काठमाण्डौ । सचिवालय बैठकले अजेण्डा तय गर्न नसकेपछि सरेको सत्तारुढ नेकपाको स्थायी समिति बैठक एकदुई दिनमै हुने पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले दाबी गरेका छन् । 

संसद भवनमा कोरोना परीक्षणका लागि स्वाब दिन पुगेका प्रचण्डले संचारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा अध्यक्षहरुबीच अजेण्डा तय गर्ने विषयमा पर्याप्त गृहकार्य नपुगेर आज(बिहीबार) बिहान ११ बजे धुम्बाराहीमा बोलाइएको स्थायी समिति बैठक हुन नसकेको दाबी पनि गरे । 

'गृहकार्य नपुगेरै यस्तो भएको हो ।' प्रचण्डले थपे-'एकदुई दिनभित्र बोलाउँछौ ।' 

प्रचण्डले एकदुई दिनमा स्थायी समिति बैठक बोलाउने कुरा गरिरहेकै बेला सो बैठक बोलाउनका लागि लिखित माग प्रस्तुत गर्ने २० नेताहरुले भने धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बैठक बसे । २० स्थायी समिति सदस्यहरुले तत्काल बैठक बोलाउन पार्टी नेतृत्वलाई दवाब दिने उद्देश्यले छलफल गरेका बताइएको छ । 

स्थायी समिति सदस्य हरिबोल गजुरेलले स्थायी समिति बैठकमा पेश गर्ने अजेण्डाका विषयमा नेतृत्व अलमलिएकोले सहयोग गर्न समेत बैठक डाकिएको बताए । उनले चाँडो भन्दा चाँडो पार्टीको विधान अनुसार बैठक बोलाउन समेत २० सदस्यले पुनः माग गरेका प्रष्ट्याए।