काठमाण्डौ । गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारितसँगै सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्दै स्पर्स लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पोखरास्थित होटल बाराहीमा आइतबार सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.६८ प्रतिशत लाभांश पारित गरेको हो । प्रस्तावित लाभांशमा चुक्तापुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३ प्रतिशतले हुन आउने १ करोड ७ लाख ८५ हजार १९० रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनका लागि ०.६८ प्रतिशतले हुन आउने ५ लाख ७६ हजार ६४२ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

बोनस सेयर पारितसँगै संस्थाको चुक्तापुँजी ९ करोड ३७ लाख ४८ हजार १९० रुपैयाँ पुगेको छ ।

सञ्चालक समितिका अध्यक्ष प्राडा सुशीलभक्त माथेमाको अध्यक्षतामा सम्पन्न सभाले वित्तीय संस्थाले एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा गाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुनेलगायतका सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । यो प्रक्रिया पूरा भएपछि हुन आउने पुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गरी चुक्तापुँजीमा वृद्धि गरी संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था बनाउनका लागि प्रक्रिया अगाडि बढाउने निर्णय पनि सभाले गरेको छ ।

सभामा संस्थाको गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षण र आर्थिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।