काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले अधिकांश सूचकमा छलाङ मारेको छ । 

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकमा फड्को हानेको हो । 

अघिल्लो वर्ष २ करोड ५० लाखमा सीमित खूद नाफा ९२.३४ प्रतिशतले बढाएर ४ करोड ८१ लाखको उचाई चुमाएको छ भने ३ करोड ९३ लाखमा सीमित संचालन मुनाफा बढेर ७ करोड ६२ लाख पुगेको छ । संचालन मुनाफातर्फ स्वदेशी लघुवित्तले ९४ प्रतिशतको हाराहारीमा प्रगति गरेको देखिएको छ । 

अघिल्लो वर्ष १० करोड ५५ लाखमा सीमित खूद ब्याज आम्दानी ५३.३५ प्रतिशतले बढाएर १६ करोड १८ लाख पुर्याएको यो कम्पनीले ३ करोड ७६ लाखमा सीमित रिजर्बकोषको आकार बढाई १५ करोड ९६ लाखको उचाई चुमाएको छ । रिजर्बकोषमा कम्पनीले ३२४ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीले ९१ करोड २९ लाख निक्षेप संकलन गरी तथा २ अर्ब १२ करोड सापटी लिएर ३ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको छ । 

निक्षेप, सापटी र कर्जातर्फ कम्पनीको प्रगति क्रमशः  ६५.३४, ४५.०३ र ५१.७३ प्रतिशत रहेको छ ।

यो कम्पनीमा खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्ष यही अवधिमा १.५१ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर १.९९ प्रतिशतको उचाईमा पुगेको हो । 

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी सामान्य घटी २९.०४ बाट २७.९३ रुपैयाँमा सीमित भएको छ । 

प्रतिसेयर नेटवर्थ १६९.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.३३ गुणा कायम भएको छ ।