-भक्तराज रसाइली 
काठमाण्डौ । सीडीएससीले ब्रोकर कम्पनीको सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्ट) सिस्टमसँग  एकीकृत गरी ल्याप्चे लगाएर स्वयम् लाभकर घोषणा गर्ने व्यवस्था तीन दिनभित्रै अन्त्य गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आइतबार ब्रोकर कार्यालयमा स्वयम् उपस्थित भई ल्याप्चे लगाउने व्यवस्था अन्तका लागि अटोमेटिक सिस्टमको विकास गर्न सीडीएससीलाई लिखित निर्देशन दिएको थियो ।

यता सीडीएससीले भने निर्देशनअघि नै यस खालको सिस्टम भित्रभित्रै बनाइरहेको बिजशाला स्रोतले जनाएको छ । 

स्रोतका अनुसार ‘मेरो सेयर’ पोर्टलको लगइन लिएका सेयर कारोबारीहरुले मात्रै पर्चेज सोर्स खुलाई ब्रोकरको सीएनएसमा पठाउने व्यवस्था मिलाउन लागिएको हो । २०७२ पछि डिम्याट भएका सेयरको विवरण अटोमेटिक हुने भए पनि सिस्टममा स्रोत नखुलेको हकमा लगानीकर्ताहरुले कारोबार नम्बर वा रकम घोषणा गर्नुपर्ने हुन्छ ।

यही प्रयोजनका लागि ‘मेरो सेयर’ र सिआस्वाका करिब ९ लाख प्रयोगकर्ताको डाटा सिस्टम माइग्रेसनको काम द्रुत गतिमा भइरहेको स्रोतको दाबी समेत छ । ‘मेरो सेयर’ पोर्टलका करिब साढे ५ लाख प्रयोगकर्ताहरुले मात्रै ईडीआईएसजस्तै सुविधा लञ्च गर्न लागेको सीडीएससीले ब्रोकर कार्यालयमै गई ल्याप्चे लगाउने बाध्यतालाई हटाई सहजीकरण गर्न लागेको बताइन्छ । 

नेपाल सरकारले गत साउन १ गतेदेखि लागू गरेको भारित औसत लागत आधारमा  पूँजीगत लाभकर गणना विधि अन्तर्गत स्वयम् लगानीकर्ता ब्रोकर कार्यालयमा गएर स्वघोषणा र सहीछाप गर्नुपर्ने व्यवस्था छ । 

सीडीएससीले ‘मेरो सेयर’ पोर्टलमार्फत प्रयोगकर्ताहरुलाई ब्रोकर कार्यालय धाउनु नपर्ने गरी हुन लागेको व्यवस्थाले पूँजीबजारमा सुरु भएको कागजी युगको अन्त हुने लगानीकर्ताको आशा छ ।