काठमाण्डौ । हरेक दिनजसो नयाँ नयाँ रेकर्ड बन्दै गएको पूँजीबजारमा सोमबार फेरि एकैदिन तीनवटा रेकर्ड बनेका छन् ।

बिमा समूहको परिसूचक सोमबार पनि २६१.०३ अंकले उक्लियो । एकैदिन ६८ करोडको शेयर कारोबार गरेर बिमा समूहले रेकर्ड राख्यो भने नेप्से परिसूचक १४.६८ अंकले उक्लिदै १५२४.०७ को नयाँ उचाई चुम्न सफल भयो । 

सोमबार अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार समेत रेकर्ड भयो । १ सय ३५ कम्पनीका ३३ लाख ६२ हजार कित्ता शेयर १ अर्ब ४४ करोड ५१ लाख रुपैयाँमा किनबेच भयो । आइतबार १ अर्ब २४ करोडको शेयर कारोबार भई नयाँ रेकर्ड बनेको थियो । 

सोमबार सबैभन्दा बढी कारोबार गर्ने उत्कृष्ट १० कम्पनीमध्ये ७ स्थान बिमा कम्पनीले ओगटे भने ३ स्थानमा मात्र वाणिज्य बैंक पर्न सफल भयो । 

सोमबार वाणिज्य बैंक र विकास बैंक समूहको सूचक पनि दोहोरो अंकले उक्लियो । वाणिज्य बैंकको सूचक १०.५१ अंकले वृद्धि भयो भने विकास बैंकको सूचक १२.३८ अंकले बढ्यो । उत्पादनमूलक समूहले ३.२ को प्रगति हासिल गर्दा होटल समूह १.१३ अंकको झिनो वृद्धिमा सीमित भयो । सोमबार जलविद्युत, बित्त र अन्य समूहमा भने रातो पोतियो । 

सोमबार बिमापछि बैंकिङ समूहले ४८ करोड ५४ लाख रुपैयाँ तथा विकास बैंक समूहको १४ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भयो । 

सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सको ८ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भयो । यसैगरी, नेपाल बंगलादेश बैंकको ७ करोड ८ लाख, नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ४५ लाख ७५ हजार, नेपाल लाइफको ६ करोड २८ लाख ६६ हजार, प्रूडेन्सियल इन्स्योरेन्सको ५ करोड ८१ लाख २४ हजारको शेयर किनबेच भयो ।