश गर्छ, उसले अवश्य पनि आर्थिक प्रगति गर्न सक्छ । त्यस कारण आज म सेयर शिक्षा भाग ५ मा दोस्रो बजारमा कम्पनी छनौट गर्दा हेर्नुपर्ने  कम्पनीका ज्यादै महत्त्वपूर्ण सुचकहरुमध्ये प्रतिसेयर आम्दानी  र मूल्य आम्दानी अनुपातको बारेमा  विस्तृत जानकारी दिन गइरहेको छु ।

प्रतिसेयर आम्दानी भनेको के हो ? यो कसरी निकालिन्छ ?
करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ भने करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहने नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । प्रतिशेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण  लगानीकर्तालाई दिने प्रतिफल को आधार पनि हो । अतः प्रतिसेयर आम्दानी कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्त्वपूर्ण औजार पनि हो ।

प्रतिसेयर आम्दानी निकाल्ने सूत्र यस प्रकार छः 
प्रतिसेयर आम्दानी.करपछिको नाफा÷कुल साधारण सेयरको जम्मा संख्या 

मानौ एउटा कम्पनीको चुक्तापुँजी एक अर्ब छ भने उक्त कम्पनीको सेयर संख्या एक करोड हुन आउँछ अर्थात एक सय अंकित मूल्य भएका सेयरको संख्या एक करोड हुन्छ, यसलाई सूत्रमा देखाउँदा  चुक्तापूँजी÷सेयरको अंकित मूल्य।

सेयरको अंकित मूल्य सय हुँदा एक अर्ब चुक्तापुँजी भएको कम्पनीको सेयरको संख्या एक करोड हुन आउँछ । मानौ, उक्त कम्पनीले यो वर्ष रु ३० करोड मुनाफा गर्न सफल भयो भने उक्त कम्पनीको प्रतिसेयर आम्दानी रु ३० हुनु आउँछ, ३० करोड मुनाफा ÷ १ करोड सेयर संख्या अर्थात एककित्ता सेयरले यो वर्ष ३० रुपैयाँ कमाउन सफल भएको देखियो । 

दोस्रो बजारमा सेयर कारोवार गर्ने लगानीकर्ताले कम्पनी छनौट गर्दा प्रतिसेयर आम्दानीको बारेमा जान्न धेरै जरुरी छ । कम्पनीको प्रतिसेयर आम्दानीले उक्त कम्पनीको आर्थिक स्वस्थता र सवलता कस्तो छ भन्ने कुराको जानकारी दिन्छ ।  कुनै पनि कम्पनीको प्रतिसेयर आम्दानी निकालेपछि मूल्य आम्दानी अनुपात पनि सजिलै पत्ता लगाउन सकिन्छ । कम्पनीको खुद मुनाफाबाट प्रत्येक सेयरमा कति आम्दानी आउँछ भन्ने कुराको जानकारी प्रतिसेयर आम्दानीले दिन्छ । दोस्रो बजारमा कम्पनी छनौट गर्दा प्रतिसेयर आम्दानी अधिक भएको कम्पनी छनौट गर्नुपर्दछ । प्रतिसेयर आम्दानी अधिक भएको कम्पनीले बोनस पनि अधिक दिन्छ । तर, कुनै एक दुई बर्षमा प्रतिसेयर आम्दानी धेरै हुँदैमा त्यो कम्पनी राम्रो मान्न सकिन्न। कम्पनी राम्रो हुन प्रतिसेयर आम्दानीको ट्रेन्ड बढदो क्रममा हुनुपर्छ । प्रतिसेयर आम्दानी बढदो ट्रेन्डमा छ भने कम्पनीको आम्दानी पनि बढदो क्रममा छ भन्ने बुझिन्छ । आम्दानी बढ्दो अबस्थामा भएको कम्पनीको सेयरमूल्य बढछ भने बोनस पनि धेरै दिने सम्भावना हुन्छ । प्रतिसेयर आम्दानी र सेयर मूल्यको सम्बन्ध सकारात्मक हुन्छ, प्रतिसेयर आम्दानी बढ्दै जादा कम्पनीको सेयर मूल्य पनि बढ्दै जान्छ । प्रतिसेयर आम्दानी घटदै जादा कम्पनीको सेयरमूल्य पनि घट्दै जान्छ । सेयर संख्या बढ्दै जादा प्रतिसेयर आम्दानी पनि घटदै जान्छ । कम्पनीको नाफाको मुल्यांकन गर्दा कुल नाफा भन्दा प्रतिसेयर नाफा हेर्नुपर्दछ । कतिपय कम्पनीको कुल नाफा अधिक भएर पनि प्रतिसेयर आम्दानी कम हुनसक्छ । त्यसकारण दोस्रो बजारमा कम्पनी छनौट गर्दा प्रत्येक वर्ष प्रतिसेयर आम्दानी बढाउँदै लगेको कम्पनी छनौट गर्नु सेयर लगानीको दृष्टिकोणले सुरक्षित मानिन्छ । सामान्यतया प्रतिसेयर आम्दानी रु २० भन्दा माथि भएको कम्पनी राम्रो मानिन्छ । यसरी दोस्रो बजारमा कम्पनी छनौट गर्दा बुझ्नुपर्ने महत्त्वपूर्ण औजार हो प्रतिसेयर आम्दानी ।

मूल्य आम्दानी अनुपात भनेको के हो ? यो कसरी निकालिन्छ  ?
कम्पनीको तत्कालको सेयर मूल्यलाई पछिल्लो प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै मूल्य आम्दानी अनुपात हो । दोस्रो बजारमा कारोवार भएका र नाफा कमाएका कम्पनीको मात्र मूल्य आम्दानी अनुपात निकाल्न सकिन्छ । यदि कम्पनी घाटामा गएको छ भने मूल्य आम्दानी अनुपात निकाल्न सकिदैन । कम्पनीले कमाएको एक रुपैयाँ बराबर आम्दानीको लागि लगानीकर्ताले कति तिर्न तयार हुन्छ भन्ने कुरालाई मूल्य आम्दानी अनुपातले देखाउँछ । जस्तै कुनै कम्पनीको अहिले बजार मूल्य रु ९०० छ र उसको प्रतिसेयर आम्दानी रु ३० छ भने ९००÷३०. ३० गुणा अनुपात निक्लन्छ । यसको मतलब कम्पनीले कमाएको एक रुपैयाँ आम्दानी बराबर बजारमा लगानीकर्ताले ३० रुपैयाँ तिरिरहेको छ भन्ने बुझिन्छ । 

कुनै पनि कम्पनीको सेयरको मूल्य अनुपातको बारेमा बुझेर तपाईहरु सजिलैसँग यो अन्दाज लगाउन सक्नुहुन्छ कि उक्त कम्पनीको मूल्य आगामी दिनमा कत्तिको बढ्न सक्दछ । मूल्य आम्दानी अनुपात दुई कम्पनीबीच तुलना गर्ने एउटा महत्वपूर्ण औजार हो । सेयरमा लगानी गर्दा तुलनात्मक रूपमा कम मूल्य अनुपात भएका कम्पनी छनौट गर्नुपर्छ । सामान्यतया मूल्य आम्दानी अनुपात १० देखि २० गुणासम्म भएको सेयर सही मूल्यांकन भएको मानिन्छ । ० देखि १० गुणासम्म मूल्य आम्दानी अनुपात भएका सेयरहरु या त वास्तविक मूल्यभन्दा कम मूल्यांकन भएको मानिन्छ या हाल कम्पनीको आम्दानी अप्रत्यासित रूपमा वृद्धि भई उक्त अनुपात कम हुन गएको भन्ने बुझिन्छ । त्यसैगरी, २० देखि २५ गुणासम्म अनुपात भएका सेयर या त बढी मूल्यांकन भएका मानिन्छ या यसले भविष्यमा कम्पनीको आम्दानी उच्च हुने संकेत गर्दछ । २५ गुणाभन्दा माथि मूल्य आम्दानी अनुपात भएका सेयरहरु या त धेरै अनियमितता वा सट्टेबाजी गर्न खोजिएको मानिन्छ । बजारमा यस्ता सम्भावना छैन भने त्यस्ता कम्पनीको आम्दानी भबिस्यमा उच्च दरले वृद्धि हुने सम्भावना छ भन्ने बुझिन्छ ।

अब तपाईहरु कुनै पनि कम्पनीको सेयर मूल्यको इतिहास हेर्नुहोस । यसको अधिकतम मूल्य आम्दानी अनुपात कति थियो, अहिले कति छ त्यसको आधारमा बजारमा उक्त सेयरको मूल्य बढ्ने वा घट्ने सम्भावना कत्तिको छ भनेर पत्ता लगाउन सकिन्छ । मूल्य आम्दानी बढी भएको सेयरलाई ओभर भ्याल्युड मानिन्छ यसको मतलब कम्पनीको आम्दानी वा आम्दानी गर्ने क्षमता भन्दा बढी मूल्यमा कम्पनीको सेयर कारोवार भइरहेको छ भन्ने बुझिन्छ । 

यस्ता कम्पनीको सेयरमा लगानी नगर्नु नै उचित हुन्छ । 

अन्त्यमा प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपात कम्पनी छनौट गर्ने महत्वपूर्ण औजार भएता पनि दोस्रो बजारमा प्रवेश गर्न चाहनुहुन्छ भने यी औजारको बारेमा बुझ्नुको साथै बजारको ट्रेन्ड, देशको राजनीतिक तथा आर्थिक वातावरण, विश्व परिवेश आर्थिक मन्दी तथा समृद्धिको अवस्था राजनीतिक घटनाक्रम, प्राविधिक तथा नीति नियममा भएका परिवर्तनको साथसाथै कम्पनी र बजारको बारेमा विस्तृत अध्ययन गरेर मात्र प्रवेश गर्नुहोला, अन्यथा सेयर बजारले करोडपतिबाट रोडपति बनाइदिन बेर लाग्दैन ।

(लेखक नेपाल पुँजीबजार लगानीकर्ता संघका कोषाध्यक्ष हुन् ।)