-चन्द्रकान्त खनाल
रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ देखि २०८० सम्म सडकयुग र ८५ सालदेखि सुरुङ मार्गको युग हुने बताएका छन्। 

बुटवलमा शुक्रबार बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा विकासको युग सुरु भएकाले विपक्षीहरुले विरोध गर्दैमा बिकासका काम नरोकिने बताए । 

उनले विरोधीहरुले घरमै बसेर भइरहेका विकासको पनि विरोध गरिरहेको र यसको अर्थ नभएको दाबी समेत गरे । 

उनले भैरहवा तौलिहवा सडकका लागि पनि राजमार्गअनुसार अघि बढाउन निर्देशन दिएका छन । ‘यहाँ मात्र होईन देशका सबै ठाउमा सडक शिलान्यास हुन्छन्, काम अघि बढ्छ ।’ ओलीले भने ।

उनले बुटवल–पाल्पामा रहेको सिद्धवावा सडकको समस्या अन्त्य हुने आश्वासन समेत दिए ।

प्रमले स्थानीय निकायलाई वाताबरण पनि जोगाउने र बिकासका काममा चाहिने गिटीबालुवालाई नरोक्न निर्देशन दिए । उनले भने–‘गिटी बालुवाको अभावमा कुनै पनि आयोजना रोकिनुहुन्न । पहाड भत्काएर भएपनि उपलब्ध गराइन्छ ।’

पूर्वअर्थमन्त्री समेत रहेका नेकपा महासचिव बिष्णु पौडेलले सरकारलाई प्रतिपक्षको बिरोधले काममा उत्साह बढाएको बताए । ईतिहासमा गर्न नसकेको काम अहिलेको सरकारले अघि बढाएको दाबी गर्दै उनले भने–‘प्रदेशमा गर्नुपर्ने काम हाम्रो जिम्मामा छन्, हामी सबै काम गर्दै जानेछौ ।’ उनले शिलान्यास भएको सडकको काम तोकिएकै समयमा गर्न समेत ठेकेदार कम्पनीलाई आग्रह गरे । 

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अब बिकासले गति लिएको र अवरोध नहुने बताए । हिजो मज्जाकमा रेल, पानीजहाज जस्ता कामलाई लिनेहरु आज काम भएको देखेर दङ्ग भएका बताए । 

राजमार्गको १ हजार २७ किलोमिटर सडक खण्डमध्ये बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार गर्न लागिएको हो । सडकखण्ड राजमार्गको मध्य भागमा पर्छ । १ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेनसहितको हुनेछ । सडक एसियाली विकास बैंक (एडीबी) १५ अर्ब को ऋणमध्ये एडिबिको ८५ प्रतिशत  र बाँकी नेपाल सरकारको सहयोगमा बन्न लागेको हो । 

एडिबीले नेपाल सरकारलाई १ दशमलब ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको एडिबीको आयोजना निर्देशनालयले जनाएको छ । २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सडक विभाग आयोजना निर्देशनालय उपआयोजना निर्देशक सागर पौडेलले चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको जानकारी दिए ।

सडकको स्तरोन्नति गरेर चार लेन बनेपछि यो खण्डलाई १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिनेछ ।

आयोजनाको ठेक्का गएको पुस ४ गते भएको थियो । सडक विस्तारको औपचारिक काम सुरु भएको छ। सडक नवलपरासीको दाउन्नेको पहाडमा तीन लेनको हुनेछ । बर्दघाटको प्रतिक्षालयदेखि दुम्कीबाससम्म १४ किलोमिटरको सडक अप्ठ्यारो ठाउँ भएकोले त्यहाँ ३ लेनको हुने पौडेलले बताए । पहाड चढ्ने गाडीले २ लेन प्रयोग गर्छन् ।

झर्ने गाडीले १ लेन प्रयोग गरेर झर्छन् । ४ लेन बनाउँदा लागत पनि बढी लाग्ने र बनाउन पनि जोखिम भएकाले ३ लेनको बनाइने आयोजनाको भनाई छ ।

यो सडक खण्ड विस्तारसँगै २१ वटा नयाँ पुलहरू पनि बन्ने भएका छन् । अहिले जहाँ–जहाँ पुल छन तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना ठूला पुल पनि बनाउनुपर्ने छ । सडकको डिभाइडरलाई हरियाली बनाइने छ ।

जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्ने छ । यसअनुसार बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ ।

अन्य क्षेत्रमा भने २२ मिटर ओगट्ने छ । सडकका दायाँबायाँ १.५–१.५ मिटरको सोल्जर पनि बनाइने छ ।

सडक आयोजनाका कार्यालय गैडाकोटमा रहेको छ । आयोजनाका इञ्जिनियर प्रमोद अधिकारीले काम तीब्रताका साथ हुने बताए । 

अहिले सडक निर्माण क्षेत्रका रूख कटान, निर्माण सामग्री राख्ने क्याम्प निर्माणको काम भइरहेको छ । सडक विस्तार गर्दा झण्डै ११ हजार रूख काट्नुपर्ने अवस्था छ । सडकले रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी ३ जिल्ला छुनेछ ।

सडक विस्तार गर्दा वा निर्माण गर्दा मुआब्जा वितरणको समस्याले गर्दा सडक निर्माणको काममा अवरोध हुँदै आएको छ । 

तर यो सडक खण्डमा मुआब्जाका समस्या नहुने बताइएको छ । नवलपुरको विनय त्रिवेणी गाउँपालिका दुम्कीबास क्षेत्रको केही भागमा मात्र मुआब्जाका वितरण गर्नुपर्ने र त्यसबाहेक अन्यत्र समस्या नहुने आयोजनाको भनाइ छ । 

पूर्वराजा महेन्द्र वीरविक्रम शाह २०१८ सालमा नवलपरासीको गैंडाकोटमा ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए । २०२२ सालमा नवलपरासीको गैडाकोटमा तत्कालीन महेन्द्र राजमार्गको उद्घाटन भउको थियो ।