काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टाचारलाई बेमौसमको बाजा भनेका छन् । 

स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको र विधिसम्मत ढंगले नै त्यस्ता सामान खरीद गर्ने प्रयास हुँदा प्रक्रिया नै सुरु गर्न नसकिने गरी निराधार आरोप र मिथ्या प्रचार गरिएको दाबी गर्दै भने-'यस्ता प्रचारबाजीले काम गरिरहेकाहरुलाई निरुत्साहित बनाउँछ । एकजुट भई लड्ने समयमा सरकारलाई असफल देखाउने प्रयास स्वरुप भइरहेको यस्तो प्रचारबाजी बेमौसमी बाजा मात्र हो ।' 

उनले सुशासनको मानकमाथि खरो उत्रिनुपर्छ भन्ने आफ्नो मान्यता रहँदै आएको दाबी गर्दै मिडिया र सामाजिक सञ्जालहरुमा हुने गरेका टिप्पणी र आलोचनाप्रति आफ्नो पर्याप्त ध्यान गएको समेत बताएका छन् । 'तर, यस्ता प्रयास र प्रचारबाजीले भ्रष्टाचार हुन नदिने सरकारको अडानलाई कमजोर पार्न सक्ने छैन ।' ओलीले भने-'कहीँ कतै अनियमितता र भ्रष्टाचारजन्य अवस्था देखिए निर्ममतापूर्वक कारबाही गर्न सरकार तत्पर हुनेछ ।' 

उनले सबै पार्टी, तह, तप्का र समुदायका व्यक्ति यस्तो बेलामा एकजुट भई कोरोनाविरुद्धको लडाईमा सामेल हुन समेत आह्वान गरे । 'मेरो आग्रह छ, मावन जातिलाई नै चुनौति दिइरहेको यो संकटसँग जुधरिहेको बेला हाम्रो लडाई यही काममा केन्द्रीत गरौं ।' उनले थपे-'संचारमाध्यमको हालसम्मको भूमिका सराहनीय छ, अझै जिम्मेवार भूमिका खेल्नुहोस् । संकटको यो घडीमा हामी कहाँ उभिएका थियौं, ध्यान केमा थियो, के गरेका थियौं भन्ने इतिहासले मूल्यांकन गर्नेछ ।'