काठमाण्डौ । पोखराबाट भारतको राजधानी नयाँ दिल्ली पुग्न काठमाण्डौ आएर त्यहाँबाट कुनै बस वा जहाजमार्फत जानुपर्ने बाध्यता हट्ने भएको छ । मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिले भारतको उत्तर प्रदेश परिवहन निगम गाजियावाद डिपोसँग सम्झौता गरी असार २७(सोमबार)देखि पोखराबाट दिल्लीसम्म बस सेवा संचालन गर्ने भएको हो । 

सोमबार गृहमन्त्री शक्ति बस्नेत र नेपालका लागि भारतीय राजदूत रञ्जित रोयले पोखरा दिल्ली बससेवाको समुद्घाटन गर्ने कार्यक्रम तय भएको मोर्डन इरा टूर्स एण्ड ट्राभल्स प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । 

उनका अनुसार उत्तर प्रदेश परिवहन निगम गाजियावाद डिपोसँग ९ बुँदे सम्झौता भएको र दुवै तर्फबाट दुवै गन्तव्यका लागि बस सेवा एकसाथ छुट्ने व्यवस्था मिलाइएको छ । 

उनका अनुसार पोखराबाट छुटेको बस स्याङ्जा, वालिङ, बुटवल, सुनौली बोर्डर, गोरखपुर, लखनऊ हुँदै दिल्ली आनन्द बिहार बस स्टेशन पुग्ने व्यवस्था मिलाइनेछ । बिहान ९ बजे पोखराबाट गाडी छुट्ने  र दिल्लीबाट ४ वटा र पोखराबाट बसपार्कबाट ४ वटा गाडी एकै समयमा छट्ने व्यवस्था मिलाइने उनले बताए । 

प्रत्येक बस एसीजडित हुने र सबैको ४० सिट क्षमता रहने बताइएको छ । संचालकहरुले पोखराबाट दिल्लीसम्म पुग्ने भाडादर समेत ३ हजार ५ सय २० रुपैयाँ तोकिसकेका छन् । अधिकारीले भने–‘ परराष्ट्र मन्त्रालय र यातयात मन्त्रालयबाट तोकिएको भाडा अनुसार दररेट कायम गरेका हौ । दुवै राज्य बीचको सहमति अनुसार बाटोमा कुनै कर वा अतिरिक्त शुल्क लाग्दैन ।

अधिकारीका अनुसार बाटोमा कुनै बाधा व्यवधान नभए पोखराबाट छुटेको २४ घण्टाभित्र दिल्लीको गन्तव्यमा बस पुग्ने व्यवस्था मिलाइनेछ । व्यवसायीले पोखराबाट दिल्ली रुटमा संचालन हुने सुुविधासम्पन्न प्रति बसमा ८० लाख रुपैयाँसम्मको लगानी गरेका छन् । 

दुवैतर्फबबाट दुवै गन्तव्यका लागि छुट्ने बसको नाम नेपाल–भारतमैत्री बस सेवा राखिएको छ । बस सेवा सञ्चालनले २ देशबीचको मित्रभाव बढ्ने दुवै देशका अधिकारीहरुले बताएका छन् । बस सेवा संचालनबाट दुई देशबीचको धार्मिक र सांस्कृतिक सम्बन्धको विकासमा समेत मद्धत पुग्ने अपेक्षा गरिएको छ । पर्यटकहरुको आगमन तथा आदानप्रदानमा समेत सहयोग पुग्ने व्यवसायीले अपेक्षा गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भेटवार्तामा भएको सम्झौतामा दुई देशको सिधा सम्बन्ध जोड्नको लागि नेपाल भारत मैत्री बस सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो । सोअनुसार काठमाडौ–दिल्ली, दिल्ली–काठमाडौ र काठमाडौं–बनारस बस सेवा सञ्चालन भइरहेकै छ ।