काठमाण्डौ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्त बित्तीय संस्थाको आइपीओमा पहिलो दिन माग भन्दा ७ गुणा बढी आवेदन परेको छ । 

यो कम्पनीले चैत २५ गतेदेखि ३ करोड रुपैयाँको ३ लाख कित्ता सेयरको प्राथमिक निश्कासन थालेको थियो । बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अनुसार पहिलो दिन नै यो कम्पनीको आइपीओमा देशभरबाट २० करोड ४ लाख बराबरको प्रस्ताव परेको हो । परम्परागत र आस्वा प्रणालीबाट कुल ५ हजार ८ सय बढीले आवेदन दिएका बताइएको छ । आस्वाबाट मात्र ६ सय ३१ जनाले आवेदन दिएका छन् ।

क्यापिटल लिमीटेडका एक अधिकारीका अनुसार परम्परागत प्रणालीबाट १६ करोड ७५ लाख र आस्वाबाट ३ करोड २९ लाख बराबरको प्रस्ताव परेको छ । 

आइपीओका लागि चैत २९ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १ हजार ५ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले १२ हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, १५ हजार कित्ता १० वटा म्युुचुुअल फण्ड तथा बाँकी २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

इच्छुक लगानीकर्ताले आस्वाको अनुमति प्राप्त बैंक तथा बित्तीय संस्था वा नक्सालस्थित एनएमबी क्यापिटल लिमीटेड, आइसीएफसी फाइनान्स, एस क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको कार्यालयबाट समेत आवेदन दिनसक्ने छन् । 

हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि १० करोडको उचाईमा पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ ।