काठमाण्डौ । सर्वोच्च अदालतमा विचाराधीन रहेको लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन विवादको आज (मंगलबार) को पेसमा के निर्णय होला भनेर आवेदक दिएका र दिन चाहनेहरु व्यग्र प्रतीक्षा गरेर बसिरहेका छन् । 

गत जेठ १५ गते खुलेको नौ हजार बढी कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापनको आवेदन दिने आजै अन्तिम म्याद पनि हो । दोब्बर दस्तुर तिरेर असार १० गते आवेदन दिन सकिने आयोगले उल्लेख गरेको छ । 

अन्यौलग्रस्त अवस्थामा आवेदन दिएका र आवेदन दिन चाहनेहरु सर्वोच्चको निर्णय पर्खेर बसेका छन् । संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगलाई स्थानीय तह पदपूर्तिका लागि खोलेको विज्ञापन रद्द गर्न निर्देशन दिएसँगै पक्ष र विपक्षमा रिट परेका छन् । यसअघि लोकसेवा आयोगविरुद्ध रिट निवेदन परेपछि सर्वोच्चले समिति र लोकसेवा दुवै पक्षलाई मंगलबारको पेसीमा उपस्थित हुन आदेश दिएको हो । आजको पेसीले स्थानीय तहमा कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन रद्द हुने वा कायम हुने निर्धारण हुनेछ । 

यसैगरी राज्य व्यवस्था समितिविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमा सोमबार कारण देखाऊ आदेश जारी भइसकेको छ । सर्वोच्चको आदेशसँगै राज्य व्यवस्था समितिले लोकसेवालाई विज्ञापन रद्द गर्न निर्देशन दिनुको कारण खुलाउँदै लिखित जबाफ अदालतमा पेस गर्नुपर्नेछ । संविधान र ऐनले नदिएको अधिकार प्रयोग गरेर लोकसेवा आयोगलाई विज्ञापन रद्द गर्न निर्देशन दिएको भन्दै राज्य व्यवस्था समितिविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गरेका थिए । 

उता लोकसेवा आयोगको सर्भरमा समस्या देखिँदा अनलाइन फारम भर्न खोज्ने हजारौँ आवेदकहरु समस्यामा परेका छन् । आज अन्तिम दिन भइसक्दा पनि सर्भरमा देखिएको समस्या आयोगले समाधान नगर्दा हजारौँ आवेदक मर्कामा परेका हुन् । 

अनलाइन फारम भर्न आयोगले तोकेको वेब पेज psconline.psc.gov.np मा विगत तीन दिनदेखि समस्या देखिएको हो । ‘हिजो बिहानदेखि राति १२ बजेसम्म आवेदकहरुको फारम भर्ने कोसिस गरेँ तर एउटामात्र फारम भर्न सकेँ’, सिफलस्थित स्टेसनरीमा अनलाइन फारम भर्ने सुविधा दिँदै आएका तिलाचन सापकोटा भन्छन्, ‘मलाई डेढ सयजनाभन्दा बढीले फारम भरिदिन डकुमेन्ट बुझाएका छन्, लोकसेवाको सर्भर नचल्दा समस्या भइरहेको छ ।’ 

सापकोटाले मंगलबार बिहानैदेखि अनलाइन फारम भर्ने प्रयास गरिरहे पनि सर्भर नचल्दा समस्या भइरहेको बताए । उनका अनुसार आयोगको अनलाइन सिस्टममा कहिले लगइन नै नहुने र कहिले डकुमेन्ट लोड नै नहुने समस्या रहेको देखिएको छ । 

लोकसेवा आयोगले विज्ञापन रद्द गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट परेपछि निराश बनेका प्रतिस्पर्धीका उम्मेदवारहरु पछिल्लोपटक पदपूर्तिको पक्ष र विपक्ष आवाज उठ्न थालेपछि फाराम भर्न हौसिएका छन् । ‘विज्ञापन रद्द हुन्छ कि जस्तो लागेको थियो तर यत्तिका दिनसम्म कुनै निर्णय नभएपछि विज्ञापन रद्द हुँदैन कि भनेर ढिला गरी फारम भर्न खोजेको हुँदैहुँदैन’, नुवाकोटबाट फाराम भर्न काठमाडौँ आएकी सुनिता ढकाल भन्छिन्, ‘लोकसेवाको लापरबाहीले मजस्ता धेरै आवेदन दिन चाहनेहरु निराश हुनुपर्ने अवस्था आउलाजस्तो छ ।’

अन्तिम समयमा आएर एकैपटक धेरैले अनलाइन फाराम भर्न थालेपछि सर्भरमा समस्या देखिएको लोकसेवाका अधिकारीहरु बताउँछन् । एकैपटक ६० हजारभन्दा बढीले लगइन गरिरहेकोले सर्भरको क्षमता दोब्बर बनाउँदा पनि समस्या हल नहुने उनीहरु बताउँछन् । 

आयोगका अनुसार प्रतिमिनेट एक सयजनासम्मले अनलाइन फारम भरिरहेका छन् । समस्या सुल्झाउन प्रयास भइरहेको आयोगले जनाएको छ ।