काठमाण्डौ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्त बित्तीय संस्था लिमीटेडले निश्कासन गरेको प्राथमिक सेयरमा अचाक्ली आकर्षण देखिएको छ । 

यो कम्पनीको आइपीओमा दोश्रो दिनसम्म माग भन्दा करिब २४ गुणा बढीको प्रस्ताव परेको बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटल लिमीटेडले जनाएको छ । 

क्यापिटलका एक अधिकारीका अनुसार आइतबार(दोश्रो दिन)सम्म स्वदेशी लघुवित्तको आइपीओमा ६५ करोड भन्दा बढीको प्रस्ताव परिसकेको छ । यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निश्कासन गरेको हो । 

परम्परागत विधिबाट दोश्रो दिनसम्म २९ करोड बढी र आस्वा प्रणालीबाट १६ करोडको हाराहारीमा आवेदन परेको बताइएको छ । आस्वामार्फत ३ हजार १ सय १३ र परम्परागत विधिमार्फत ९ हजार २ सय ७७ वटा आवेदन परेका बताइएको छ । यसरी दोश्रो दिनसम्म कुल १८ हजार २ सय १२ जनाले आइपीओमा आवेदन दिएका छन् । 

आइपीओका लागि चैत २९ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १ हजार ५ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले १२ हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, १५ हजार कित्ता १० वटा म्युुचुुअल फण्ड तथा बाँकी २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

इच्छुक लगानीकर्ताले आस्वाको अनुमति प्राप्त बैंक तथा बित्तीय संस्था वा नक्सालस्थित एनएमबी क्यापिटल लिमीटेड, आइसीएफसी फाइनान्स, एस क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको कार्यालयबाट समेत आवेदन दिनसक्ने छन् । 

हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि १० करोडको उचाईमा पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ ।