काठमाण्डौ । सेयर लगानीकर्ताले वर्षौदेखि राख्दै आएका माग पूरा गराउन सरकार गम्भीर नभएको भन्दै लगानीकर्ताको एक समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको मुख्य मागसहित रिले अनशन थाल्ने भएको छ ।

सेयर लगानीकर्ता दवाब समूहले मंसिर २३ गते आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज परिसमार रिले अनशन थाल्ने भएको हो । 

समूहले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई पूँजीबजार विरोधी अर्थमन्त्रीको उपमा समेत दिएको छ । 

रिले अनशन आइतबार बिहान १० बजेदेखि सुरु हुने बताइएको छ । 

दवाब समूहको तर्फबाट गोपाल कटुवाल स्वामी, कुमार सिटौला, गोपीकृष्ण थापा, दिपेन्द्र अग्रवाल, गणेश उप्रेती र कल्पना पाण्डेले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।