काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसस्थित एउटा रेस्टुराँमा स्यान्डविच ल्याउन ढिला गरेको भन्दै एक ग्राहकले गोली हानी वेटरको हत्या गरेका छन् ।

घटना गत शुक्रबारको हो । पेरिसस्थित मिस्ट्रल रेस्टुराँमा प्रवेश गरेका एक युवकले स्यान्डविच अर्डर गरेका थिए । तर ती वेटरले स्यान्डविच ल्याउन ढिला गरेपछि युवक निकै आक्रोशित भएका थिए । आक्रोशित युवकले होस गुमाउँदा आफूले बोकेको पेस्तोलबाट २८ वर्षीय ती वेटरमाथि गोली चलाएका थिए । एक राउन्ड गोली लागेका ती वेटरको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

घटनापछि रेस्टुराँका अन्य कर्मचारीले यसबारे प्रहरीमा खबर गरेका थिए । तर प्रहरी पुग्नुअगावै ती हतियारवाहक युवक फरार भइसकेका थिए ।

पेरिस प्रहरीले घटनाको अनुसन्धान भइरहेको र फरार युवकको पनि खोजी भइरहेको जनाएका छन् । – एजेन्सी