काठमाण्डौ । आयोजना प्रभावितबाट बहिस्कृत भई न्यून कित्ता मात्र बिक्री भएको युनिभर्सल पावर कम्पनी लिमीटेडले आगामी माघ २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । 

आयोजना प्रभावितले समेत नकिनेको सेयर समेत थपेर कुल ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर निश्कासन गर्ने भएको हो । 

योमध्ये १ लाख ८६ हजार ५४८ कित्ता कर्मचारीका लागि, ४ लाख ६६ हजार ३७० कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता भने सर्वसाधारणको भागमा परेको छ । 

यो कम्पनीको आइपीओमा छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

इच्छुकले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

यसअघि यो कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म आयोजना प्रभावित दोलखाबासीका लागि २१ लाख ३ सय ५० कित्ता सेयर निश्कासन गरेको थियो । यो समयभित्र न्यून कित्ताका लागि मात्र आवेदन परेपछि बिक्री प्रबन्धकले माघ १३ गतेसम्मको अवधि थपेको थियो । तर, समय थप्दा समेत आवेदन परेन र १७ लाख ६६ हजार १५० कित्ता बिक्री भएन । 

यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ९६ करोड ६१ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने योजना बनाएको थियो । 

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।

आयोजना प्रभावित र सर्वसाधारणलाई समेत आइपीओ जारी गरिसकेपछि यो कम्पनीको चुक्तापूँजी बढेर २ अर्ब १० करोड पुग्नेछ भने कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा ४६ प्रतिशत कायम हुनेछ ।