काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयर धितोमा कर्जा हुने कर्जालाई उच्च जोखिम क्षेत्रबाट हटाएको छ । 

केन्द्रीय बैंकले बुधबार एक सूचनामार्फत संसोधित व्यवस्थाको विषयमा निर्देशन जारी गरेको हो । 

सेयर लगानीकर्ताहरुले माग गरेअनुसार सेयर धितोमा प्रवाह हुने कर्जा उच्च जोखिमयुक्त क्षेत्रबाट हटेको छ भने ऋणपत्र र सेयर धितोमा प्रवाह हुने कर्जाको रिस्क वेटेज १०० प्रतिशत कायम गरेको छ । यसअघि सेयर धितो कर्जाको रिक्स वेटेज १५० प्रतिशत कायम थियो ।

यस्तै, राष्टबैंकले सेयर धितोमा मूल्यांकनको ५० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था समेत खारेज गरी त्यो सीमालाई ६५ प्रतिशत पुर्याएको छ । 

यसरी प्रवाह हुने कर्जाको हकमा सुरक्षण बापत राखिने सेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेञ्ज लिमीटेडबाट प्रकाशित पछिल्लो १८० कार्यदिनको अन्तिम मूल्यको औसत मूल्य र सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ६५ प्रतिशत रकमसम्म सेयर धितो कर्जा प्रवाह गर्नसकिने व्यवस्था भएको हो । 

राष्टबैंकले मार्जिन कलको विषयमा समेत केही खुकुलो नीति लिएको छ । जसअनुसार अब मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरु सूचिकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा  गणना गर्न सकिने व्यवस्था गरिएको छ । 

यस्तै, सेयर धितो कर्जा बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पूँजीको बढीमा ४० प्रतिशतसम्म प्रवाह गर्न पाइने व्यवस्था समेत गरिएको छ ।

मौद्रिक नीतिमार्फत यो व्यवस्थालाई संकुचन गरी २५ प्रतिशतमा झारिएको थियो ।

तर, यसरी कर्जा प्रदान गर्दा बैंक तथा बित्तीय संस्थाले एउटा सूचिकृत कम्पनीको सेयरको हकमा आफ्नो प्राथमिक पूँजीको बढीमा १० प्रतिशत ननाघ्ने गरी मात्र कर्जा गर्नुपर्नेछ ।