काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्मार्ट कार्ड नेपाल प्रालिलाई  भूक्तानी तथा बचत सेवा प्रदायकको अनुमति दिएको छ।

यो कम्पनीलाई केन्द्रीय बैंकले भूक्तानी तथा फछ्र्यौट विनियमावली अनुसार अपरेटिङ लाइसेन्स दिएको हो । योसँगै कम्पनीले कारोबारको तयारी समेत थालेको छ । 

२०७१ सालमा स्थापना भएको स्मार्ट कार्ड नेपाल डिजिटल प्रविधियुक्त  पेमेन्ट एण्ड डिपोजिट गेट्वे कम्पनी हो । कम्पनीको अध्यक्षमा प्रतापजंग पाण्डे रहेका छन् भने संचालकहरुमा अम्बिकाप्रसाद पौडेल, चिरञ्जिवी थापा, तिलकबहादुर रानाभाट, संस्थापक रमेश दियाली, प्रमोटर सेयर सदस्य सनराइज होल्डिङ्स प्रालिका सुवास अमात्य, रमेशकुमार पण्डित रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतको रुपमा शिवदास सिंह रहेका छन् । 

कम्पनीले अत्याधुनिक प्रविधीको प्रिपेड स्क्रयाच कार्ड (स्मार्ट स्क्रयाच कार्ड) र डिजिटल वालेट(स्मार्ट वालेट)को माध्यमबाट नेपालको वित्तीय क्षेत्रमा सेवा प्रवाह गर्ने बताइएको छ । 

प्रिपेड स्क्रयाच कार्ड मार्फत बैंक तथा बित्तिय संस्थामा रकम जम्मा गर्न तथा डिजिटल वालेट लोड गरी आफ्नो आर्थिक कारोवार गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले सम्पूर्ण प्रयोगकर्ता लाई बित्तीय  पहुँच पुर्याउने, नगद कारोवारलाई नगदरहित कारोबारमा लैजान प्रोत्साहन गर्ने, सानो सानो पैसालाई समेत बैंकिङ च्यानलमा ल्याई बचत गर्ने बानीको बिकास गराउने र  ग्रामिण भेगमा समेत आफ्नो सेवा सञ्चालन गर्ने जनाएको छ। कम्पनीले विद्युतीय कारोबारलाई प्राथमिकतामा राखिने बताएको छ । 

कम्पनीले कारोबारका लागि वेब एप्लिकेसन र मोबाईल एप्लिकेसन समेत उपलब्ध  रहेको प्रष्ट्याएको छ । मोवाइल एप्लीकेसन एन्ड्रोइड र आइओएस दुवै भर्जनमा रहेको र अफलाइन समेत चलाउन सकिने सुविधा रहेको छ ।