काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको शीर्ष ई(कमर्स प्लेटफार्म सस्तोडिलसँग सहकार्य गरेको छ । 
 
यस सहकार्य अन्तर्गत सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निस्शुल्क पाउनेछन् ।
 
हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी सस्तो डिलले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनका लागि नेपाल सरकारबाट अनुमति प्राप्त गरेको छ । यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्ने सेल्पेबाट जारी विज्ञप्तिमा जनाइएको छ । 
 
यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि सस्तोडिलबा कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्नेछन् । साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउने छ । जसका लागि सेलपेको ग्राहकहरुले सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप मार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेमा १० थान मास्क निस्शुल्क पाउनेछन् ।
 
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।