काठमाण्डौ । देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बिस्तार हुन थालेको छ । 

पछिल्लो पटक स्याङ्जा र जुम्लामा समेत संक्रमित फेला परेका छन् । योसहित देशका ७७ मध्ये ४६ वटा जिल्लामा कोरोना संक्रमण विस्तार भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले गरेको प्रेस व्रिफिङको क्रममा मंगलबार अपरान्हसम्मको पछिल्लो अपडेटमा मात्रै ९० जना कोरोना संक्रमित फेला परेको छ । यो भनेको एकैदिन नेपालमा धेरै संक्रमित पुष्टि भएका पहिलो घटना हो । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणअनुसार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ । 

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

महोत्तरी मनराका ३ जना, जुम्ला स्थायी ठेगाना भई हाल बारामा रहेका २ जना, बारा कचौटा नपा १ पिपरपिट्टी माविको क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यी सबै पुरुष हुन् । 

रौतहटको गौर नपाका ८ जनामा पनि कोरोना संक्रमण देखिएको छ । तीमध्ये ७ पुरुष र एक महिला रहेका छन् । 

रौतहटकै देवाही गुनाही नपाका ६ जना पुरुष, रौतहटको करुनिया १ र ४ का ६ जना पुरुष, राजदेवी नपाका एकजना पुरुष, गरुडा नपाका एकजनामा कोरोना संक्रमण देखिएको छ । 

सिरहाको नवराजपुर गाउँपालिकाका एक पुरुष, भगवानपुर गाउँपालिकाका ४ जना पुरुष, धनुषाको बेलखुमियापट्टि गापा स्थायी ठेगाना भई हाल जनकपुरस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक पुरुषमा संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बाँकेको नेपालगञ्ज १ का एक र २ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ । 

रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु कपिलवस्तु मायादेवी ७ का २ जना पुरुष, अर्घाखाँची कमला मावि बनेनी ८ का २ पुरुष, गुल्मी धुर्कोटका २ पुरुष रहेका छन् । 

लुम्बिनी अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका १ पुरुष, सेती प्रयोगशालमा गरिएको परीक्षणको क्रममा कैलाली र अछामका २ पुरुषमा संक्रमण पुष्टि भएको छ । 

पोखरामा गरिएको परीक्षण स्याङ्जा वालिङ ७ का २ पुरुषमा कोरोना संक्रमण देखिएको छ । 

यस्तै, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको छ । सुर्खेत वीरेन्द्रनगरका ९ जना, सुर्खेत भेरीगंगाका २ पुरुष, सुर्खेतकै सिम्टाका २ पुरुषमा संक्रमण पुष्टि भएको हो । 

बाँके डडुवा २ का एक पुरुष, वडानम्बर ३ का ३ जना पुरुष, राप्तिसोनरी ३ का पुरुष, सोनारी ९ का एकजना पुरुष तथा बाँकेको बैजनाथ ३ का १ पुरुष गरी थप ७ मा समेत कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुको विभिन्न क्षेत्रका २४ जनामा संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडानम्बर १, २ र ८ का स्थायी घर भई हाल अनिरुद्र माविको क्वारेन्टाइनमा बसका २ वर्षकी एक बालिका र १९ देखि ५५ वर्षका २३ पुरुषमा संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ का ७ वटा जिल्लामा ८६, प्रदेश २ का सबै ८ वटै जिल्लामा २६८ वटा, बागमित प्रदेशका ११ जिल्लामा ३८, गण्डकी प्रदेशका ४ जिल्लामा ७ जना, प्रदेश ५ को ९ जिल्लाका ३३१ जना, कर्णाली प्रदेशका २५ जना र सुदुरपश्चिम प्रदेशका ५ जिल्लामा १७ संक्रमित रहेका छन् । 

हालसम्म कोरोनाका कारण नेपालमा ४ जनाको ज्यान गइसकेको छ भने १५५ जना घर फिर्ता भइसकेका छन् ।