काठमाण्डौ । स्थानीय तहमा पदपूर्तिका लागि लोकसेवा आयोगले भोलि शुक्रबारबाट प्रारम्भिक चरणको परीक्षा सुरु गर्दैछ । यता विज्ञापन समावेश नभएको भन्दै परीक्षाको एक दिनअगाडि बिहीबार पनि विरोधमा प्रदर्शन गरिएको छ । 

विज्ञापनको विरोधमा ‘आरक्षण बचाउ आन्दोलन’ को अगुवाइमा बिहीबार काठमाण्डौको अनामनगरस्थित लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन भएको हो । प्रदर्शनका कारण अनामनगरमा केहीबेर यातायात आवगमन प्रभाविन बन्न पुगेको थियो । विज्ञापन समावेश नभएको भन्दै यसअघि पनि पटकपटक प्रदर्शन भएका थिए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोकसेवा आयोगले गत असार ३ गते स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारी माग गरेको थियो । जसअन्तर्गत ४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

विज्ञापन समावेश नभएको भन्दै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरूले चरणवद्ध आन्दोलन गर्दै आएका छन् । अहिलेको विज्ञापन खारेज गर्दै समावेशी तथा समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गरिनेपर्ने उनीहरूको छ । 

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञपनको विरोध र पषमा सर्वोच्च अदालतमा समेत रिटहरु परेका छन् । सर्वोच्चले सबै रिटको सुनुवाइ गदैृ विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोकसेवा आयोग परीक्षा सञ्चालन गर्न लागेको हो ।