काठमाण्डौ । स्याङजा चेम्बर अफ कमर्स स्थापनाको विधिवत् घोषणा भएको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एक कार्यक्रमबीच स्याङजा चेम्बरको विधिवत् घोषणा गरे । सोही अवसरमा सचिवालय उदघाटन कार्यक्रम पनि भएको थियो । 

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले स्याङजा चेम्वर अफ कमर्सको स्थापनासँंगै स्याङजाको आर्थिक विकास हुने विश्वास व्यक्त गरे । 
कार्यक्रमका विशिष्ट अतिथि नेपाल चेम्वर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले मुलुक संघीयतामा गएसँंगै नेपाल चेम्बरले पनि विधान संशोधन गरी गाउँ, नगर, जिल्ला र प्रदेशमा चेम्बरलाई विस्तार गरेको जानकारी गराउँंदै स्थानीय स्रोतसाधनहरुको विकास र प्रबद्र्धनबाट आर्थिक विकास हुनुका साथै आर्थिक र बाह्य पर्यटकको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा सभासद् मीनप्रसाद गुरुङ, स्याङजा चेम्बर अफ कमर्सका अध्यक्ष नन्दकुमारी लम्साल (निर्मला) लगायतले स्याङजा चेम्बरको स्थापना भएकोमा खुशी व्यक्त गरेका  थिए ।