काठमाण्डौ । एक गरीब नेपाली चौकीदारका छोरा भारतको सर्वाधिक धनी व्यक्तिहरुको सूचिमा १० नम्बरभित्र पर्न सफल भएका छन् । योगगुरु आचार्य बालकृष्ण हुरुन इण्डियाले जारी गरेको भारतका सर्वाधिक धनाढ्यहरुको सूचिमा ८ औं स्थानमा पर्न सफल भएका हुन् । यो सूचिमा भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी समेत छन् । 

हुरुनको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ कि पतञ्जली कम्पनीका संस्थापक तथा बाबा रामदेवका सहयोगी आचार्य बालकृष्ण देशका टप दश धनी व्यक्तिमा पर्न सफल भएका हुन् । अघिल्लो वर्षको सूचिमा उनी २५ औं स्थानमा थिए । एकवर्षकै अवधिमा १७ स्थान माथि उक्लिनुुमा उनको सम्पत्तिमा भएको अपत्यारिलो वृद्धि नै मुख्य कारण हो । 

उनको सम्पत्तिमा १७३ प्रतिशत अर्थात ७० हजार करोड रुपैयाँ(भारु)ले वृद्धि भएको हो । पतञ्जलीको २०१७ को कारोबार १०५६१ करोडको उचाईमा पुगिसकेको छ । 

को हुन् आचार्य बालकृष्ण ?
भारतका लोकप्रिय योग गुरु बाबा  रामदेवका नजिकका सहयोगी आचार्य बालकृष्णको सफलताको कथा कुनै किम्बदन्ती भन्दा  कम छैन । उनी एक गरीब नेपाली चौकीदारको परिवारमा जन्मिएका हुन् ।

४४  वर्षका  आचार्य बालकृष्ण  भारतमा सबैभन्दा तेज गतिमा अघि बढिरहेको उपभोग्य सामान बनाउने कम्पनी  पतञ्जली आयुर्वेद लिमीटेडको प्रबन्ध निर्देशक हुन् । 

आचार्य बालकृष्णले आफ्नो बाल्यकाल नेपालको स्याङ्जा जिल्लामा बिताए । त्यहाँ उनले ५ कक्षासम्मको पढाई पूरा गरे । उनी भारतको हरिद्वारमा पैदा भए, जहाँ उनका पिता एक चौकीदारको रुपमा काम गर्थे । उनका मातापिता अझै पनि नेपालको पुस्तैनी घरमै छन् । 

भारत फर्किएपछि हरियाणाको खानपुरमा एक गुरुकुलमा पढ्ने क्रममा सन् १९८८ मा बाबा रामदेव र आचार्य बालकृष्ण मित्र बने । त्यसपछि निरन्तर रुपमा यी दुईले मिलेर काम  गरिरहेका छन् । 

पतञ्जलीको वेबसाइटमा आचार्य बालकृष्णको परिचय आयुर्वेद, संस्कृत भाषा र वेदको महान ज्ञाताको रुपमा रहेको  छ । यिनले जडीबुटी तथा आयुर्वेद  ज्ञानको बिषयमा कयौं शोधपत्र लेखेका छन् । बालकृष्णको भनाईमा पतञ्जलीले करिब १ सय वैज्ञानिकहरुलाई जडीबुटीको  शोधको काममा परिचालन गरिएको छ र जडीबुटीको एक विश्वकोष तयार गर्ने काम पनि भइरहेको छ । 

उनले हालसम्म ६५ हजार किसिमको जडीबुटीमाथि काम गरिसकेका छन्, जुन करिब डेढलाख पानाको हुन्छ । आचार्य बालकृष्णले भनेका छन्–‘ममाथि मेरी आमाको गहिरो प्रभाव रहेको छ र उनी नै मेरो प्रेरणाको स्रोत पनि हुन् । जडीबुटीको मेरो ज्ञानको  आधार मेरी आमाको घरेलु जडीबुटीको ज्ञान पनि हो ।’ पतञ्जली  योगपीठमा आचार्य बालकृष्णको जन्मदिन ‘जडीबुटी दिवस’को रुपमा मनाइने गरिएको छ ।

उनको कम्पनीले स्याम्पूदेखि खाद्यान्न, साबुनदेखि नूडल्ससम्म, हरेक चिज बिक्री गर्छ । तर हरिद्वारस्थित नेपाली मातापिताको घरमा जन्मिएका अर्बपति आचार्य बालकृष्ण एक आम  जिन्दगी जिउँछन् र पतञ्जली आयुर्वेदको दैनिक कामकाज उनै सम्हाल्छन् ।

आचार्य बालकृष्ण पतञ्जली योगपीठ ट्रस्टका महासचिव पनि हुन्, जसले करिब ५ हजार पतञ्जली क्लिनिकको रेखदेख गर्छ भने एकलाखभन्दा बढी योग कक्षा समेत संचालन गर्छ । 

बालकृष्ण पतञ्जली विश्वविद्यालयका कुलपति पनि  हुन् । जसको उद्देश्य जडीबुटीमा  आधारित दबाईसँग सम्बन्धित शिक्षा(आयुर्वेद शिक्षा)को बिस्तार गर्नु हो । उनी पतञ्जली योगपीठको मुख्यालयको मुख्य महलमा बनेको अस्पतालको पहिलो तलास्थित सामान्य कार्यकक्षमा काम गर्छन् ।

आचार्य बालकृष्णले ११ हजार कर्मचारी कार्यरत कम्पनीबाट कुनै तलब लिंदैनन् ।