-भक्तराज रसाइली 
काठमाण्डौ । छोटो समयमा सेयर बजारका राम्रा र गुणस्तरीय एजेण्डा राख्दै आमरण अनसनसम्म बसेको सेयर लगानीकर्ता दवाब समूह हिजोआज सेलाएको छ । 

आमरण अनसनमार्फत सरकारलाई घूँडा टेक्न बाध्य बनाएको दवाब समूह सुस्त भएको हो वा शक्ति सञ्चयमा लागेको हो ? 

निकै उग्र र आक्रामक शैली अपनाएको भन्दै यो समूहलाई धेरै मिडियाले ओझेलमा समेत पारे, तर यथार्थमा उनीहरुका सही र सान्दर्भिक माग आमरण अनसन बसेर सरकारलाई चुनौति दिने खालका थिए । उनीहरुको शान्तिपूर्ण आन्दोलनबाट अर्थमन्त्रीकै कुर्सी धरमराएपछि तत्काल अध्ययन कार्यदल बनाई त्यसबाट मुद्रा तथा पूँजीबजार सुधारका लागि ५८ बुँदे निर्देशन जारी गरिएको बताइन्छ । 

पहिलो चरणमा राखिएका बजार सुधारका मागहरु पूरा भएपछि यो समूह संगठनको रुपमा दर्ता भयो । त्यसपछि यो समूहले बजारमा हुने अनैतिक चलखेल, भित्री कारोबारमा बजारका नियामक निकाय तथा संचालकहरुकै संलग्नता लगायतका बिषय समेत त्यसपछिका दिनहरुमा उठाउँदै गयो । 
लगानीकर्तामाझ छोटो समयमै लोकप्रिय र प्रभावकारी संगठनको रुपमा उदाएको यो समूहले बजारको शुद्धिकरणको माग उठाउँदै आफ्ना कर्तुतमाथि समेत प्रहार गर्न थालेपछि धितोपत्र बोर्ड र नेप्सेका उच्च अधिकारी समेत तर्सिए । 

उनीहरुकै डिजाइनमा अर्थमन्त्रालयले लगानीकर्ताका नेताहरुको सम्पत्ति छानबिनको तुरुप फाल्यो । यसले समेत लगानीकर्ता नेताहरु तर्सिएका कतिपयको दाबी छ । तर, दवाब समूहका नेतृत्वकर्ता भने यो दाबीको खुलेरै खण्डन गरिरहेका छन् । 

लगानीकर्ताका राम्रा र जायज मागलाई पूरा गराउन छाडेर बजारसँग सम्बद्ध निकायहरु ती मागलाई प्रभावकारी ढंगले उठाउने समूहका नेताहरुलाई नै सिध्याउने योजनामा रहेका र यसलाई आफूहरुले डटेर प्रतिकार गर्ने दवाब समूहको एक नेताले बताए । 

उनीहरुको यस्तो गतिविधिको बिषयमा जानकारी पाएपछि लगानीकर्ताका नेताहरुले समेत पहिलाको जस्तो आक्रामक शैली छाडेर संयम ढंगले अगाडि बढ्न थालेका हुनसक्ने विश्लेषक बताउँछन् । 

कतिपयले चाहि दवाब समूहले हठातमा दोश्रो चरणको माग भन्दै ३२ बुँदे फालेर नियामक र बजार संचालकलाई साइजमा ल्याउन खोजेको र आफ्नो दूनो सोझिएपछि अहिले चूपचाप भएको भन्नेसम्मका संगीन आरोप समेत लगाउन भ्याइसकेका छन् । 

बजार सुधारका लागि निकै धेरै राम्रा एजेण्डा बोकेको दवाब समूहलाई कसले छायाँमा पारेको हो वा आफैं भूमिगत भएका हुन्, यो विषय आमा लगानीकर्तामा अझै पनि प्रष्ट भइसकेको छैन । 

दवाब समूह उग्र बन्दै गएपछि सरकारले लगानीकर्ताहरुका नेताको सम्पत्ति छानबिन गर्दै भन्ने हल्ला र त्रास फैलाएर उनीहरुलाई निस्तेज पार्न खोजिएको र यसमा सरकार सफल भएको लगानीकर्ता तुलसी पन्तको विश्लेषण छ ।

अर्थमन्त्रालयको निर्देशनमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले एक नेतालाई १४ करोडको सेयर उधारोमा खरिद गरेको भन्दै धम्क्याएका घटना समेत बिजशालासम्म आइपुगेको छ । कार्कीले ब्रोकरहरुबाट आफूकहाँ त्यस्तो उजुरी आएको भन्दै लगानीकर्ताका ती नेतालाई थर्काएका थिए । ब्रोकर र लगानीकर्ताको आपसी सम्झौतामा हुने कारोबारमा बोर्डका अध्यक्ष नै संलग्न भएको यो घटनालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

लगानीकर्ताका नेताहरुको यस्तै कमजोरीमाथि खोजी खोजी प्रहार भएका कारण उनीहरु चूप भएका हुन् कि भन्ने आशंकालाई समेत यो घटनालाई थप बलियो बनाइदिएको छ । तर, नेताहरु यो विषयमा खुलेर बोल्नै चाहदैनन् ।  

दवाब समूहले माघ १५ गतेदेखि अर्को अनसन सुरु हुने भन्दै माघको पहिलो साता ३२ बुँदे मागसहित नेप्से र सेबोनमा ज्ञापनपत्र बुझाएको थियो । तर, माघ १५ को समयसीमा घर्किएर १२ दिन बढी भइसक्दा समेत ती ३२ बुँदे माग र ती माग पूरा नभए हुने भनिएको आन्दोलनको बिषयमा दवाब समूहका नेता तै चूप मै चूपको अवस्थामा छन् ।

उसो भए दवाब समूहलाई यो बीचमा बोल्नै नसक्ने गरी तर्साउने काम नै भएको हो ? यो समूहका नेता पनि सम्पत्ति छानबिनको कुराले त्रसित भएका हुन् ? वा अन्य यस्तै कुनै कमजोरीले उनीहरुको स्वर कमजोर बनेको हो ? लगानीकर्तामा खुल्दुली पैदा भएको देखिएको छ । 

दवाब समूहका अध्यक्ष हरि ढकालले आफू अहिले अर्को काममा व्यस्त भएको उल्लेख गर्दै भने–‘हामीले आमरण अनसन बस्यौं, के हामीले मात्र बजार सुधार्ने हो त ?’ 

उनको भनाईमा आफूहरुको अभियानमा लगानीकर्ताले साथ नदिएका कारण समेत जायज मुद्धा समेत ओझेलमा परे । उनले सम्पत्ति छानबिनको कुराले आफूहरु त्रसित हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै भने–‘साच्चिकै छानबिन गर्ने हो भने पनि मेरोबाट सुरु गरियोस् ।’

ढकालको बदलिएको यो बोलीले समेत दालमा केही न केही कालो छ भन्ने देखाउँछ । एकसाताअघि बजार सुधार गरेरै छाड्ने र बजार सुधारका लागि मर्न समेत तयार भई टुकुचाको डिलमा अनसन समेत बस्ने ढकालले अहिले आएर बजार सुधार्ने ठेक्का आफूहरुले मात्र लिएको होइन भन्दै हिँड्नु झनै रहस्यमयी देखिन्छ ।  

ढकाल मात्र होइन, समूहका अन्य पदाधिकारी पनि आम लगानीकर्ताको साथ नपाएको भन्दै निराशा व्यक्त गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष दीपेन्द्र अग्रवालले समेत आम लगानीकर्ता नजागी दवाब समूहको एक्लो प्रयासले मात्र बजार सुधारका अजेण्डा कार्यान्वयन नहुने दाबी गरे । 

उनले बजारको कमाण्ड सम्हाली कुर्सीमा बसेकाहरु अज्ञात समूहको इच्छामा परिचालित हुने गरेका र यो प्रवृति बढ्दै गई बजारकै भविष्य धूमिल बन्दै गएको दाबी गरे । उनले समेत सरकारलाई आफ्नो सम्पत्ति छानबिन गर्न आग्रह गरे । ‘हाम्रो सम्पत्ति छानबिन होस्, कुनै खोट भेटिए कारबाही भोग्न तयार छौ ।’ उनले थपे । 

उनले सबै लगानीकर्ताले आफूलाई साच्चिकै आपत परेको जुन दिन अनुभूत गर्छन्, त्यो दिन उर्लिने शक्तिले सबै कुरा परिवर्तन गरिदिने दाबी समेत गरे।

अग्रवालले आफूहरु लगानीकर्ताहरुको साथका लागि शक्ति सञ्चयमा लागेको दाबी गर्दै निकट भविष्यमै बलियो रुपमा अगाडि आउने दाबी समेत गर्न भ्याए । तर त्यसो भन्दा भन्दै पनि उनले बिजशालासँग भने–‘ पूँजीबजारको विकास र बिस्तारको कुरा हाम्रो मात्र निजी समस्या वा सवाल होइन । लाखौं लगानीकर्ता नताती नेपालको पूँजीबजारका विकास असंभव छ ।’

दवाब समूहका अन्य नेतासँग कुरा गर्दा समेत उनीहरुको बोली लगभग एउटै सुनिएको छ । सबैले उही कुरा गर्छन्–‘बजार सुधारको जिम्मा हाम्रो मात्र हो र ?यहाँ हामी मरे पनि केही हुनेवाला छैन ।’

यति हदसम्मको निराश बन्ने वातावरण कसरी सिर्जना भयो ? यो चाहि आगामी दिनमा खोजीको बिषय बन्नसक्ला ।