काठमाण्डौ । विगत १२ कारोबार दिनहरुको अवधिमा ४७ प्रतिशत भन्दा बढी मूल्य बढाइएको शिवम सिमेन्ट्स लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको छ । 

यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.०६ प्रतिशतले बढी हो । 

चौथो त्रैमाससम्म पनि नाफाको यो गति कायमै रहे शिवम सिमेन्ट्सले यो वर्ष १ अर्ब ४१ करोड बढी खूद नाफा आर्जन गर्ने देखिन्छ । यो कम्पनीमा सेयर प्रिमियमको रुपमा ९४ करोड रुपैयाँ सञ्चित रहेको छ । 

यसरी चौथो त्रैमाससम्मको खूद नाफा र सेयर प्रिमियम गरी कुल २ अर्ब ३५ करोड रुपैयाँ हुनेछ । यो रकममा नियामकीय व्यवस्थाका लागि केही प्रतिशत सञ्चित गरेपछि बाँकी लाभांशको रुपमा वितरण गर्न मिल्छ । 

यो कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो हिसाबले चालु आर्थिक वर्षका लागि समेत यो कम्पनीले लगानीकर्तालाई निकै आकर्षक लाभांश दिनसक्ने देखिन्छ । 

समीक्षा अवधिमा कम्पनीको खूद आम्दानी करिब ६० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब १६ करोड रहेकोमा त्यो बढेर यो वर्ष ३ अर्ब ४५ करोड कायम भएको हो । 

कम्पनीले ७ अर्ब १० करोडमा सीमित संचालन आम्दानीलाई बढाएर ८ अर्ब ३७ करोडको उचाई चुमाएको छ । 

यो अवधिमा कम्पनीको कस्ट अफ सेल्स ५ अर्ब ३७ करोड रहेको छ । अघिल्लो वर्षको यही अवधिमा ४ अर्ब ५८ करोडमा सीमित थियो ।

खूद नाफामा बढोत्तरी भए पनि चुक्तापूँजीमा भएको बढोत्तरी अनुसारको नाफा हुन नसक्दा शिवमको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा झिनो गिरावट देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा ३२.२५ रुपैयाँ रहेको इपीएस घटेर ३२.०९ रुपैयाँ कायम भएको हो । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १९९.८८ रुपैयाँ र चैत मसान्तको मूल्य आम्दानी अनुपात ९.५३ गुणा रहेको छ । पछिल्लो समय यो कम्पनीको मूल्यमा तीव्र बढोत्तरी भएका कारण पछिल्लो पीई भने १४.०८ गुणा रहेको छ ।