बीबीसी । स्पेनका पूर्व अर्थमन्त्री समेत रहेका अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख रोद्रिगो रातोविरुद्ध ठगी गरेको आरोपमा म्याड्रिडको एउटा अदालतमा मुद्दाको सुनुवाइ शुरु भएको छ।

६४ जनासहित रातोमाथि काखा म्याड्रिड ब्यांकका अनौपचारिक क्रेडिट कार्डहरु बोर्ड मेम्बर र उच्च पदाधिकारीहरुलाई व्यक्तिगत प्रयोगका लागि बाँडेको आरोप लगाइएको छ।

उनीहरुले आफ्नो कामसँग असम्बन्धित विलासी सामान किन्न उक्त कम्पनीका अनौपचारिक क्रेडिट कार्ड प्रयोग गरेको आरोप लगाइएको छ।

होटल, महंगा कपडा, मनोरञ्जन र यात्रामा करिब १ करोड ३५ लाख डलर खर्च गरिएको अभियोजनकर्ताहरु बताउँछन्।

रातोले आफूले कुनै गल्ती नगरेको बताएकाछन्। ब्यांकिआलाई सन् २०१२ मा ठूलो सार्वजनिक खर्चमा उद्धार गरिएको थियो। अनौपचारिक क्रेडिट कार्डबाट गरिएका कारोबार कर अधिकारीहरु समक्ष खुलाइएका थिएनन्।

त्यस्तो काम काखा म्याड्रिड ब्यांकमा शुरु गरिएको र सन् २०११ मा ब्यांकिआको स्थापनापछि रातोले त्यहाँ पनि त्यो काम जारी राखेको आरोप लगाइएको छ। सत्तारुढ मध्य दक्षीणपन्थी दल पपुलर पार्टीका सदस्य रातोले सन् २०१२ मा ब्यांकिआ झण्डै टाट पल्टिनुअघि उक्त ब्यांकको प्रमुखको पदबाट राजीनामा दिएका थिए।

सरकारले ब्यांकिआलाई आर्थिक सहयोग गरेर टाट पल्टिनुबाट बचाउँदा ब्यांकका विशेष शेयरका धनी २ लाख साना लगानीकर्तालाई घाटा भएको थियो। ती मध्ये केहीले सोमबार म्याड्रिडमा अदालतअगाडि आक्रोश पोखेका थिए।

अभियोजनकर्ताहरुले रातोलाई साढे ४ वर्षको र काखा म्याड्रिडका पूर्व प्रमुख मिगेल ब्लेसालाई ६ वर्षको जेल सजाय दिइनुपर्ने माग गरेका छन्।

काखा म्याड्रिडलाई सन् २०११ मा ६ वटा अरु ब्यांकहरुसँग मिलाएर ब्यांकिआ बनेको थियो। दोषी पाइएमा रातोलाई २७ लाख युरो र ब्लेसालाई ९३ लाख युरोको जरिवाना लगाइन सक्छ । रातो सन् २००४ देखि २००७ सम्म अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख थिए। उनी स्पेनका पूर्व अर्थमन्त्री पनि हुन्।

उनीमाथि ठगीका आरोपहरु लागेपछि पपुलर पार्टी भ्रष्ट छ भन्ने हल्लाहरुलाई बल पुगेको छ। क्रेडिट कार्डबाट विलासी सामानहरु किन्ने काम सन् २००३ देखि २०१२ सम्म भएको अभियोजनकर्ताहरु बताउँछन्।
स्पेनमा आर्थिक संकट जारी रहेको त्यो समयमा बेरोजगारी बढेको थियो र लाखौं नागरिकहरुले आर्थिक कष्टको सामना गरेका थिए।