काठमाण्डौ । अमेरिकाले आफ्नो भिजा नियममा थप कडाई गरेको छ । अब अमेरिकाको भिजा पाउनका लागि लगभग सबै आवेदकहरुले आफ्नो सोसल मिडियाको डिटेल बुझाउनुपर्नेछ । 

किनभने अमेरिकाको नयाँ नियम अनुसार यो काम अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ, नभए भिजा पाइन्न ।

यसको अर्थ तपाईलाई अमेरिकाले भिजा दिनुअघि तपाईको सोसल मिडियाका गतिविधिको मिहीन अध्ययन गरिनेछ र सो क्रममा अमेरिकाले सबै कुरा ठीकै देख्यो भने मात्र तपाईलाई भिजा दिनेछ ।

अमेरिकाको विदेश विभागको नयाँ नियमअनुसार तपाईले भिजाका लागि अप्लाई गर्दा आफ्नो सोसल मिडियाको डिटेलसँगै विगत ५ वर्षको इमेल ठेगाना र फोन नम्बर समेत दिनुपर्ने हुन्छ । 

बीबीसीको एक रिपोर्टका अनुसार गत वर्ष जब यो प्रस्ताव आएको थियो, सो बेला नै अनुमान गरिएको थियो कि यो व्यवस्थाबाट १.४७ करोड मानिस प्रत्येक वर्ष प्रभावित हुनेछन् । 

राजनीतिक व्यक्तित्व र सरकारका उच्च अधिकारीहरुले पनि यस्तो प्रक्रियाको सामना गर्नुपर्दैन । तर, जागिर खान वा पढ्न भन्दै अमेरिका छिर्नेहरुले भने आफ्नो सामाजिक सञ्जालको डिटेल नै अमेरिकालाई सुम्पिनुपर्नेछ ।

यो विषयमा अमेरिकी विदेश विभागले भनेको छ–‘हामी संयुक्त राज्य अमेरिकासम्मको कानून यात्राको समर्थन गर्दै अमेरिकी नागरिकहरुको सुरक्षाका लागि आफ्नो स्क्रिनिङ प्रक्रियाहरुमा सुधार गर्नका लागि लगातार काम गरिरहेका छौ।’

यसअघि केही विशेष आवेदकहरुका लागि मात्र यस्ता डेटा दिनुपर्ने नियम लगाइएको थियो । आतंकवादीहरुको नियन्त्रणमा रहेका विश्वका कतिपय देशबाट अमेरिका आउन चाहने नागरिकका लागि मात्र यसअघि यस्तो कडाई गरिन्थ्यो । 

आफ्नो सोसल मिडियाको विषयमा कसैले झूठो विवरण दियो र यो विषय पत्ता लाग्यो भने त्यसलाई अमेरिकाले जीवनभर नै भिजा नदिने दाबी समेत समाचारमा गरिएको छ ।