काठमाण्डौ । निकै चर्चामा रहेको शिवम सिमेन्ट्स लिमीटेडको आइपीओ आज(सोमबार)देखि निश्कासन भएको छ ।

यो कम्पनीले प्रिमियम मूल्यमा आयोजना प्रभावित र सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको हो । 

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर ३०० रुपैयाँको दरले कुल ४१ लाख २० हजार कित्ता र आयोजना प्रभावितका लागि प्रतिसेयर २०० रुपैयाँको दरले ५ लाख ७९ हजार ६८० कित्ता आइपीओ निश्कासन गरेको हो ।

यसअघि सर्वसाधारणका लागि प्रतिकित्ता अंकित मूल्यमा ३०० रुपैयाँ थपेर प्रतिकित्ता ४०० रुपैयाँ र आयोजना प्रभावितका लागि २०० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ निश्कासनको प्रस्ताव गरेको थियो । 

कम्पनीले यसअघि आयोजना प्रभावितका लागि निश्कासन गरेको आइपीओमा अत्यन्त न्यून आवेदन परेको थियो । प्रिमियम मूल्य समेत जोडेर महङ्गोमा आइपीओ आएको भन्दै धेरैले खरीद गरेका थिएनन् । 

सर्वसाधारणका लागि प्रतिकित्ता ४०० रुपैयाँको दरले आइपीओ जारी गर्ने तयारी भइरहँदा नेपाल बैंकको एफपीओमा अण्डरराइटरहरुले गरेको फट्याईँ सार्वजनिक भयो । अण्डरराइटरहरुले आफूले प्रत्याभूत गरेको नेपाल बैंकको सेयर ठूलो मात्रामा नबिकेपछि नक्कली बजार खडा गरी गैरकानूनी ढंगले एफपीओ भन्दा कम मूल्यमा बिक्री गरेका थिए । 

यो प्रकरणले अण्डरराइटरहरुले लामो समयदेखि चलाउँदै आएको धन्दा पर्दाफास भयो भने यसले शिवम् सिमेन्टको आइपीओमा अण्डरराइट गर्नेलाई समेत सोच्न बाध्य तुल्याइदियो।

अन्ततः शिवम् सिमेन्टको आइपीओ अण्डरराइट गर्ने एनआइबिएल एस क्यापिटलको दवाबमा धितोपत्र बोर्डले शिवमको आइपीओको मूल्य घटाइदियो । सर्वसाधारण र आयोजना प्रभावितका लागि निर्धारण गरिएको मूल्यमा १०० रुपैयाँको दरले घटाई अब सर्वसाधारणका लागि रु. ३०० र आयोजना प्रभावितका लागि रु. २०० को दरले आइपीओ निश्कासन भएको हो । 

फागुन ६ अर्थात भोलिदेखि निश्कासन हुने आइपीओमा छिटोमा फागुन ९ गतेभित्र र ढिलोमा चैत ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार इच्छुकले न्यूनतम ५० कित्तादेखि अधिकतम सबै कित्ता खरीदका लागि आवेदन दिन सक्नेछन् ।

यसको अर्थ कम्पनीको आइपीओमा साथमा रु. १० हजार हुने आयोजना प्रभावितले र १५ हजार हुने सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री प्लस’को रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत छ भन्ने देखाउँछ । 

संगठित संस्थालाई सुविधा
शिवम् सिमेन्टको आइपीओमा संगठित संस्थाका लागि समेत विशेष सुविधा दिइएको छ । संगठित संस्थाले आइपीओ निश्कासन गरिएको पहिलो दिन अर्थात फागुन ६ गते(सोमबार)देखि नै खरीदका लागि आवेदन दिन सक्नेछन् । 

यसअघि भने धितोपत्र बोर्डले साबिकको त्यस्तै व्यवस्था खारेज गरी आइपीओमा सर्वसाधारण लगानीकर्ता लाभान्वित हुने नयाँ व्यवस्था गरेको थियो । 

तर, बजारमा तरलता समस्या, अन्य कम्पनीको आइपीओ नबिकिरहेको अवस्थामा शिवममा भने विशेष व्यवस्था गरिएको हो ।

इच्छुक आयोजना प्रभावित तथा सर्वसाधारणले सीआस्वा सदस्य बैंक तथा बित्तीय संस्थामार्फत तथा मेरो सेयर प्रयोग गरेर समेत आवेदन दिन सक्नेछन् ।

कस्तो छ बित्तीय अवस्था ?
शिवम सिमेन्टले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा २०.२९ प्रतिशतले बढाएको छ । 

अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म कम्पनीको खूद नाफा ५४ करोड ६८ लाख रहेकोमा बढेर यो वर्ष ६५ करोड ७८ लाखको उचाईमा पुगेको हो ।

अघिल्लो वर्ष बिक्रीबाट प्राप्त हुने आम्दानी ४ अर्ब ७ करोड बढी रहेकोमा त्यसलाई बढाएर शिवम्ले ५ अर्ब २२ करोडको उचाईमा पुर्याएको छ । 

यो अवधिमा कस्ट अफ सेल्स अर्थात बिक्रीको परल मूल्य २ अर्ब ५६ करोडबाट बढी ३ अर्ब ३५ करोडको उचाईमा पुगेको देखिएको छ । 

कम्पनीको प्रशासनिक खर्च अचाक्ली बढेको छैन भने बिक्री तथा वितरण खर्च २४ करोड २४ लाखबाट बढेर ३८ करोड ७५ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष ३१ करोड १६ लाखमा सीमित ह्रास खर्च ३३ करोड २५ लाख पुगेको छ । यस्तै, १६ करोड ७९ लाख रहेको ब्याज खर्च बढेर २० करोड ७३ लाख पुगेको छ । 

यो कम्पनीले लगानीलाई समेत निरन्तर बढाइरहेको देखिएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब ७७ करोडमा सीमित लगानी बढेर यो वर्षको सोही अवधिसम्म ३ अर्ब ३६ करोड पुगेको छ ।

कम्पनीको अघिल्लो वर्ष १ अर्ब ७७ करोडमा सीमित आम्दानी बढेर यो वर्ष ३ अर्ब ४ करोड पुगेको छ ।

कम्पनीले आइपीओ निश्कासनका लागि तयार गरेको विवरणपत्रमा चालु आर्थिक वर्षको अन्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ  १९३ रुपैयाँ ३८ पैसा हुने प्रक्षेपण गरिएको छ ।

त्यसपछि आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ४६ पैसा र २०७७/७८ मा २४८ रुपैयाँ २५ पैसा हुने प्रक्षेपण गरेको छ ।

यस्तै, कम्पनीले प्रतिसेयर आम्दानीतर्फ पनि आफ्नो प्रक्षेपण सार्वजनिक गरेको छ । जसअनुसार चालु आर्थिक वर्षमा इपीएस ३०.३७ रुपैयाँ हुने, ०७६/७७ मा ४२.०८ रुपैयाँ हुने र ०७७/७८ मा ४७.७९ रुपैयाँ हुने भनिएको छ । 

कम्पनीले लगानीकर्तालाई प्रत्येक आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट दिने लाभांशको प्रक्षेपण समेत सार्वजनिक गरिसकेको छ । जसअनुसार गत आर्थिक वर्षका लागि प्रतिसेयर १५ रुपैयाँ, चालु आर्थिक वर्षका लागि पनि प्रतिसेयर रु. १५ रुपैयाँ नै, ०७६/७७ का लागि २० रुपैयाँ र ०७७/७८ का लागि समेत २० रुपैयाँ नगद लाभांश दिन सकिने प्रक्षेपण गरिएको छ । 

यो कम्पनीको सम्पूर्ण दायित्व भन्दा नेटवर्थ बढी रहेको छ भने कम्पनी विगत ३ वर्षदेखि लगातार मुनाफामा चलिरहेको छ । 

आर्थिक वर्ष ०७२/७३ मा ७७ करोड ७८ लाख नाफा कमाएको यो कम्पनीले ०७३/७४ मा ८१ करोड १३ लाख र ०७४/७५ मा १ अर्ब १४ करोड नाफा कमाएको छ ।

खूद सम्पत्ति मूल्य पनि लगातार बढिरहेको देखिन्छ । ०७२/७३ मा १४४.५३ रुपैयाँ रहेको यस्तो मूल्य बढेर ०७३/७४ मा १५९.६६ रुपैयाँ र ०७४/७५ मा १६१.६१ रुपैयाँ कायम भएको छ । कम्पनीको विगत ३ वर्षको भएको औसत प्रतिफल २१.८४ प्रतिशत रहेको छ ।

यो कम्पनीले विभिन्न बैंकबाट लिएको १ अर्ब ४९ करोड ६० लाख रुपैयाँ ऋण तिर्नलाई आइपीओको प्रिमियमबाट आएको रकम उपयोग गर्ने बताएको छ । 

शिवम्ले आयोजना प्रभावितलाई जारी गरेको आइपीओमा प्रिमियमबापत १७ करोड ६० लाख रुपैयाँ र सर्वसाधारणबाट १ अर्ब ३२ करोड प्रिमियम बापत आम्दानी गर्नेछ ।

कम्पनीको जारी पूँजी ४ अर्ब  ४० करोड रहेको छ । यसैको १२ प्रतिशतको दरले आइपीओ निश्कासन गर्न लागेको हो ।

कम्पनीको खुद मुनाफामा आर्थिक बर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ मा क्रमश जम्मा १६.८७, ३८.५६ र १३.५८ प्रतिशतको वृद्धि अनुमान गरिएको छ ।

कुल खर्चमा भने आर्थिक बर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ मा क्रमश ५.४२, १०.४१ र –०.३६ प्रतिशतले वृद्धि हुने हुने अनुमान गरिएको छ।

संस्थाले आर्थिक बर्ष २०७२/७३ को असार मसान्तदेखि आर्थिक बर्ष २०७४ को असाढ मसान्तसम्म कुल बिक्रिबाट हुने आम्दानीमा २७.६४ प्रतिशत को वृद्धि गरेको र आर्थिक बर्ष २०७४/७५ को असार मसान्तसम्म ३९.४० र आ.व. २०७५/०७६, आ.व. ७६/०७७ र आ.व. ७७/०७८ मा क्रमशः ६.५६, १५.२७ र २.४० प्रतिशतको वृद्धि पक्षेपण गरेको छ ।

थपिए अण्डरराइटर
शिवम सिमेन्टको आइपीओको प्रत्याभूत गर्न अन्य दुई मर्चेन्ट बैंकर पनि सहमत भएका छन् । अब ग्लोबल आइएमई क्यापिटल र सीबीआइएल क्यापिटलले समेत शिवमको आइपीओ अण्डरराइट गर्ने कम्पनीले जनाएको छ । यसअघि एनआइबिएल एस क्यापिटलले मात्र कम्पनीको आइपीओ प्रत्याभूत गर्ने भनिएको थियो ।