काठमाण्डौ । दोश्रो बजारमा सेयर कारोबार सुरु भएको तेश्रो दिनसम्म दैनिक नेगेटिभ सर्किट व्यहोरेको शिवम सिमेन्ट्स लिमीटेड चौथो दिन बुधबार भने सुखद देखिएको छ । 

तेश्रो दिनसम्म सेयर मूल्यमा प्रत्येक दिन १० प्रतिशतको हाराहारीमा पहिरो व्यहोरेको यो कम्पनीको मूल्य बुधबार भने स्थिर रहेको छ । 

मंगलबार शिवमको सेयर मूल्यमा अघिल्ला २ दिन झै नेगेटिभ सर्किट लागेर प्रतिकित्ता ३४० रुपैयाँमा सीमित भएको थियो । 

बुधबार कारोबार खुलेको केही समयसम्म शिवमको मूल्य ६ प्रतिशतसम्मले घटेको थियो । तर, एकाएक खरीद चाप क्रिएट भएपछि घट्दो क्रममा रहेको शिवमको मूल्य थामिएको हो । 

बुधबार नियमित कारोबार समयमा अनलाइनले काम नगरेपछि केही समय अवरुद्ध भएको थियो । ६ बजेसम्मका लागि पछिबाट कारोबार अवधि थपिएको थियो । बजार बन्द हुँदा शिवमको अन्तिम कारोबार मूल्य अघिल्लो दिनको झै रु.३४० नै कायम भएको छ । 

शिवमको मूल्यमा दैनिकजसो गइरहेको पहिरोले यो कम्पनीको आइपीओ प्रिमियमसहित ३०० रुपैयाँमा किनेका सर्वसाधारण चिन्तित थिए । शिवमको मूल्यमा देखिएको  गिरावट थामिएपछि आइपीओ खरीद गर्नेहरु केही खुशी देखिएका छन् । 

यसैबीच, शिवमसँगै प्रत्येक दिन नेगेटिभ सर्किट व्यहोर्दै अगाडि बढेको युनिभर्सलको मूल्यमा भने पहिरो थामिएको छैन । बुधबार पनि यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट नै लाग्यो । दैनिक १० प्रतिशतको हिसाबले घटिरहेको यो कम्पनीको मूल्य बुधबार पनि सोही अनुपातमा घटेर प्रतिकित्ता १९८ रुपैयाँ कायम भएको छ । विश्लेषकहरुले कमजोर कम्पनी भएका कारण यसको सेयर मूल्य अझै घट्ने आँकलन गरिरहेका छन् ।