काठमाण्डौ । वारेन बफेटलाई विश्वकै सबैभन्दा ठूला सेयर लगानीकर्ता मानिन्छ । विश्वका धनीहरुले हरेक समय उनलाई पछ्याइरहेका हुन्छन् र उनको एक इशारामा हजारौं करोड दाउमा समेत लगाउन पछि पर्दैनन् । उनले समेत आफूले गरेका प्राय हरेक लगानीबाट भारि रिटर्न प्राप्त गरेर फलोअरहरुको निरन्तर मन जित्दै आएका छन् । अब उनको कम्पनी वर्कसायर हाथ्वेले भारतीय डिजिटल पेमेन्ट कम्पनी पेटिएममा लगानी गरेको छ, र, भारतमा यो नै उनको पहिलो लगानी रहेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । उनले गरेको यो लगानीले पछिल्लो समय उनको लगानी रणनीतिमा परिवर्तनको संकेतको रुपमा समेत विश्लेषकहरुले हेरेका छन् । 

भारतका लागि बदलिँदो रणनीति
विश्वको सबैभन्दा ठूला लगानीकर्ताको रुपमा परिचित बफेटको कम्पनी वर्कसायर हाथ्वेले पेटिएमको मातृ कम्पनीमा २५०० करोड भारु(३५.६० करोड डलर)को हिस्सेदारी खरीद गरेको छ । कुनै पनि भारतीय कम्पनीमा वारेन बफेटको यो पहिलो लगानी हो । यसको सुरुवात भारतको फाइनान्सियल पेमेन्ट सेक्टरको साथमा भएको हो । 

वारेन बफेटको यो लगानी यसकारण महत्वपूर्ण हो, किनभने यसका लागि उनले आफ्नो लगानी रणनीति नै परिवर्तन गर्नुपर्यो । हालसम्म वर्कसायर हाथ्वले कन्ज्यूमर, इनर्जी तथा इन्स्योरेन्स सेक्टरमा मात्रै लगानी गर्दै आएको थियो । 

अरबौं मुनाफा कमाउँदै
वारेन बफेटले कैयन कम्पनीमा लगानी गर्दै आएका छन्, तर उनको ५ ठूला लगानीको बिषयमा कुरा गर्ने हो भने त्यहाँ उनले लगातार लगानी बढाउँदै लगेका छन् । कतिपय कम्पनीमा उनको लगानी २५ वर्ष भन्दा पुरानो भइसकेको छ । यस्ता कम्पनीमा उनले क्रमशः लगानी बढाउँदै गए र अहिले उनलाई वार्षिक अरबौं मुनाफा भइरहेको छ । उनले लगानीका लागि सुरुवाती समयमा केही सूत्र समेत बनाएका थिए, ती सूत्रमा उनी आजको दिनमा समेत दृढ नै छन् । यहीकारण उनले मोटो मुनाफा समेत आर्जन गरिरहेका छन् । यदि अरु लगानीकर्ताले पनि उनको सूत्रमा ध्यान दिने हो भने  सेयर बजारबाट जोकसैले मोटो रकम आम्दानी गर्नसक्छ ।

यी हुन् वर्कसायर हाथ्वले लगानी गरेका ५ टप कम्पनी
१.एप्पलको सबैभन्दा ठूलो लगानीकर्ता कम्पनी
वारेन बफेटले यो वर्ष मार्च क्वार्टरको दौरान एप्पल कम्पनीको ७.५ करोड नयाँ सेयर खरीद गरे । योसहित वारेनको कम्पनीसँग अब एप्पल कम्पनीको सेयर २४ करोड कित्ता जम्मा भएको छ । यसरी बफेटको कम्पनी एप्पलको सबैभन्दा ठूलो होल्डिङ कम्पनी बन्न सफल भएको छ । 

२.वेल्स फारगो एण्ड कम्पनी दोश्रो नम्बरमा
यो कम्पनीमा बफेटले १९८९ देखि नै लगानी गर्न थालेका थिए । पछि उनले यहाँ थोरै थोरै लगानी थप्दै गए । यो बेला समेत वर्कशायर हाथ्वेको कुल लगानीको करिब १४.५४ प्रतिशत यही कम्पनीमा लगानी छ । बफेटसँग हाल यो कम्पनीको ४५.८ करोड कित्ता सेयर रहेको छ, जसको अहिलेको मार्केट भ्यालू २७.८ अर्ब डलर रहेको छ । 

३.क्राफ्ट हेञ्ज कम्पनी
बफेटको तेश्रो ठूलो लगानी क्राफ्ट हेञ्ज कम्पनीमा रहेको छ । यो कम्पनी एक फूड कम्पनी क्राफ्ट फूड ग्रुप तथा हेञ्ज कम्पनीको बिलयपछि बनेको थियो । बफेटसँग यो बिलयभन्दा अगाडि नै हेञ्जको ५ करोड कित्ता सेयर रहेको थियो । यति नै सेयर एक कम्पनी थ्रीजी क्यापिटलसँग पनि थियो । कम्पनीको बिलयपछि बफेटसँग यो कम्पनीको ३२.५६ करोड कित्ता सेयर प्राप्त भयो । अहिले यसको मूल्य २५.३ अर्ब डलर रहेको छ । 

४. बैंक अफ अमेरिका
बफेटले सन् २००८ को मन्दीको बेला समेत यो बैंकको साथ छाडेनन् । र, उनको त्यही फैसला आज अरबौं रुपैयाँको मुनाफा आर्जन गर्न सफल देखिन्छ । वर्कसायर हाथ्वेको पोर्टफोलियोमा यो बैंकको होल्डिंग करिब १०.४८ प्रतिशत रहेको छ । यो बैंकको सेयर मात्र बफेटसँग ६७.९ करोड कित्ता रहेको छ । यसको मूल्य २० अर्ब डलर रहेको छ । बफेटको वित्तीय क्षेत्रको कम्पनीमा यो दोश्रो ठूलो लगानी हो ।  पहिलो नम्बरमा वेल्स फारगो एण्ड कम्पनी हो ।

५.कोकाकोलामा ५ औं ठूलो लगानी
कोकाकोला विश्वकै चर्चित कम्पनी हो र यो भारतमा समेत सक्रिय छ । अमेरिकामा सूचिकृत यो कम्पनीमा बफेटले सन् १९८० देखि नै लगानी गर्न थालेका थिए । अहिले उनको पोर्टफोलियोमा यो कम्पनीको हिस्सेदारी ९.६ प्रतिशत रहेको छ । उनको लगानीको मूल्य अहिले १८.३ अर्ब डलर रहेको छ । बफेटले यो कम्पनीमा अझै पनि लगानी गर्न सकिने मान्यता राख्छन् । उनले कोकाकोलामा थोरै थोरै गर्दै अझै पनि लगानी बढाइरहेका छन् । उनको भनाईमा यो कम्पनीसँग उत्कृष्ट उत्पादन छ र विश्वभर यो कम्पनीको वितरण प्रणाली पनि राम्रो छ ।