काठमाण्डौ । सुनसरीको इटहरीमा रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता आइपीओ निश्कासनका लागि बिक्री प्रबन्धकको काम गरेको एनएमबी क्यापिटलले आइतबार बिहान बाँडफाँडको काम सम्पन्न गरेको छ । 

न्यूनतम ५० कित्तादेखि ११ सय २० कित्तासम्मका लागि आवेदन दिएका लगानीकर्ताहरुलाई चिठ्ठाको माध्यमबाट आइपीओ बाँडफाँड गरिएको छ । यो समूहका लगानीकर्तालाई १० कित्ताको दरले चिठ्ठाको आधारमा सेयर बाँडिएको हो । 

११३० कित्तादेखि १५ सय कित्तासम्मको आवेदन दिएकाहरुलाई समानुपातिक ढंगले ०.८३५ प्रतिशतको दरले सेयर बाँडिएको छ । यसको अर्थ १५ सय कित्तासम्मका लागि आवेदन दिनेले १२ कित्ता सेयर पाएका छन् । 

एनएमबी क्यापिटलका अनुसार कुल आवेदक ९० हजार ८ सय १६ मध्ये २५ हजार ३० जनाले मात्र सेयर पाएका छन् । कुल १ हजार २ सय ६ आवेदन रद्ध भएका एनएमबी क्यापिटलले जनाएको छ । निश्कासित कुल आइपीओमध्ये २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । लघुबित्त संस्थाका कर्मचारीका लागि १२ हजार र १० म्युचुुअल फण्डहरुका लागि १५ हजार कित्ता सेयर छुट्याइएको थियो । 

यो संस्थाको आइपीओमा ३ अर्ब २६ करोड बराबरको आवदेन परेको थियो । 

यो माइक्रो फाइनान्सले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ करोड १७ लाख खूद नाफा आर्जन गरेको छ । यसअघि ७ करोड चुक्तापुँजी भएकोमा आइपीओपछि सो १० करोडको उचाईमा पुुगेको छ । यो कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ । 

यसैबीच, एनएमबी क्यापिटलले आइपीओ नपरेको रकम आगामी जेठ १२ गतेदेखि आवेदकको खातामा फिर्ता गर्ने क्रम सुरु गरिने प्रष्ट्याएको छ ।