काठमाण्डौ । सरकारले स्वास्थ्य क्षेत्रका लागि निकै ठूलो बजेट विनियोजना गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि बजेट बढाएर ९० अर्ब ६९ करोड पुर्याइएको बताएका छन् । 

उनका अनुसार कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणालीमा सुधार, स्वास्थ्य जोखिम न्यूनिकरण गर्न, रोकथाम, नियन्त्रण, उपचारका लागि स्वास्थ्य सेवा, औषधि उपकरण, दक्ष चिकित्सकको उपब्धताका लागि उल्लेख्य बजेट वृद्धि गरिएको हो । 

कोरोना संक्रमणलाई थप विस्तार हुन नदिन उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायारा बढाउन, क्वारेन्टिन विस्तार गर्न, भरपर्दो उपचार सेवा प्रवाह गर्न, कोरोनाका कारण नागरिकमा हुनसक्ने मनोवैज्ञानिक त्रास सम्बोधन गर्न आवश्यक स्रोतको व्यवस्थापन गरिएको उनले जानकारी दिए । 

तत्काल आवश्यक पर्ने औषधि, उपकरणका लागि उनले ६ अर्ब बजेट विनियोजन गरेका छन् । 

चिकित्सक, स्वास्थ्यकर्मी प्रयोगशालामा पीपीई र प्रोत्साहन भत्तासहित रु. ५ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गरिएको समेत अर्थमन्त्रीले प्रष्ट्याएका छन् । 

आगामी वर्ष काठमाण्डौमा ३०० सैयाको सरुवा रोग अस्पताल तथा प्रदेशका राजधानीमा संक्रामक रोग विशेष अस्पताल लगायतका स्वास्थ्य पूर्वाधारका विकासका लाग १२ अर्ब ४६ करोड विनियोजन गरिएको छ । 

राष्ट्रिय प्रयोगशालाको स्तरोन्नति, सबै क्षेत्रमा प्रयोगशाला, फार्मेसी सेवा संचालन गर्न, विदेशबाट आउन व्यक्तिको अनिवार्य स्वास्थ्य जाँच, आवश्यक उपकरणसहित स्वास्थ्य डेस्क सीमा क्षेत्रमा राख्न समेत बजेट विनियोजन गरिएको बताए । 

सबै स्थानीय तिहामा ५ देखि १५ सैयाका आधारभूत अस्पताल, साबिकका जिल्ला तथा अञ्चल अस्पतालको स्तरोन्नतिका लागि रु. १४ अर्ब २७ करोड बजेट विनियोजन भएको छ । 

एक चिकित्सक, एक स्वास्थ्य संस्थाको व्यवस्था गर्ने, नसर्ने रोग जाँचसहितको व्यवस्था हरेक स्थानीय तहकसम्म गर्नका लागि ५ अर्ब १० करोड वित्तीय हस्तान्तरण गरिनेछ ।

विभिन्न नागरिकलाई घातक रोग, जेष्ठ नागरिक तथा बालबालिकाको मुटुको निःशुल्क उपचार गरिने र त्यसका लागि ४ अर्ब २२ करोड विनियोजन गरिएको छ । 

सरकारले केन्द्रीय अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क गरेको छ । 

नेफ्रोलोजी, यूरोलोजी तथा जटिल रोगको अध्ययन अध्यापनका लागि विशेष केन्द्र स्थापना गरिने समेत घोषणा भएको छ । 

सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला स्थापना, आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा, राष्ट्रिय रोग निदान  केन्द्र स्थापना, निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन, व्यायामशाला योग केन्द्र संचालन लगायतका घोषणा समेत भएका छन् । 

निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था समेत मिलाइएको बजेटमा उल्लेख छ । 

कान्ति बाल अस्पतालमा थप आईसीयू बनाइने र राजमार्गमा ट्रमा सेन्टर स्थापनाको समेत घोषणा भएको छ ।