काठमाण्डौ । दोश्रो बजारमा ८२६ रुपैयाँ प्रतिकित्ता अन्तिम बिक्री मूल्य रहेको स्वरोजगार लघुवित्त बित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर पाउन चाहनुहुन्छ ? त्यसो हो भने तपाईले आजै यो कम्पनीको सेयर खरीद गर्नुपर्ने हुन्छ । 

आज अर्थात असोज ४ गते यो कम्पनीको बोनस सेयर पाउनका लागि सेयर खरीद गर्ने अन्तिम दिन हो । 

कम्पनीले आगामी असोज २० गते आफ्नो दशौं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभामा २ करोड ४४ लाख रुपैयाँ बराबरको २० प्रतिशत बोनस सेयर वितरणको विशेष प्रस्ताव समेत पेश हुनेछ । 

कम्पनीले वार्षिक साधारणसभाका लागि भोलिदेखि बुक क्लोज गर्नेछ । यसको अर्थ यो कम्पनीको साधारणसभामा सहभागी हुन तथा २० प्रतिशत बोनस सेयर पाउन आज कारोबार अवधिभर सेयर खरीद गरिसक्नुपर्नेछ । 

कम्पनीले सेयरधनीलाई बोनस सेयरको साथमा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश समेत वितरण गर्नेछ ।

वार्षिक साधारणसभाले संस्थापक समूहबाट ३ संचालकको छनौट गर्नेछ भने जारी पूँजी वृद्धिको प्रस्ताव समेत पारित गर्नेछ ।