काठमाण्डौ । सन् २०१८ मा सेयर बजारमा आएको भारी गिरावट र आर्थिक मन्दीका कारण चीनका १६१ जना अर्बपतिहरु करोडपतिमा झरेका छन् । 

चीनको मिडिया रिसर्च कम्पनी हुरुनले सन् २०१९ का लागि जारी गरेको विश्वका डलर अर्बपतिहरुको सूचिबाट चीनका १६१ अर्बपति बाहिरिएका हुन् । 

यसो हुनुको मुख्य कारणको रुपमा चीनको सेयर बजारमा आएको भारी गिरावट र अमेरिकासँगको व्यापार युद्धपछि चीनको अर्थतन्त्रमा देखिएको मन्दीलाई लिइएको छ । 

सन् २०१८ मा चीनको स्टक मार्केटमा २५ प्रतिशतसम्मको पहिरो गयो । योसँगै चीनको मुद्राको मूल्य समेत निकै अवमूल्यनमा पर्यो । धेरै अर्बपतिहरु यही गिरावटको मारमा परे र विश्वका अर्बपतिहरुको सूचिबाट बाहिरिन बाध्य भए । 

हुरुनले मंगलबार प्रकाशित गरेको अर्बपतिहरुको नयाँ सूचिमा चीनबाट ६५८ अर्बपति मात्र परेका छन् । यसअघिको सूचिमा ८१९ अर्बपति पर्न सफल भएका थिए । 

चीनको वित्त बजार सन् २०१८ मा अर्थतन्त्रमा डरलाग्दो स्लोडाउन आउने त्रासमै रुमल्लिएको मिडिया रिपोर्टमा दाबी गरिएको छ । लगानीकर्ताको मनोबलमा चरम निराशाले घर गरेपछि १६१ अर्बपति यो सूचिबाट हराए पनि संख्याको हिसाबले विश्वका सबैभन्दा धेरै अर्बपति हुने देशहरुमा चीनले नै अझै नेतृत्व गरिरहेको छ । 

सन् २०१८ मा चीनमा सबैभन्दा बढी सम्पत्ति गुमाउने अर्बपतिहरुमा इन्टरनेट कम्पनी टेन्सेन्टका सीइओ मा ह्वातेङ रहेका छन् । उनको सम्पत्ति १९ प्रतिशतले घटेर ३८ अर्ब डलरमा सीमित बन्न पुग्यो ।

यस्तै, डेलियन वाण्डा ग्रुपका एक अर्बपति वाङ जियानलिनको सम्पत्तिमा समेत ३७ प्रतिशतको पहिरो गयो । उनको सम्पत्ति घटेर अब १७ अर्ब डलरमा सीमित हुन पुगेको छ ।

तर, यो संकटकै बीच पनि कतिपय चिनियाँ अर्बपतिहरु भने झनै धनी भएका छन् । इकमर्स कम्पनी अलिबाबाका ज्याक माको सम्पत्ति बढेको छ । ज्याकको सम्पत्तिमा २० प्रतिशतको बढोत्तरी भएको रिपोर्टमा जनाइएको छ । 

मन्दीकै बीच चीनका केही नयाँ अर्बपति सूचिमा थपिएका छन् ।