काठमाण्डौ । राजनीतिक नियुक्तिका आधारमा पढ्दै नपढेका र अंग्रेजी भाषा समेत नजान्नेहरुलाई राजदूत बनाउने दिन अब सकिएका छन् । 

देशको प्रतिनिधित्व गर्ने राजदूत तथा कुटनीतिक नियोगका प्रमुखहरुको योग्यता नतोकिँदा मुलुककै बेइज्जत हुने देखिएपछि सरकारले त्यस्ता पदमा नियुक्त हुने व्यक्तिको शैक्षिक र भाषिक योग्यता तोक्दै आइतबार निर्देशिका नै पारित गरेको हो । 

निर्देशिका अनुसार अब राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको शैक्षिक योग्यता न्यूनतम स्नातक हुनुपर्नेछ । यस्तै, यस्तो व्यक्तिसँग अंग्रेजी भाषाको ज्ञान अनिवार्य हुनुपर्ने व्यवस्था समेत गरिएको छ । 

परराष्ट्र मन्त्रालयका एक अधिकारीले बिजशालालाई बताए अनुसार यसअघि मन्त्रालयका सहसचिव बाहेकबाट राजदूतको रुपमा राजनीतिक नियुक्ति पाउनेहरुको शैक्षिक योग्यता तोकिएको थिएन । पढ्दै नपढेका नेताका आफन्तले समेत राजदूतको रुपमा नियुक्ति पाउने गरेका थिए । ती अधिकारीका अनुसार शैक्षिक र भाषिक योग्यतासँगै राजदूत नियुक्तिका अन्य केही मापदण्ड समेत तोकिएको छ । 

जसमध्ये अब मन्त्रालयबाट ५० प्रतिशत र बाहिरबाट ५० प्रतिशत राजदूत नियुक्त हुनेछन् । यस्तै, जुन देशको राजदूत बनाइने हो, सो व्यक्ति सो मुलुकको बिषयमा बुझेको हुनुपर्ने, सो मुलुकसँग कुनै स्वार्थ गाँसिएको हुन नहुने, सो व्यक्तिको विगत समेत निश्कलंक हुनुपर्ने लगायतका मापदण्ड समेत तोकिएको छ ।