काठमाण्डौ । सेयर बजारका लगानीकर्ताले साउन १ गतेदेखि क्लोज आउटबापत प्राप्त लाभ रकमको २५ प्रतिशत कर तिर्नुपर्ने भएको छ । 

सिडिएससीले सोमबार सबै राफसाफ सदस्यलाई एक परिपत्र गर्दै साउन १ देखि क्लोज आउट रकममा २५ प्रतिशतको दरले आकस्मिक लाभकर उठाउन निर्देशन दिएको हो । 

'क्लोजआउटबापत जसले रकम पाउँछ, त्यो लाभमा २५ प्रतिशत कर उठाउन भनी हामीले परिपत्र गरेका हौ ।' सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बिजशालासँग भने-'महालेखा परीक्षकको कार्यालयको निर्देशन अनुसार हामीले क्लोजआउट रकममा लाभकर असूल्न ब्रोकरहरुलाई परिपत्र गरेका हौ ।' 

धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९(संसोधनसहित)को विनियम २१ को उपविनियम(२) बमोजिम धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट गर्दा धितोपत्र नपुग भई लाग्ने क्लोजआउट भएको रकममा आयकर ऐन, २०५८ को दफा ८८(क) बमोजिम आकस्मिक लाभकर २५ प्रतिशत लाग्ने व्यवस्था भए अनुसार साउन १ देखि हुने कारोबारमा सोही बमोजिम आकस्मिक लाभकर असूल्नुपर्ने सिडिएससीले दिएको निर्देशनमा उल्लेख छ । 

न्यौपानेका अनुसार कसैले सेयर बेच्यो, तर डेलिभरी दिन सकेन  भने क्लोजआउट हुन्छ । त्यस्तो अवस्थामा बिक्रेताले क्रेतालाई २० प्रतिशतको दरले जरीवाना तिर्नुपर्छ । सेयर आपूर्ति गर्न नसकेको अवस्थामा बिक्रेताले जरीवाना तिर्दा क्रेतालाई २० प्रतिशत नाफा हुन्छ । अहिले सिडिएससीले त्यसरी हुने नाफामा २५ प्रतिशत लाभकर उठाउन निर्देशन दिएको हो । 

नेपालको सेयर बजारमा क्लोजआउटका घटना निकै धेरै हुने गरेका छन् । सेयर डेलिभरी गर्न नसकेका कारण बिक्रेताले सयदेखि करोडसम्म जरीवाना तिरेका उदाहरण समेत रहेका सिडिएससीका अधिकारीहरुको भनाई छ ।