काठमाण्डौ । सेयर लगानीकर्ताहरुको दवाब समूहले थालेको अनसनमा राजनीति छिरेको छ । 

लगानीकर्ताको हकहित र सेयर बजारको बिस्तार विकाससँगै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामालाई मुख्य माग बनाएर थालिएको अनसनको पहिलो दिनमै राजनीति छिरेको हो । 

लगानीकर्ताहरुले थालेको अनसनलाई राष्टिय जनता पार्टी नेपालले समर्थन जनाएको छ । सो दलका संयोजक राजेन्द्र महतोले सेयर लगानीकर्ता दवाब समूहलाई एक पत्र पठाउँदै ऐक्यबद्धता जनाएको हो । 

‘देशको द्रूत आर्थिक विकासका लागि मेरुदण्डको रुपमा रहेको पूँजीबजारमा वर्तमान सरकारको गलत नीति र निर्णयका कारणले सर्वसाधारण लगानीकर्ताको खरबौं रकम गुम्न गई पूँजीबजार विचलित भएको र देशको सम्पूर्ण अर्थतन्त्र नै प्रभावित हुनसक्ने अवस्थाप्रति राजपा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’ महतले पठाएको पत्रमा भनिएको छ–‘सेयर लगानीकर्ता दवाब समूहबाट उठाइएका माग र जारी रिले अनसनप्रति राजपा नेपाल ऐक्यबद्धता जाहेर गर्दछ।’ 

राजपाले लगानीकर्ताले उठाएका माग अविलम्ब पूरा गर्न आवश्यक पहलकदमी लिन सरकारलाई आग्रह समेत गरेको छ ।