काठमाण्डौ । स्मार्ट लाइसेन्स, एटीएम लगायतका डिजिटल स्मार्टकार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ । सरकारी तथा निजी क्षेत्रले जारी गर्ने लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो । यो प्रविधिका माध्यमबाट स्मार्ट लाइसेन्स वितरणमा अहिले भईरहेको ढिलासुस्तीको अन्त गर्न आफू तयार रहेको मालिका इन्कर्पोरेटले जनाएकोे छ । 

राजधानीमा एक कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले मालिका इन्कर्पोरेटको औपचारिक सुरुवात गर्दै डिजिटल समाज निर्माणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । स्वास्थ्य, यातायात, शिक्षा, बैंकिङ क्षेत्रमा मालिका इन्कर्पोरेटले भित्र्याएका अटोमेशन प्रविधिले आम नागरिकको दैनिकी सहज हुने विश्वास पनि उनले व्यक्त गरे । आफू प्रविधिमा धेरै अभ्यस्त नभएको बताएका नेता शर्माले सुरक्षाका साथै भ्रष्टाचार नियन्त्रणमा प्रविधिको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए । उनले प्रविधिको सही प्रयोग हुनुपर्नेमा जोड दिए ।

मालिका इन्कर्पोरेटले सूचना प्रविधिका क्षेत्रहरु, स्वास्थ्य, यातायात, बैंक, शिक्षाका साथै राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा प्रविधिको प्रयोग व्यापक बनाउने लक्ष्य लिएको छ । भारतमा आधार कार्ड, लाइसेन्स, एयरफोर्सको सेक्युरिटी लगायत क्षेत्रमा सेवा दिंदै आएकोे जेब्रा ब्राण्डलाई मालिकाले नेपाल प्रवेश गराउँदै यस्तो योजना बनाएको हो । यसका उत्पादन नेपाल सरकारका विभिन्न विभाग, तथा निकायहरुका साथै बैंक वित्तीय संस्था, अस्पताल, शैक्षिक प्रतिष्ठानबाट प्रवाह हुने सेवामा धेरै उपयोगी हुने मालिका इन्कर्पोरेटका अध्यक्ष टीकाराम जैशीको भनाई छ ।

स्मार्ट लाइसेन्स
मलिका इन्कर्पोरेटले माइक्रो प्रोसेसर चीपजडित स्मार्ट कार्ड र कार्ड प्रिन्टर उपलब्ध गराउँछ । अमेरिकामा उत्पादित र भारतमा अधिक प्रयोगमा रहेको आधुनिक प्रविधियुक्त उपकरणको प्रयोगबाट अहिले स्मार्ट लाइसेन्स बितरणमा भईरहेको ढिलासुस्ती तत्काल हटाउनसक्ने मालिका इन्कर्पोरेटले जनाएको छ । यसका लागि सरकारले सकारात्मक सोच लिएको खण्डमा आफूहरु तत्काल सेवा दिन तयार रहेको इन्कर्पोरेटका अध्यक्ष जैशीले बताए ।

अहिले स्मार्ट लाइसेन्स छपाई पुरानो प्रविधिमा भैरहेकाले प्रिन्टिङ प्रक्रिया ढिलो भएको बताएका जैशीले आफूहरुले भित्र्याएको प्रविधिले हजारौं गुणा बढी स्मार्ट लाइसेन्स प्रिन्ट गर्नसक्ने दाबी गरे । उनकाअनुसार मालिकाले भित्र्याएको प्रविधिबाट तयार गरिने लाइसेन्स गुणस्तरीय र टिकाउ हुनेछ । यसमा रहेको विशेष प्रविधिको सहयोगमा ट्राफिक प्रहरीले लाइसेन्स रिडर प्रविधिमार्फत ठाउँको ठाउँ जरिवाना काट्न सक्नेछ ।

 

राष्ट्रिय परिचयपत्र
मलिका इन्कर्पोरेटले डिजिटल नेपाल बनाउने उद्धेश्यका साथ राष्ट्रिय परिचयपत्रलाई स्मार्ट डाटा प्रविधिको अवधारणामा काम गर्ने प्रविधि पनि ल्याएको छ । जसको सहयोगमा निर्वाचन आयोगले जारी गर्ने परिचयपत्र, स्थानीय निकायले जारी गर्ने परिचयपत्र पनि तयार गर्न सकिने इन्कर्पोरेटले जनाएको छ । ‘यसका लागि आवश्यक डाटा प्रसोधन प्रणाली तथा सफ्टवेयर पनि तयार छ ।’ इन्कर्पोरेटका युएस जेब्रा कम्पनीका नेपाल तथा भारत प्रतिनिधि अतुल मिश्रले भने ।

एटीएम

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने एटीएम पनि इएमभि मापदण्डको पछिल्लो संस्करण अनुसार प्रिन्ट गर्ने प्रणाली बैंक तथा वित्तीय संस्थाहरुका लागि मालिकाले उपलब्ध गराउनेछ । जसको सहयोगमा बैंकहरुले एटीएम बितरण गर्न साता बढीसम्म समय लगाउँदै आएकोमा छिनभरमा एटीएम सेवाग्राहीलाई दिनसक्ने छन् । इन्स्ट्याण्ट कार्ड ब्राञ्च इसुएन्सको सहयोगमा डाटालाई केही बेरमा कार्डमा स्टोर गरी द्रुत सेवा दिन सक्ने मालिका इन्कर्पोरेटले जनाएको छ ।

यसका साथै स्मार्ट हस्पिटल प्रोजेक्ट अन्तरगत अस्पतालमा कागजको प्रयोगलाई निरुत्साहित गर्ने प्रविधि ल्याएको मालिकाले बिरामीका साथै अस्पताल प्रशासनलाई चुस्त सेवामा अभ्यस्त बताउनसक्ने छ । यो प्रविधि इन्टरनेशनल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त भएकाले नेपालको अस्पतालमा यसको प्रयोग सहज हुने बताइएको छ । त्यसै गरी विद्यालय तथा कलेजहरुमा विद्यार्थी, कर्मचारी लगायतलाई आधुनिक प्रविधियुक्त कार्ड आफ्नै परिसरमा तयार गराउन सक्ने सेवा दिइने इन्कर्पोरेटले बताएको छ । यसबाट विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारी लाभान्वित हुने छन् ।

यसका साथै मालिकाले विभिन्न किसिमका स्वचालित प्रणाली संस्थाको अनुकुलताका आधारमा उपलब्ध गराउनेछ ।