-मनोज बाबु
काठमाण्डौ । कम्प्युटराइज्ड ट्रेडिङ सिस्टमको अवसान र अनलाइन ट्रेडिङ सिस्टमको जन्मको एउटा महत्वपूर्ण कडी पूर्ण स्वचालित अनलाइन प्रणालीको परीक्षण भएको पहिलो दिन हो आज, अर्थात साउन १ गते । भण्डर कम्पनी वाइको प्रालिले बनाएर नेप्सेलाई हस्तान्तरण गरेको र नेप्सेले ब्रोकरलाई जिम्मा लगाएको अनलाइन प्रणालीको परीक्षणको खबरले लगानीकर्तामा उत्साह भरिएको होला । मंगलबार कारोबार समयको सुरुवातमा एक ब्रोकर अफिसमा पुग्दा हामीलाई पनि यस्तै लागेको थियो । अनलाइन कारोबार प्रणालीको परीक्षणले बजारमा उत्साह भर्ला भन्ने सोंचसहित हामी विभिन्न ब्रोकर कार्यालय तथा त्यहाँका लगानीकर्तासम्म पुग्यौ । दिनभरको रिपोर्टिङ, सबैको प्रतिक्रिया, कमजोर तयारी र स्थगलत अवस्था देख्दा भन्नै कर लाग्यो–अनलाइन प्रणालीको पूर्ण परीक्षणको कुरा लगानीकर्ताका लागि कागलाई बेल पाक्यो, हर्ष न बिस्मात जस्तो पो भएको रहेछ । 

अनलाइन प्रणालीको परीक्षणको सुरुवातको हल्लाखल्ला देख्दा लाग्थ्यो, लगानीकर्ताहरुले केही न केही नयाँ कुरा पाउनेछन् । परीक्षण नै सही, तर यसले लगानीकर्ताको मनोबल बढाउनेछ र सुस्ताएको बजारमा केही उत्साहका तरंगहरु देखिनेछन् । हाम्रा यी अनुमान समेत गलत साबित भए । 

बरु, लगानीकर्तामा निराशा नै बढी देखियो । अनलाइन प्रणाली परीक्षणको हल्ला मात्र ठूलो गरिएको र त्यसले लगानीकर्ताको मनोदशामा खासै सकारात्मक प्रभाव पार्न सकेको देखिएन । 

अधिकांश लगानीकर्ता यो परीक्षण भएको र परीक्षणकाल सकिन कम्तीमा पनि २ महिना समय लाग्ने भन्दै अहिलेदेखि नै उचालिनु बेकार रहेको सुनाइरहेका थिए । उनीहरुको निरश अभिव्यक्ति सुनिरहँदा बजारमा रातो रंग चढ्दै थियो । 

पुतलीसडकस्थित ब्रोकर नम्बर ४९ का अनन्तकुमार पौडेलका अनुसार सिस्टम प्रोभाइडरले मंगलबार बेलुकासम्म सिस्टम जोडिदिनेछन् । उनका अनुसार परीक्षणकाल भएकोले लगानीकर्ताले ब्रोकर अफिसबाट लगइन र पासवर्ड लिन सक्ने र त्यसबाट भइसकेको अर्डर म्याच भए नभएको कुरा मात्र हेर्न पाइने बताए । उनको अनुमानमा समेत युजर एसेप्टेन्स टेस्ट(यूएटी) गर्न मात्र कम्तीमा २ महिना समय लाग्नेछ । 

यो सिस्टम अन्तरगत काम गर्दा बैंक अकाउण्टमा अनिवार्य पैसा हुनुपर्दछ । पैसा भए मात्र सेयर किन्न पाइन्छ । यदि बैंक अकाउण्टमा पैसा छैन भने र गल्तीबस अर्डर गरेर राख्यो भने क्लोजआउटको समस्या धेरै हुने संभावना बढेको उनको भनाई छ । साना–साना कुरामा ध्यान नदिए अनलाइन कारोबार प्रणालीले दुर्घटना समेत निम्त्याउनसक्ने कमलादीमा रहेको एक ब्रोकरका कर्मचारीको धारणा थियो । ‘यसकारण समेत लगानीकर्तालाई धेरै सचेतनाको आवश्यकता छ ।’–उनले थपे । 

लगानीकर्ताहरुले नयाँ सिस्टममा छिरेर कुन टाइममा अर्डर हाल्यो, कुन रेटमा हाल्यो, कुन परिमाणमा हाल्यो भन्ने मात्र हेर्न पाउँछन् । ‘अनलाइनको ह्वीम मात्र भयो, नयाँ कुरा नै केही छैन ।’ निराश मुद्रामा देखिएका एक लगानीकर्ताले बिजशालासँग भने–‘टाइम, रेट  क्वान्टिटी त ब्रोकर अफिसमा फोन गर्दा नै पनि थाहा भइहाल्थ्यो नि । हामीले जे चाहेका थियौं, त्यो भएन । 

अनलाइन अर्डर आफैंले हालेर पूर्ण रुपमा अनलाइनबाटै कारोबार गर्नलाई कम्तीमा पनि २ महिना समय लाग्ने भएकोले त्यसबेलासम्म आफूहरु नउचालिने निश्कर्षमा पुगेको अर्का एक लगानीकर्ताले बताए । मंगलबारको दिन बजार घट्नुको एउटा कारण लगानीकर्ताको यस्तै मनोदशा पनि हो भन्न सकिन्छ । 

हामीले जति लगानीकर्तासँग अन्तरक्रिया गर्यौ, तीमध्ये कसैमा पनि उत्साह देखेनौ । बरु सबै कहिले २ महिना समय पूरा हुन्छ र पूर्ण स्वचालित अनलाइन प्रणाली चलाउन पाइन्छ भन्ने हतारोमा देखिए । 

सचेतना: कसको जिम्मेवारी ?
स्थलगत रिपोर्टिङको क्रममा हामी ब्रोकर, लगानीकर्तादेखि नेपाल स्टक एक्सचेञ्जसम्म पुग्यौ । सो क्रममा ब्रोकर तथा लगानीकर्ताले उठाएको एउटा बलियो इस्यू थियो–नयाँ प्रणालीको बिषयमा सचेतना कार्यक्रम । 

लगानीकर्ताहरुले सरोकारवाला निकायहरुले आफूहरुलाई सचेतना नगराएको आरोप लगाए । ब्रोकरले नेप्सेले यो कुराको समन्वय गर्नुपर्ने भन्दै आफ्नो जिम्मेवारी बजार संचालकको थाप्लोमा हालिदियो । जब हामी यिनै गुनासो लिएर नेप्सेमा पुग्यौं, तब नेप्सले समेत यो बिषयमा जिम्मेवारी ब्रोकर तथा लगानीकर्तासँग सम्बद्ध संघसंस्थाको समेत रहेको बताउँदै सामूहिम प्रयास भए मात्र अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयन छिटो हुने बतायो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले अनलाइन प्रणाली परीक्षणका लागि ९ वटा ब्रोकरले सिस्टम जडान गरिसकेका र बाँकीलाई समेत बुधबारसम्म उपलब्ध गराइने बताए । उनका अनुसार  २५ ब्रोकरले सिल्भर लाइनिङबाट र बाँकी २५ जनाले एक्सेस वल्र्डबाट क्लाउड होस्टिङ गराएका छन् । 

पराजुलीले समेत अनलाइन प्रणाली बिस्तारै आउने र त्यसअघि लगानीकर्ता सचेत हुनुपर्नेमा जोड दिए । उनको अनुमानमा समेत पूर्ण स्वचालित अनलाइन प्रणालीको पूर्ण कार्यान्वयन हुन कम्तीमा २ महिना समय लाग्छ । 

नेप्सेले एकहप्ताअघि लगानीकर्तासम्बद्ध तीनवटा संगठनका नेताहरुलाई बोलाएर नेप्सेले सचेतना तथा ओरिएन्टेसन कार्यक्रम गराएको समेत उनले जानकारी दिए । यो क्रममा हिजोमात्र ५० ब्रोकरलाई बोलाएर सचेतना कार्यक्रम संचालन गरिएको थियो । ब्रोकर र लगानीकर्तासँग सम्बद्ध संगठनका नेताले समेत सर्वसाधारण लगानीकर्तालाई नयाँ कारोबार प्रणालीको बिषयमा बेलैमा सचेत गराउनुपर्नेमा प्रवक्ताको जोड थियो ।  

यसरी उत्साहले भरिएको मन लिएर रिपोर्टिंगमा निस्किएका हामी लगानीकर्ताका निरश मन र मलीन अनुहारको सँगालो लिएर कार्यालय फर्किन बाध्य भयौ । दिनभरको निरश अभिव्यक्ति तथा दृश्य दिक्क हामीलाई बजारको अवस्थाले झनै निराश तुल्याइदियो, किनभने कार्यालय आइपुग्दा बजार राताम्मे भइसकेको थियो ।